वादी समुदायको पीडा : घर छ, लालपूर्जा छैन

बी.बी. गिरी, जाजरकोेट- २ असार,विभेद बिरुद्ध अभियान । खगेनकोट १ दल्लीका प्रेम वादीले माछा मारेर भए पनि १२ बर्षमा एउटा घर बनाए । घर बनाउदा उनलाई जति खुशी थियो त्यो खुशी अहिले चिन्तामा बदलिएको छ ।
किनकी आफूले बनाएको घर आफ्नो नाममा छैन । घर नाममा दर्ता नहुदा उनलाई १२ बर्षको लगानी डुब्छ की भन्ने चिन्ता छ ।
‘यो घर बनाउन मैले लाखौं माछाको ज्यान लिएको छु । मेरा हजारौं थोपा पसिना बगेका छन्,’ प्रेमले दुखेसो पोख्दै भने, ‘अहिले यो घर-जग्गा मरो नाममा छैन, आजभोली घर बनाएर पिर पो लाग्न थालेको छ ।’
प्रेम जस्तै बुद्धिमान वादीले ९ बर्षसम्म माछा मारेको कमाइबाट २ कोठाको एकतले घर बनाए । अब उनलाई अर्को तलो थप्ने रहर मर्न थालेको छ । ‘तला थप्ने रहर पनि हरायो, जग्गा नै नाममा छैन घर बनाएर बसियो तर नाममा कसरी गर्ने चिन्ता छ ।’
आफूले घर बनाएको जग्गा आफ्नो नाममा भए अरु ९ बर्ष लगाएर भए पनि तला थप्ने योजना बुद्धिमानले सुनाए ।
खगेनकोट १ दल्लीमा नलसिंह गाडको तिरमा २ दर्जन वादी परिवार बस्छन् । उनीहरु सबैले घर टहरा बनाएका छन् । तर, कसैको लालपूर्जा छैन । अहिले उनीहरुलाई बसोबास गरेको जग्गा जमिन कसरी नाममा लिने पिरलो भएको छ । उनीहरुले वर्षौंदेखि भोगचलन गरेको घर जग्गा आफ्नो नाममा हुनुपर्ने माग गर्दै आएका छन् ।
नलसिंह गाड जलविद्युत आयोजनाले जग्गा अधिग्रहण गर्न थालेपछि वादी समुदायमा चिन्ता थपिएको छ । आयोजनाले मुआब्जाका लागि जग्गा धनिको नाम सार्बजनिक गर्न थालेपछि वादी समुदाय छटपटाएका छन् । उनीहरुको नाममा एक टुक्रा जमिन पनि छैन । घर टहरा बनाएकाले क्षतिपूर्ति पाउन लालपूर्जा हुनैपर्ने नियम छ ।
‘जग्गा र घर टहरा नाममा छैनन्,’ कसरी मुआब्जा पाउने निलो वादीले भने । समयमा कुने प्रक्रियाबाट घर जग्गा नाममा गर्न नसके वादी समुदायले खालीहात थातथलो छोड्नु पर्ने अबस्था देखिएको छ ।
साभार:- onlinekhabar

No comments:

Post a Comment