सहकारीले फेरियोे कञ्चनपुरका दलित समुदायको जीवन

कञ्चनपुर, २०७२ जेठ २३ , विभेद बिरुद अभियान  पाँच रुपैयाबाट बचत सुरु गरेकी कञ्चनपुरको दोधारा–चादँनी नगरपालिकाकी दुर्गा नेपालीको परिवारले अहिले भैँसी, बाख्रापालनबाट यथेष्ट आम्दानी गर्न थालेको छ ।
गाउँमा महिलाले स्थापना गरेको शुक्लाफाँटा बचत तथा ऋण सहकारीमा आबद्ध भएपछि उनको परिवारले रु २० हजार ऋण लिएर भैँसी पालन सुरु गरेको छ । दुर्गाले मात्र नभइ महाकाली पारीको दोधारा चादँनी नगरपालिकाका १२२ दलित परिवार विभिन्न समूहमार्फत सहरकारीमा आबद्ध भइ आत्मनिर्भर बनेका छन् ।
सुरुमा भैँसीपालन र खुद्रा पसल चलाउँदै आएका यहाँका अधिकांश महिलाले अहिले व्यवसायको दायरा फराकिलो पार्दै लगिरहेका छन् । “दूध बिक्री गरेर किस्ता तिरे, भैँसी बेच्दा रु ७० हजार नाफा भयो” नेपालीले भन्नुभयो ।
सम्पत्तिका नाममा एक कट्ठा जग्गा मात्रै भएको बताउनुहुने माया नेपालीले अहिले सहकारीकै सहयोगमा एक बिघा तीन कट्ठा खेत भाडामा लिइ तरकारीखेती गरिरहेको बताउनुभयो । “आर्थिक अवस्था सबल हुँदै गएको छ” उहाँले भन्नुभयो ।
शुक्लाफाँटा बचत तथा ऋण सहकारी समूहमा १७४ जना सेयर सदस्य रहेका छन् । एक सय ४५ जना महिला आबद्ध छन् । जसमध्ये १२२ जना दलित महिला मात्र रहेका छन् । सहकारीले मासिक रु चार लाख ६७ हजार बचत गरिरहेको उक्त समूहका अध्यक्ष मानबहादुर ओलीले बताउनुभयो ।
सहकारीलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) मार्फत रु २६ लाख ७३ हजार ५५० अनुदान प्राप्त भएको छ ।
सुरुमा बिना ब्याज रकम उपलब्ध गराएको उक्त सहकारीले अहिले आएर १२ प्रतिशत ब्याज लिइरहेको छ । सहकारीले अहिले रु ५० हजारसम्म ऋण दिन थालेको छ ।
सहकारीमा आबद्ध विभिन्न नौ वटा समूहका ५५ जना महिलाले भैँसीपालन थालेका छन् । सहकारीको बचत र लगानीले विशेष गरेर दलित समुदायलाई फाइदा पुगेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, गरिबी निवारण कार्यक्रमका संयोजक टेक बुढाले बताउनुभयो । “दलित समुदायको पाँच वटा समूहलाई डेरी प्रशोधन केन्द्र सञ्चालन गर्न सहयोग गरेका छौँ” उहाँले भन्नुभयो ।

No comments:

Post a Comment