बंगलादेशमा नेपाली चेली कमलाकुमारी विकको रहस्यमय मृत्यु

कुबेत, ३१ जेष्ठ , विभेद विरुद्ध अभियान । बंगलादेशको ढाका निवासी मिलन डी प्युरिफिकेशनसँग गत पुसमा विवाह गरेकी सर्लाही लालबन्दीकी कमलाकुमारी विकको रहस्यमय मृत्यु भएको छ । दाजु भुवनसँग गत बुधबार बंगलादेशबाट नेपाल आउन चाहेको बताएकी बिकको शुक्रबार साँझ मृत्युको खबर आएको हो कमलालाई बंगलादेशमा सासू ससुरासँग राखेर उनका पति मिलन बैदेशिक रोजगारीका लागि कुवेत गएका थिए । मिलनले फेसबुक एसएमएस मार्फत कमलाले आत्महत्या गरेको जानकारी गरेको कमलाका दाजु भुवनले बताए । भुवनका अनुसार आफुसँग कुरा हुँदा आफु नेपाल आउन चाहेको भए पनि मिलनले पासपोर्ट लुकाइदिएर चैत्रमा (अप्रिल २४ मा) कुवेत गएकाले आउन नसकेको कमलाले बताएकी थिइन् । उनले फोनमा सासू ससुरा र देवरले मानसिक तनाब दिने गरेको बताएकी थिइन् ।
‘जसरी भए पनि एक हप्ताभित्र नेपाल ल्याउँछु चिन्ता नगर भनेको थिएँ, कुरा गरेको दुई दिन नबित्दै शुक्रबार राति साढे ११ बजे बहिनीको मृत्युको खबर सुन्नुपर्‍यो’-भुवनले भने । ‘मेरी बहिनी आत्महत्या गर्ने खालकी होइनन्, उनी हक्की र आँटी स्वभावकी थिइन्, त्यसैले यो आत्महत्या होइन, उनकै श्रीमानका परिवारको मिलेमतोमा हत्या भएको हो, भुवनले भने-‘न्यायका लागि म सबैसँग आग्रह गर्छु ।’ भुवनका अनुसार सुरुमा मिलनले तिमीे बहिनी दुर्घटनामा परेकी छ भन्दै अस्पताल भर्ना भएको बताएका थिए । त्यसपछि आत्महत्या गरेको बताएका थिए ।
‘घटनाका विषयमा बंगलादेशस्थित बहिनीको घर रहेको ढाका कालीगञ्ज नगरी रोडमा रहेका परिवारका अन्य कसैले पनि कुरा गर्न चाहिरहेका छैनन्’ भुवन भन्छन्- ‘हामीले दाहसंस्कार नगर्नुस्, हामी आउँछौं भन्दाभन्दै जवरजस्ती दाहसंस्कार गरिएको छ ।’ मिलनका आफन्तले धम्कीपूर्ण भाषामा के गर्नसक्छस गर भनेकाले घटनामाथि झन शंका बढेको दाई भुवनले बताए । आफुहरुलाई बहिनीको शवको फोटो देखाउन भन्दा पनि नदेखाएको उनले बताए । ‘घटना भएको १० दिन बितिसकेको छ, तर मृत्युको खबर सुनेका भुवनका परिवारले अन्य केही सूचना पाएका छैनन् । घटनाको भोलिपल्टै शनिबार कुवेतबाट बंगलादेश फर्किएका मिलनले बिक परिवारको फोन उठाएका छैनन् ।
बहिनीको मृत्युको कारण बुझ्न तथा न्याय खोज्न दाइ भुवन र दिदी रमिला कालीकोटे आठ दिनदेखि काठमाण्डौंमा भौंतारिइरहेका छन् । भुवनले भने-अझैसम्म तथ्य बुझ्न सकेका छैनौं, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगमा परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बंगलादेश दुतावासमा निवेदन दिएका छौं ।’ परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदीले भने बंगलादेशमा रहेको नेपाली दुतावास मार्फत बुझ्दा कमलाको मृत्युबारे अनुसन्धान भइरहेको र चाँडै तथ्य आउने जानकारी गराएको भुवनले बताए । कमला कसरी पुगिन् बंगलादेश ? परिवारमा सात बहिनी र दुई दाजुभाइ रहेका कमलाका आमाबुबाको मृत्यु १५ वर्षअघि नै भइसकेको थियो ।
आर्थिक रुपमा कमजोर कालीकोटे परिवारकी तीक्ष्ण दिमागकी कमला आफै केही गर्नुपर्छ भन्ने स्वभावकी थिइन् । उनको त्यही भावनाका कारण उनी ०६७ सालमा बैदेशिक रोजगारीका लागि कुवेत पुगिन् । पाँच वर्षमा उनी दुईपटक नेपाल आएकी थिइन् । उनले भाइबहिनीको शिक्षा दीक्षादेखि घर सञ्चालनसम्म भरथेग गरिन् । दाइ भुवनसमेत कुवेतमै थिए । दाजु बहिनीको कमाइले उनीहरुले लालबन्दीमा घरसमेत बनाए ।
कुबेतमा रहँदा बंगलादेशी नागरिक मिलनसँग कमलाको भेट भयो । करिव दुई वर्षपछि उनीहरुको सम्बन्ध वैवाहिक जीवनमा परिवर्तन भयो । गत पुस १० गते नेपाल फर्किनुपर्ने कमलालाई मिलनले बंगलादेश लगेर ईसाई परम्पराअनुसार चर्चमा लगेर विवाह गरे । त्यसपछि कमलालाई बंगलादेशमै छाडेर मिलन चैत्रमा पुनः कुवेत फर्किएका थिए ।

No comments:

Post a Comment