बेसीशहरमा भूकम्पको गीत सुनाउँदै अमृत र राममाया गन्धर्वको जोडी

किसान संगीत नेपाली, लमजुङ,१९ जेठ ०७२  विभेद बिरुद्ध अभियान  -तनहुँचोक चिसापानी गाविस दूधेकुनाका अमृतबहादुर र राममाया गन्धर्वको जोडी हिजोआज लमजुङका विभिन्न बस्तीमा सारङ्गीको मधुरो धुनसँगै आफ्नो सुरिलो गला मिलाउँदै भूकम्पका गीत सुनाउँदै हिँड्न थालेका छन्। सारङ्गीको तारमाथि कर्खा रेट्दै र औंला चल्माउँदै गर्दा निस्किएको कर्णप्रिय धुनमा यसरी स्वर मिलाउँछन् उनी ‘आमा तिम्ले के खायौ दुनामा, हामी छौं है, बारीको कुनामा। यस्तो होला कसैलाई था, थिएन, भगवानले घरमा बास दिएन...।’ 
भूकम्पले निम्त्याएको कारुणिक परिस्थितिलाई उनीहरुले शब्द, लय र भाका मिलाएर गीतमा ढालेका हुन्। अमृतबहादुरले एक टुक्का गीत गाउँदै गर्दा उनकी पत्नी राममाया भाका मिलाउँदै छोप्छिन्, ‘भगवानले पार्दिए एकै गास, हेर्दाहेर्दै भैगयो सत्यनाश। यस्तो होला कसैलाई था, थिएन...।’ 
अरु बेलामा रमाइला, मायाप्रीति र मिलनबिछोडका गीत सुनाउँदै हिड्ने यो जोडीले अहिले भूकम्पले निम्त्याएको विकराल परिस्थिति, भूकम्पले पारेको प्रभाव, पीडितहरुले भोग्दै गरेका विभिन्न समस्या र सुरक्षाका उपायहरु समेटिएका गीत सुनाउने गरेका छन्। रेडियोबाट समाचार सुनेर र पत्रपत्रिकामा पढेर भूकम्पको गीत तयार गरेको अमृत बताउँछन्। 
‘भूकम्पले धेरै बस्तीमा ठूलो पीडा दिएको छ, सबैको मनमा भूकम्पकै डर छ,’ अमृतले भने, ‘सधैं डर बोकेर मात्रै पनि त हुँदैन, त्यसैले गीतसंगीतबाट सन्देश दिँदा राम्रो हुन्छ जस्तो लागेर भूकम्पकै गीत गाएका हौं।’ एकै घर परिवारका थुप्रै मान्छेको मृत्यु भएको, घरबास बगाएको, घाइते अपांगता भएर पनि बाँच्नु परेको कुराहरुलाई गाउँघरमा सुनाउँदा सर्वसाधारणले पनि चित्त बुझाउने उपाय पाउने पनि उनी बताउँछन्। उनकी पत्नी राममाया सुनाउँछिन्, ‘हाम्रो गीत सुनेर कतिपयले आँसु झार्दै विचरा! यस्तो विपत्ति कसैलाई पनि नपरोस् भन्दै पुकारा गर्छन्।’
सदरमुकाम बेसीशहर, सुन्दरबजार, भोटेओडार, खत्रीठाँटी, पाउँदी, खुदी, भुलभुले लगायतका बजार र विभिन्न गाउँबस्तीमा भूकम्प–गीत सुनाउँदा उनीहरुले धेरैको मन जितेका छन्। गाउँघरमा पुग्दा आफ्नै दुःख र पीडालाई गाएझैं लागेको बताउनेहरु थुप्रै भेटेको गन्धर्व दम्पतीले बताए। वैशाख १२ को भूकम्पलगतै काठमाडौंबाट छोराछोरी र सरसामान लिएर बेसीशहर आएकी रश्मी बिकले अमृत र राममायाले गाएको गीतले मन छोएको बताइन्। ‘काठमाडौंमा त्यस्तो डरलाग्दो विपत्ति भोगियो, बल्ल–बल्ल जोगिएर आयौं,’ उनी बताउँछिन्, ‘अहिले यस्तो गीत सुन्दा त आफैंले भोगेको डरलाग्दो अवस्थाको झल्को आयो।’
भूकम्पले अमृत दम्पतीको पनि घर भत्किएको छ। त्यसैले गाउँबस्तीमा गीत सुनाउँदै आफ्नो लागि सहयोग पनि जुटाइरहेका छन्। उनको पुर्ख्यौली घरमा धेरै क्षति पुगेको अमृतले बताए। कूल १६ घर भएको दुधेकुना गाउँमा एक अमेरिकी संस्थाको सहयोगमा घरहरु बनेकामा ती घरहरु पनि गारोहरु चिरिएकाले मर्मत गर्नुपर्ने अवस्थामा भएको अमृतले बताए। घर मर्मतका लागि ठूलै रकम नलाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएकाले सहयोग जुटाउँदै हिँड्नु परेको उनी बताउँछन्।
मकै, कोदो, धान बाली पाकेपछि र चाडपर्वको समयमा गीत गाउन गाउँघरमा डुल्ने गन्धर्वहरु अहिले भूकम्पको गीत सुनाउँदै घरमर्मत गर्न सहयोग जुटाउँदै छन्। दुधेकुनाकै कृष्णबहादुर र बलराम गन्धर्व लगायत पनि गाउँबस्ती डुलिरहेको अमृतले बताए। 

स्रोत :-नागरिक दैनिक 

No comments:

Post a Comment