आपत् विपत्का बेला समेत ठूलो जात, सानो जात भनी छुटाए

भक्तपुर, जेष्ठ २४,विभेद बिरुद अभियान  - हनुमन्ते खोलाले छुट्याउँछ भेलुखेल र आदर्श चोकलाई। भक्तपुर–११ स्थित भद्रकाली मन्दिरछेउमा पर्ने यो दलित बस्ती भेलुखेल भूकम्पबाट सर्वाधिक क्षति हुनेमध्येमा पर्छ। छेवैको आदर्शमा महर्जन (किसान) बस्छन्। हनुमन्ते खोलामा हिजोआज पानी होइन, ढल बग्छ। यही खोलाको ढलले राजधानी काठमाडौंदेखि १० किमि नजिकको नेवार बस्तीका ‘माथिल्लो जाति’ र ‘तल्लो जाति’ लाई आपसमा छुट्याएको छ।

भारत चण्ढीगढबाट आएको १४ जनाको टोली ‘शिवपार्वती सेवा दल’ महाभूकम्पलगत्तै राहतका लागि आयो। भेलुखेलका गरिब दलितहरूको नाजुक अवस्था बुझेपछि उक्त टोलीले दलित बस्तीका १ सय ३० घर द्यौलाहरूलाई केन्द्रित गर्दै सामूहिक भान्सा चलाउने निर्णय गर्‍यो। छेवैको महर्जन समुदायलाई समेत भान्सामा सहभागी हुन आग्रह गरे, भारतीयले।

भेलुखेलभन्दा बाहिरी क्षेत्रमा बस्ने किसान (महर्जन) समुदायले द्यौला बस्तीमा मेस राख्ने चण्डीगढ टोलीको निर्णयप्रति आपत्ति जनाए। दलितसँग एउटै भान्सामा नखाने भन्दै उनीहरूले आफ्नो टोलमा मेस राखिनुपर्ने माग राखे। भारतीयले भने, ‘हामीले यहाँका गरिब दलितहरूका लागि भनेर सहयोग ल्याएका हौं। त्यसैले यहीँ द्यौलाहरूकै बस्तीमा खाना पकाउने र यहीँ खान दिने योजना छ।’

महर्जन (किसान) हरूले तुरुन्त फर्काए, ‘हामी उनीहरूले छोएको खाँदैनौं। हाम्रा लागि छुट्टै मेस चाहिन्छ।’

भारतीय टोलीले आफूसँग आएका कुकले दुई मेस चलाउन नसक्ने बाध्यता सुनाएपछि किसान समुदायका प्रतिनिधिले भने, ‘त्यसो भए काँचै भए पनि चाहियो। चामल, दाल जे भए पनि हामीलाई आधा चाहिन्छ।’

त्यसपछि भारतीयहरूले आफ्ना लागि भनेर ल्याएको खानेकुरा कथित् माथिल्लो जातका लागि छुट्याएर दिन बाध्य भएको भेलुखेलका ७२ वर्षीय दिलबहादुर द्यौलाले सुनाए। सुरुमा भारतीयले त्यसो गर्न मिल्दैन, यही टोलमा खान आउनुभयो भने दिन्छौं भनेका थिए, तर स्थानीय उपल्लो जातका सदस्यहरूले मेस राख्नै नदिने भनेपछि राहतका लागि आएका उनीहरूले समेत सम्झौता गरेको दिलबहादुरले सुनाए।

‘भूकम्प जाँदा ठूलासाना, धनीगरिब, ठूलो जात दलित केही नभनी गयो,’ वृद्ध दिलबहादुरले चित्त दुखाए, ‘तर आपत् परेका बेलासमेत ठूलो जात, सानो जात भनी छुट्याउँदा मेरो मनै रोएको छ।’ दिलबहादुर त्यतिखेर भक्कानिए, जब छेवैको आदर्श आधार उच्च माविका पढालेखा अध्यापकले समेत द्यौलाले छोएको नखाने भनी आपत्ति जनाए। 

भक्तपुर–७ आदर्शका रत्नगोपाल त्वायनाका अनुसार भेलुखेलमा मेस राख्ने भनेपछि उनको किसान समुदाय त्यहाँ जान तयार भएन। ‘तल्लो जाति’ कोमा पहिल्यैदेखि नखाने चलन तोड्न परम्पराले नदिने भएकाले आफूहरू नगएको उनले बताए। ‘जातिपातिको पनि कुरा छ, त्यता अलि फोहोर पनि छ,’ उनले कान्तिपुरसँग अक्मकिँदै भने, ‘फेरि उनीहरूमा पनि ठूलो सानो गरी तीनवटा जात छ। हामीले पहिले तिमीहरू नै जाति मिलाऊ भनिदिएका छौं।’

आदर्श चोकका युवा पुस्ताका केही किसानले भने दलित बस्तीमा गएर खाए केही फरक नपर्ने भनी बूढापाकालाई सम्झाउन खोजेका थिए। तर अरू युवा र बूढापाकाले सिधै प्रतिवाद गरे। अरू त अरू, प्राकृतिक संकटका बेला ज्यान जोगाउनै मुस्किल परेका बेला जातिपातिको कुरा गर्दै पानीसमेत खान नदिएकामा भेलुखेलकी कान्छी द्यौलाले चित्त दुखाइन्। कान्छीले भनिन्, ‘नगरपालिकाले पनि हामीलाई भेदभाव गर्‍यो, पल्लो टोलका महर्जनलाई मात्रै पानी दियो, हामीलाई दिएन।’

भेदभावको क्रम यतिमा रोकिएन। यसिङखेलस्थित मन्दिरमा क्षमापूजा आयोजना हुँदै थियो। पुरोहितबाट भागवत् पुराण पढ्दै गर्दा दलितहरू सुन्न मन्दिरनेर आए। कान्छीले भनिन्, ‘पुरोहितले हाम्रो ठाउँमा नआऊ, तल्तिर बसेर भजनकीर्तन गर भने। भगवान्सँग क्षमा माग भनेपछि हामी मन्दिर गएनौं।’

भूकम्प प्राकृतिक चक्रभित्रकै प्रक्रिया भए पनि यसका सामाजिक असरहरू देखिइरहेका छन्। राजधानी काठमाडौंबाट १० किमि नजिकको यो नगरपालिकाभित्रै जातीय भेदको यो रूप देख्न पाइन्छ। स्थानीय श्याम द्यौला भन्छन्, ‘भारतमा भुइँचालो गएको होइन, तर उनीहरू आएर स्वदेश, विदेश नभनी सघाए, उनीहरूको मागेर खानुपर्ने हाम्रै दाजुभाइले छुवाछुत गर्दा नरमाइलो लागेको छ।’

भेदभावको अर्को शृंखला त्यस बेला थपियो, जति बेला भेलुखेलकी शिवलक्ष्मी द्यौलाले नगरपालिकामा फोन गरिन्, ‘सबैतिर पानी पुगिरहेको छ। किन हाम्रो टोलमा पानी दिएको?’ 

नगरपालिकाबाट कुनै रेस्पोन्स नभएपछि उनले ‘हेलो सरकार’ मा फोन गरिन्। नगरपालिकाका एक कर्मचारीले घरैमा फोन गरेर थर्काए, ‘किन हेलो सरकारमा फोन गरेको?’दिलबहादुर थप्छन्, ‘भगवान्ले यो द्यौला जाति हो, यो महर्जन हो भनी छुट्याउँदैनन्, आपत् परेका बेला यति त उनीहरू (किसान समुदाय) ले बुझ्नुपर्ने हो।’ 
स्रोत :- विपत्का बेला समेत भेदभाव// कान्तिपुर दैनिक 

No comments:

Post a Comment