संविधानमा पनि दलित मैत्री संविधान बनाउन भूमिका खेल्ने

जेठ १८ , विभेद बिरुद्ध अभियान  –भिजन नेपालको आयोजना, जिल्ला विकास समिति र सिद्धार्थनगर नगरपालिकाको सहयोग तथा सहकार्यमा दुई दिवसीय जातीय विभेद तथा हिंसा विरुद्ध सशक्तिकरण सचेतना कार्यक्रम सुरु भएको छ । भिजन नेपाल रुपन्देहीका अध्यक्ष युवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य आदित्यनारायण कसौधनले उद्घाटन गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कसौधनले एक व्यक्ति र एक संस्थाले मात्र आवाज उठाएर जातीय विभेद अन्त्य नहुने भन्दै विभेद अन्त्यका लागि सरकार, राजनैतिक दल, बुद्धिजिवी, समाजसेवी र सम्पूर्ण जातजाति तथा धर्मालम्बीहरु एक जुट हुन पर्नेमा जोड दिए । 
साथै उनले अन्तरक्रिया कार्यक्रम उठेका प्रश्नको जवाफ दिँदै यस्ता सचेतना कार्यक्रमले समाजमा व्याप्त छुवाछुत तथा विभेदको विरुद्धमा सकारात्मक भूमिका खेल्न सहयोग गर्ने कुरा औल्याए । उनले जातीय विभेद विरुद्ध आफू पहिले देखि कडा रुपमा प्रस्तुत भएको जनाउँदै आगामी दिनमा पनि कडा रुपमा प्रस्तुत हुने र संविधानमा पनि दलित मैत्री संविधान बनाउन भूमिका खेल्ने बताए । उक्त कार्यक्रममा विभिन्न शीर्षकका ३ वटा कार्यपत्र पेश गरिएको थियो । पहिलो कार्यपत्र छुवाछुत र सामाजिक विभेद मुक्त समाज निर्माणमा हाम्रो भूमिका नामक थियो जुन सुरेन्द्र श्री विश्वकर्माले प्रस्तुत गरेका थिए ।
 त्यस्तै दोस्रो कार्यपत्र दलित आन्दोलन र उपलब्धी जुद्ध वि.क.ले प्रस्तुत गरेका थिए भने जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानून विषयक कार्यपत्र अधिवक्ता शेषनारायण भण्डारीले प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल नगरपालिकाका पूर्व मेयर भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी, राजेन्द्र प्रसाद पन्थी, तेजप्रसाद विश्वकर्मा, प्रेम सेन्चुरी, उमा काफ्ले, कमला वि.क., हितराज पन्ती, जीवलाल अर्याल, नारायणी घिमिरे, नन्द बहादुर खड्काथोकी लगायत सायौंको संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रम भिजन नेपालका सचिव युवराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment