सधै घृणित व्यावहार भोग्न बाध्य छन् रंगेलीका ‘डुम समुदाय’

विराटनगर, २१ जेठ -विभेद बिरुद्ध अभियान : बजारका होटलमा केही खानु पर्यो भने साथमा पैसा बोकेर गए हुन्छ । पैसा भए बजार आवश्यक सामाग्री किनेर खाने पाइन्छ । तर, विराटनगरदेखी २२ किलोमिटर पूर्व रंगेलीमा एउटा समुदाय छ । जुन समुदायले पैसा तिरेर पनि होटलमा केही खाना पाउदैनन् । होटेलमा खाना खानका लागि आफैले भाडाकुडा लिएर जानुपर्छ र छुट्टै बसेर खानुपर्छ ।
मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–५ स्कुल टोलमा रहेको डोम समुदायलाई त्यहाँका होटलहरुले पैसा तिर्दा समेत खान दिदैनन् । स्कूल टोल सुरेश मल्लिक दूर सञ्चार कार्यालयका मजदुर हुन् । जागिरे उनले न अफिसमा मानवीय व्यवहार पाएका छन् न त समाजमा नै । मानिस भएरपनि उनले समाजमा कहिलै मान्छेको व्यवाहार पाएका छैनन् । सधै घृणित व्यावहार भोग्न बाध्य छन् ।
सरसफाई मजदुर उनलाई समाजले सधै तल्लो जातको भनेर घृणा गर्छ । ‘हामी मान्छे नै हौ तर पनि हामीलाई मानवीय व्यवहार छैन्, भावुक हुदै उनले भने ‘हामी जनावार त होइनौ, किन यस्तो व्यवहार गर्छन् ।’
‘डुम समुदाय’ भन्दै समाजले उनलाई मात्र होइन् स्कुल टोलमा बस्ने १० घरपरिवारलाई नकारात्मक व्यवहार गर्दै आएको छ । रंगेलीमा सञ्चालित होटलहरुले उनीहरुलाई पैसा तिर्दा समेत खान दिदैनन् । उनले भने, ‘अफिसमा हाकिम देखी होटल सञ्चालक सम्मले परै बस भन्छन् ।’
समाजमा बसेर मानवीय व्यवहार नपाएको स्थानीय बिलरुवा मल्लिकले गुनासो गरे । उनले भने ‘ होटलमा चिया समेत खान दिदैनन् । खानु पर्यो भने आफ्नै घरबाट गिलास लिएर जानु पर्छ ।’रंगेलीका होटलहरुले ग्राहक भड्किन्छ भन्दै चिया समेत खान नदिने उनीहरुले गुनासो गरेका छन् । ‘देश छुवाछुत मुक्त भयो अरे ।’, रंगेली अस्पतालबाट अवकास पाएका मल्लिकले भने, ‘ खै हामी अझै हेपिई नै रहेका छौ ।’ बर्षौ देखी आफूहरुले समाजको नकारात्मक व्यवहार झेल्दै आएको उनले गुनासो गरे । उनले थपे ‘ विराटनगर जाँदा भेदभाव हुदैन् । तर, रंगेलीमा भने चिया खानपनि आफ्नै गिलास लिएर जानु पर्छ ।’
आफूहरुले भोग्दै आएको समस्याप्रति प्रहरी मौन रहेको उनले गुनासो गरे । केही समयअघि छुवाछुत हटाउन प्रहरीलाई उजुर गरेपनि कुनै पहल नभएको उनले बताए । ‘होटलमा चिया माग्यो भने खै गिलास भन्छन्’, उनले भने, ‘ तपाइकै गिलासमा दिनु न भन्दा चिनी छैन् भन्दै फर्काउछन् ।’बाहिरबाट पाहुना आए बजार लैजान गाह्रो हुने स्थानीय जीवन मरिक बताउँछिन् । उनी भन्छिन्, ‘हामी त जसो तसो सहेर बसेका छौ तर, पाउना आए । चिया खुवाउनका लागि बाहिर लैजानपनि लाज लाग्छ ।’सरकारले ९ वर्ष अघि २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । मुलक छुवाछुत मुक्त राष्ट्र भएपनि रंगेलीका डोम समुदायले कहिलै सुखको सास फेर्न पाएका छैनन् ।
नेपालको अन्तरिम संविधान २०६३ ले छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हकलाई मौलिक हकको रुपमा गरेको ब्यावस्था गरेको छ । २०६८ जेठ १० गते ब्यवस्थापिका संसदबाट पारित ऐनमा छुवाछुत गर्नेलाई एक महिना देखी तिन वर्षसम्म कैद र २५ हजार रूपैयासम्म जरिवाना गराउने उल्लेख छ ।जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन बनेपनि रंगेलीका डोम समुदायले भने अझै मानवीय व्यवहार पाउन सकेका छैनन् । जातीय भेदवाभ र छुवाछुतले जरो गाडेको समाजमा उनीहरू सधै हेपिन बाध्य छन् । स्रोत:- ओएनएस

No comments:

Post a Comment