२६ वर्षदेखि मन्दिरमा बिनातलब दमाहा बजाउँदै छन् कृष्ण दमार्इं

 
दैलेख, जेठ २१विभेद बिरुद्ध अभियान  – अन्ठाउन्न वर्षीय झुपा विक नाविस्थान मन्दिर क्षेत्रमा ३३ वर्षदेखि काम गर्छन् । मन्दिर क्षेत्र सरसफाइको जिम्मा पाएका विकले काम थालेदेखि नै तलब पाएका छैनन् ।
गमौडी–८ घर भएका विक दैनिकजसो मन्दिर क्षेत्र सरसफाइ गर्छन् । मन्दिरमा सङ्कलन भएको पैसाबाट तलब दिइने भनेर काम गर्न लगाइए पनि उनले अहिलेसम्म पाउन सकेका छैनन् । “काम गरेबापत तलब पाउँछु भन्ने अब आसै मरिसक्यो”, विकले भने, “तलब नपाए पनि मन्दिरकै सेवा गरिरहेकामा चित्त बुझाउने बाटो भएको छ ।” सङ्कलन भएको पैसा मन्दिरमै ठीक्क हुने भएकाले आफू तलबविहीन हुनुपरेको उनले बताए । घरपरिवारले पनि अब तलब ल्याउँछ भन्ने आसै मारिसकेको बताउँदै विकले भने, “मन्दिरबाट कहिल्यै तलब खान पाइएन ।”
त्यस्तै २६ वर्षदेखि दमाहा बजाउँदै आएका गमौडी–८ का कृष्ण दमार्इंले पनि बिनातलब काम गर्दै आएका छन् । उनले मन्दिरमा काम गर्न थालेदेखि अहिलेसम्म पैसा नपाएको गुनासो गर्नुभयो । “कहिलेकाहीँ मन्दिरमा चढाएको बोकाको टाउका लिए पनि अन्य कुनै सहयोग पाइएको छैन” उनले भने, “मन्दिरबाट हामीलाई तलब दिइएको भए पनि परिवार चलाउन सजिलो हुने थियो । ” आफूहरुलाई न्यूनतम तलब दिने गरी मन्दिरमा काम गर्न लगाइएको उनीहरुले गुनासो गरे ।
मन्दिरमा जम्मा भएको रकम महन्त, पुजारी तथा अन्य दुई जनालाई मुस्किलले पु¥याइने भएकाले उनीहरुलाई दिनै गाह्रो हुने नाविस्थान ज्वाला क्षेत्र विकास समितिका कोषाध्यक्ष लालबहादुर थापाले बताए । गाविस, जिविस तथा अन्य सरकारी निकायले सहयोग नगरेका कारण काम गर्नेहरुलाई तलब दिन नसकिएको आरोप थापाले लगाए । पर्यटनको आगमन बढ्ने क्रममा भए पनि सरकारी निकायबाट सहयोग नहुँदा मन्दिर क्षेत्रलाई व्यवस्थित पार्न नसकिएको गुनासो उनको छ । अहिले मन्दिरमा सङ्कलित रकमले चार जनालाई तलब दिइने गरिएको छ ।
महन्तले रु एक हजार ५००, पुजारीले रु एक हजार, काटारीले रु एक हजार तथा गोठालाले रु ५०० मासिक पाउने गरेको जनाइएको छ । जिल्लाभित्र तथा बाहिरबाट पर्यटक आउने गरे पनि निःशुल्क प्रवेशले गर्दा आम्दानी हुन नसकेको कोषाध्यक्ष थापाले स्वीकार गरे । धार्मिक पर्यटकबाट शुल्क लिने गरेमा कर्मचारी तलबविहीन हुनुनपर्ने महन्त इन्द्रनाथ योगीले बताए ।स्रोत:- रातो पाटी

No comments:

Post a Comment