दलित एउटा अवस्था हो, स्थायी पहिचान होइन-आहुति

समीक्षा समाज हङकङको आयोजनामा ५ जुन २०१५ मा हङकङमा  ‘आहुति–संवाद’ नामक कार्यक्रम सम्पन्न भएका थियो । कार्यक्रममा विश्वभक्त दुलाल ‘आहुति’लाई बिभिन्न प्रश्नहरु सोधिएको थियो । कार्यक्रममा प्रस्तुत यो ‘प्रश्न-उत्तर’ हङकङबाट प्रकाशित ‘एभरेष्ट सप्ताहिक’ले तयार पारेको हो
अहिलेको समकालीन बौद्धिक नेपाली समाजको अग्रपंक्तिमै उभिनका निम्ति तपाईंको संघर्षको कथा कस्तो छ ? हङकङ भ्रमणलाई कसरी मूल्यांकन गर्नु भयो ? (रविन राई)
– नेपाली समाजको आजको चिन्तनशील जमातमा मआफैं कहाँनेर छु, त्यो त मलाई थाहा छैन । त्यो मेरो खास सरोकारको विषय पनि होइन; यो सरोकारवालाहरुले मूल्यांकन गर्ने विषय होला । जहाँसम्म संघर्षको पाटोको प्रश्न छ, त्यसबारे मलाई कस्तो लाग्छ भने म जस्तो समाजमा जुन कालखण्डमा जन्में, हुर्कें, त्यो म र म जस्ता मानिसको निम्ति प्रगतिपथमा निकै नै अझ भनौं अकल्पनीय हदसम्म प्रतिकूल थियो । नेपाली समाजको प्रचलित संरचनाले अभ्यास गरेका ९५ प्रतिशत भन्दा बढी नियम, काइदा र तरिका मेरो उन्नतिका बाधक थिए ।

त्यसैले प्रचलित नियमभित्र बसेर जीवन जिउँदा या त म अर्धदास हुन्थें या त सहजवृत्तिमै काल पर्खने कथित स्वतन्त्र सामाजिक प्राणी । त्यसैले मैले गर्दै आएको के हो भने नियमहरुलाई उल्लघंन, पुरानो प्रचलित तरिकाको त्याग अनि आफ्नै तरिकाले प्रतिस्पर्धा गर्ने अभ्यास— समग्रमा– शालीन तर कठोर निरन्तरको विद्रोह । त्यसैले मलाई के लाग्छ भने उत्पीडित वर्ग र समुदायबाट आउने व्यक्तिले प्रचलित नियम, कानुन र तरिकामा हिंडेर प्रगति गर्न सम्भव नै छैन, बढीमा ऊ पुरानै व्यवस्थाको गतिलो नोकर मात्र बन्न सक्छ । बरु उसले त आफ्नो उत्पीडित वर्ग र समुदायले प्रगति गर्ने नयाँ बाटोहरु र जुक्तिहरुको खोजी र स्थापना गर्नु पर्दछ ।
हङकङको यो मेरो भ्रमण पहिलो र छोटो समयको हो । तैपनि मैले धेरै अनुभव र ज्ञान आर्जन गरें । दिनमा १२ घण्टाभन्दा बढी हङकङले नेपालीहरुको श्रमशक्तिको लुट मच्चाउँदो रहेछ । १२–१५ घण्टामा निख्रिएको शरीर र थाकेको मन लिएर नेपालीहरु हाँस्ने, रमाउने र हजारौं वर्षको नेपालीपन जुन आत्मीयता–सुधोपन–कर्मशील र मनोरञ्जक हो, त्यसलाई निरन्तरता दिन आफूलाई ऊर्जाशील बनाउन कोशिस गर्दा रहेछन् । साँच्चै मलाई हङकङका नेपालीप्रति सहानुभूति र सम्मान अझै बढ्यो । साथै पुँजीवादका विरूद्द समाजवाद स्थापनाको लडाईं कति जरूरी रहेछ भन्ने कुरा झनै गहिरो गरी अनुभूति भयो । हङकङका घरहरु जसरी मात्तिएर अग्लिएका छन्, तर मानवीय सारतत्व चाहिँ त्यति नै आत्तिएर तल तल भासिएको पाएँ ।
दलितमाथिको उत्पीडन र भेदभावको जडतत्व उनीहरूलाई ‘दलित’ भनेर सम्बोधन गर्दा अझै हुन्छ कि भन्ने मेरो बुझाई रहेको छ । दलितलाई दलित नभनेर ’शिल्पी’ भन्दा कसो होला ? (विसु सम, हङकङ )
कतिपयलाई लाग्ने गरेजस्तो दलितलाई दलित भनेर उत्पीडन भएको हुन्थ्यो भने त नेपालमा वि.सं. २०२४ सालभन्दा अघि उत्पीडन नहुनु पर्ने किनभने त्योभन्दा अघि दलित भनिदैंनथ्यो । त्यसैले कुरा के हो भने— एक, दलित शब्द सामन्तवादले हेपेर अपमानित गरेर दिएको नाम होइन, यो त भारतीय दलित आन्दोलनले आफ्नो बलदानीपूर्ण आन्दोलनबाट आफैंले निर्माण गरेको गौरवमय परिचय हो । त्यो नेपालमा वि.सं. २०२४ पछि प्रयोग गरिएको हो । त्योभन्दा पहिले दलितलाई ‘अछुत’, पउनी, ‘छुन नहुने जात’, ‘कुजात’ आदि भनिन्थ्यो । जसरी जनजातिले आफूलाई जनजातिको रुपमा परिचय निर्माण गर्नुभन्दा पहिले उनीहरुलाई ‘लिंडा’, ‘भोटे’, ‘किरा’, ‘चितुवा’, ‘न्यार’ आदि आदि भनिन्थ्यो ।
दुई; नेपालमा दलित शब्द राखेर संगठन दर्ता गर्न खोज्दा पञ्चायतले अस्वीकार गरेको थियो र त्यसैगरी २०४८ सालसम्म नेपालका कुनै पनि पार्टीले दलित शब्दलाई स्वीकार गरेका थिएनन् । तर, दलित आन्दोलन भने यही परिचयमा अगाडि बढिरह्यो र अन्ततः आज पार्टीहरु र अन्तरिम संविधानमा समेत दलितलाई एउटा राजनीतिक रुपमा राज्यले सम्बोधन गर्नैपर्ने सामाजिक समूहका रुपमा स्वीकार गर्न बाध्य भएको छ । दलित शब्दले खस–आर्य, मधेशी र नेवार जातिभित्रका फरक फरक संस्कृति भएका विभिन्न नाम गरेका जातका समुदायलाई साझा परिचय दिन्छ, साझा संघर्षको निम्ति मञ्च दिन्छ जसरी जनजाति शब्दले जनजातिभित्रका सबै जातिलाई साझा नाम र लड्ने मोर्चा दिएको छ । यदि दलित शब्द छोड्ने हो भने प्रत्येक जातको नाम राखेर संगठन बनाउनुपर्ने हुन्छ र आन्दोलन स्वतः कमजोर हुन पुग्दछ । जुन कुरा शासकहरु चाहन्थे र अझै चाहनेहरु बाँकी छन् ।
तीन, बुझ्नैपर्ने अर्को कुरा के छ भने ‘दलित’ र ‘अछुत’ भनेको पर्यायवाची हुँदै होइन । अछुत त्यो मानिस हो जसले छुवाछुत र उत्पीडनलाई स्वीकार गर्दछ तर जबदेखि त्यसको विरुद्धमा उभिन्छ, त्यसपछि ऊ ‘दलित’ हो । त्यसैले दलित भनेको विद्रोही पर्यावरण हो, योसँग हीनताबोध होइन गौरवको अवधारणा छ । दलित एउटा अवस्था हो, स्थायी पहिचान होइन । जब दलितमाथिका सबै उत्पीडनको अन्त्य हुन्छ, त्यसपछि दलित एउटा इतिहासको स्मरणको विषय बन्नेछ । जसरी हिजोका कमाराकमारीका सन्तान आज नेपालमा सम्मानित जीवन बाँच्दछन् । त्यो बेला कमारा प्रथा थियो भनेर आज उनीहरुलाई फरक परेको छैन, पर्ने पनि होइन ।
जनजाति पनि एउटा अवस्था हो, त्यो सधैं रहदैंन । दलित भनेरै उत्पीडन भएको हुन्थ्यो भने नेपालको कुनै सार्की चीन गएर आफू दलित हुँ भन्दा किन चिनियाँ समाजले अपमान गर्दैन ? किनभने चिनियाँ समाजमा जातप्रथा नै छैन । मुख्य कुरा वर्ण व्यवस्थाद्वारा निर्धारित राजनीति, अर्थतन्त्र र संस्कृतिका कारणले उत्पीडन भएको हो, त्यसैले त्यसैलाई भत्काएर समतामूलक बनाउनुतिर लाग्नु मुख्य जिम्मेवारी हो, नामका पछाडि दौडिनु सही होइन ।
चार, अब आयो दलितको सट्टा ‘शिल्पी’ भने के होला भन्ने प्रश्न । यसबारेमा के छ भने भारतमा महात्मा गान्धीले दलितको सट्टा ‘हरिजन’ अर्थात् ईश्वरका सन्तान भन्ने शब्द चलाउन खोजे तर दलितहरुले आफ्नो बलिदानद्वारा निर्मित शब्द छोड्न तयार भएनन् । नेपालमा पनि २०२४ भन्दा अघि ‘परिगणित’ ‘हरिजन’ ‘पिछडावर्ग’ आदि शब्द प्रयोग गरियो, पछि एउटा पार्टीले ‘उत्पीडित’ शब्द पनि प्रयोग ग¥यो । तर ती सबैले दलित अस्तित्वलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सकेनन् र हराए । अब ‘शिल्पी’ पनि त्यस्तै एउटा पार्टीले प्रयोग गर्न खोजेको बुझिन्छ तथापि त्यस पार्टीले पनि आफ्नो भ्रातृ संगठनको नाममा ‘दलित’ शब्द नै प्रयोग गरेको छ ।
कुनै समुदायलाई चिनाउन र एकताबद्ध गर्न अर्को समुदायसँग आधारभूत रुपमा नजुध्ने शब्द चयन गर्नु जरुरी हुन्छ, अनि त्यस परिचयमा त्यो समुदायको गौरव लुकेको भए झनै वेश हुन्छ । शिल्पीको अर्थ शिल्पकारिता गर्ने भन्ने हुन्छ । तर दलित समुदायभित्र शिल्पकारिता नगर्ने दुसाध, मुसहर, डोम, हलखोर, च्यामे, पोडे, आदि पनि छन् । त्यसैगरी शिल्पकारिताभन्दा माथिल्लो स्तरको प्राविधिक काम गर्ने समुदाय कामी पनि छ, आदि इत्यादि । त्यसैले ती हरेकलाई ‘शिल्पी’ शब्दले कसरी सम्बोधन गर्छ ? अर्कोतिर नेपालमा शिल्पकारिता गर्ने दलित मात्र छैनन्, जनजातिभित्र प्रशस्त समुदायहरु छन्, नेवारभित्र त ‘शिल्पकार’ नामको जात भन्न मिल्ने समुदाय नै छ । तर उनीहरू दलित होइनन् । तब तिनीहरुलाई कसरी न्याय हुन्छ ? हुनै सक्दैन । त्यसकारण दलितलाई शिल्पी सम्बोधन समाजशास्त्रको कम अध्ययनबाट उब्जिएको लहडबाजी जस्तो लाग्दछ ।
ब्राम्हाणहरू अनुदार हुनुका मनोवैज्ञानिक कारण के हुन सक्ला ? (जेकी चाप्चा, जर्मनी)
ब्राम्हण एक ऐतिहासिक परिघटना हो जुन करिब ४ हजार वर्षमा बन्न पुगेको हो । आजको युगमा ब्राम्हण परिघटनाबाट सिक्नुपर्ने धेरै छन्, सिक्नै नहुने पनि धेरै कुरा छन् । त्यसकारण यसबारे म गम्भीर अध्ययनमा छु । म ब्राम्हणबारे गरिने छिचरो आलोचनामा उत्रिन्नँ । ब्राम्हणद्वारा निर्मित संरचनाको उत्पीडनकारी चरित्रसँगको संघर्ष भने बेग्लै र स्वामी न्यायप्रेमी ब्राम्हणले पनि आज गर्नैपर्ने कुरा हो भन्ने प्रष्टै छ ।

संसारमा त्यस्तो कुनै जाति, समुदाय र वंश–खलक छैन, जुन लगातार करिब ४ हजार वर्षसम्म शासनमा छ, कुनै पनि छैन तर ब्राम्हण एक मात्र संसारको परिघटना हो जुन निरन्तर करिब ४ हजार वर्षदेखि शासनमा छ । यो आफैंमा अनौठो लाग्ने परिघटनाको निरन्तरता हो, यसबारे गम्भीर समाजशास्त्रीय अध्ययन जरुरी छ, जुन विषयमा म पनि अध्ययन गर्दैछु । मलाई लाग्छ, यही शासकीय निरन्तरताले त्यस समुदायलाई अति बढी नै अनुदार बनायो ।
‘विदेशमा बस्ने नेपालीहरू सपनाहीन हुन्छन्, ती भनेका देशमा बाँच्ने आँट नभएर भागेकाहरू हुन् । तिनीहरूबाट उत्कृष्ट साहित्यको आशा गर्न सकिन्न ।’ भनेर तपाईंले काठमाडौंमा एक कार्यक्रमबीच भन्नू भएको थियो । हङकङका साहित्यकारहरूलाई भेटिसके पछि कस्तो अनुभव गर्नु भयो ? विदेशमा बस्ने नेपालीहरू सपनाहीन नै हुँदारहेछन् ? (अशोक राई, अमेरिका, नरेश सुनुवार, टिबी याक्खा र डबल सुब्बा, हङकङ)
मैले काठमाडौँको एक कार्यक्रममा बोल्दा ‘देशमा बाँच्ने आँट नभएर भागेका हुन्’ भन्ने वाक्यांश प्रयोग गरेको थिइनँ शायद । रेकर्डेड छ, सुने पनि भैहाल्यो । अनि मैले ‘सपनाहीन’ पनि भनेको होइन बरु ‘रणनीतिक रुपमा सपनाहीन हुन्छन्’ भनेको हो । मेरो यो बुझाइ हङकङ आएर फेरिएको छैन बरु झन् मजबुत हुन पुगेको छ । मेरो भनाइको अर्थ के हो भने हङकङ आईडी वा इडीभी परेर अमेरिका जानेहरु ती देशमा प्रथम दर्जाको नागरिक बन्न पाउँदैनन् । त्यसका लागि उनीहरुका सन्तानले कम्तीमा ३–४ पुस्ता पर्खनुपर्ने हुन्छ । सामान्य अवस्थामा भौतिक सुविधा धेरै ठूलो कुरा हो तर जीवनको रणनीति अर्थात् जीवन–लक्ष्यलाई केन्द्रविन्दुमा राखेर हेर्दा कुनै देशको राजनीतिमा शासनमा हस्तक्षेप गर्ने अधिकार छ कि छैन भन्ने कुराले सर्वाधिक महत्व राख्दछ ।
जब हङकङ बस्ने नेपालीले बेइजिङलाई चुनौती दिने अधिकार राख्दैन भने उसको सपना केवल कमाएर भौतिक सुविधा बढाउने बाहेक अरु हुनै सक्दैन । नेपाल फर्किएर आउन पनि निकै अप्ठ्यारो, अनि नेपालको राजनीतिमा हस्तक्षेप पनि कमजोर बन्दै जान्छ । न हङकङको राजनीतिको सपना, न नेपालको राजनीतिको सपना, तब साहित्य–कला सिर्जना पनि तत्कालीन जीवनको ऐया–आत्थाको वरिपरी घुम्न बाध्य हुन्छ । यो हो मैले भनेको र मलाई लाग्छ— यो बेठीक विश्लेषण होइन ।

जे हुने गर्दछ, त्यो व्याख्या गरेको हो । काम–मामको अभावमा विदेशिएकाहरुलाई किन अपमान गर्नु हामीले ? अझ त्यस्तो समस्याको बीचमा समेत कतिपय नेपाल बस्नेले भन्दा बढी मुटुभरी नेपाल साँचेर बस्ने नेपालीलाई माया र सहानुभूति बाहेक हृदयमा हामी के राख्न सक्छौं ? कदापि सक्दैनौं । तर, जतिसुकै विदेशिएकाले नेपाललाई माया गरे पनि मैले हृदयलाई कठोर पारेर त भन्नैपर्छ नि, ‘होइन नेपालमैं लडौं, दुःखकष्ट बेहोरेर पनि ४ हजार वर्षभन्दा लामो नेपाली सभ्यतालाई नेपालमैं जोगाऔं ।’
हङकङमा मैले अर्को कुरा पनि भनें कि हङकङ, अमेरिका, युरोप लगायतका स्थानमा रहेका नेपालीले नेपाली सभ्यतालाई जोगाउँदै अगाडि बढ्न सके भने नेपाली एउटा विश्वव्यापी फैलिएको महाजाति बन्न पनि सक्छ । त्यो धेरै गाह्रो छ तर असम्भव भने छैन । त्यसो हुन सकेछ भने त्यो पनि एउटा ऐतिहासिक परिघटना हुनेछ ।
पहिचानवादी साहित्यको सौन्दर्यशास्त्र केलाउने क्रममा सृजनशील अराजकताको आन्दोलनलाई पुरै ‘इग्नोर’ गर्नु भयो नि, किन ? (रुद्र नाल्बो, हङकङ)
मैले ‘सिर्जनशील अराजकता’ भन्ने कतै उल्लेख नै गरेको छैन त ‘इग्नोर’ कसरी गरेँ र ? काठमाडौँ वा हङकङ सबैतिर त्यो अवधारणाको सुरुवात गर्ने साहित्यकारहरुसँग म आफूलाई अत्यन्तै निकट पाउँछु व्यवहारमा । त्यसप्रकारका साहित्यकारको सिर्जनाको महत्वको रक्षा गर्न बोल्नेमध्ये म पनि पर्छु भन्दा सजिलै पच्छ भन्ने बुझ्छु ।

जहाँसम्म ‘सिर्जनशील अराजकता’को कुरा छ, त्यो स्थापित संस्थापन अड्डाधारी साहित्यिक माहौलका विरुद्ध विद्रोही चुनौती थियो । तर त्यसको अवधारणा कुन दार्शनिक मान्यतासँग कसरी जोडिन्छ र जोड्ने भन्नेबारेमा छलफल हुन बाँकी छ । मेरो विचारमा ‘सिर्जनशील अराजकता’ कार्यनीतिक रुपमा खास माहौलमा उत्पीडित समुदायको सौन्दर्यमूल्य स्थापित गर्न चालिएको समाजवादी सौन्दर्यशास्त्रको एक अल्पकालीन कदमका रुपमा बुझ्नुपर्दछ वा त्यसले आफूलाई त्यता समाहित गर्नु पर्दछ ।
जनजाति आन्दोलन र दलित आन्दोलन के सङ्सङ्गै हिँड्न सक्छन् । यदी सक्छन् भने कहिलेसम्म ? (निरज राई, हङकङ )
दलित आन्दोलन र जनजाति आन्दोलन सँगसँगै हिंड्न सक्दछ र एकप्रकारले हिंडि नै रहेका छन् । जति हुनुपर्ने त्यति भएको छैन । मेरो विचारमा जनजाति आन्दोलनले दलित विषयलाई आफ्नो समुदायभित्रको नभइ विजातीय समस्या ठानेर कम महत्व दिएको छ । हो पक्कै पनि दलित विषय जनजातिभित्र उब्जिएको समस्या होइन तर पृथ्वीनारायणको राज्य विस्तारपछि जनजाति पनि दलितमाथि जातीय उत्पीडनमा सहभागी भइ आएको कुरा सत्य भएकाले जनजाति आन्दोलनले पनि दलित मुद्दालाई आफूले पनि सरोकार राख्नैपर्ने विषय बनाउनै पर्दछ । जातीय उत्पीडनका दृष्टिले दलितका निम्ति जनजाति पनि उत्पीडकै हो, जसरी भाषा संस्कृतिका क्षेत्रमा जनजातिका निम्ति खस–आर्य दलित उत्पीडक हो । यो विषयमा प्रष्ट हुन सक्दा जनजाति र दलित आन्दोलन आ–आफ्नो मुक्ति पर्यन्त साथ जान सक्छन् ।

तपाईं जस्तो प्रकाण्ड विद्वान किन प्रचण्डको पछि हिँड्नु हुन्छ ? प्रचण्डलाई छोडेर आफै उत्पीडित वर्ग, जाति र क्षेत्रको नेतृत्व गरे कसो होला ? ( लुङमा लिम्बू, शान्ति पन्धाक, निलु पन्धाक, हङकङ )
हुन त प्रचण्ड र माओवादीलाई गाली गर्न नर्वेदेखि करोडौं पैसा ल्याएर बेमौसममा खेती गर्नेहरु नेपालमा थुप्रै छन् तर म प्रचण्डलाई त्यसरी बुझ्न चाहन्न । त्यसो त प्रचण्डका कमजोर पक्षका विरुद्धमा खुलेरै तीतो आलोचना गर्न पनि छोड्दिनँ । मेरो फेसबुकको भित्ता मात्र चाहर्दा पनि त्यो तथ्य प्रष्ट हुन्छ । एक; प्रचण्डकै नेतृत्वमा करिब अढाइ सय वर्ष पुरानो सबै उत्पीडितको प्रगति रोक्ने राजतन्त्रको अन्त्य गर्ने लोकमार्ग बनेको हो । त्यसैगरी धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आदि इत्यादि ।

दुई; प्रचण्डकै नेतृत्वको पार्टीमा पहिलोचोटी २०४८ सालमा पार्टी दस्तावेजमा दलित हकको व्यवस्था भएको हो र २०५१ सालमा पहिलोचोटी नेपाली जनजातिको निम्ति स्वायत्त क्षेत्रसहित स्वशासनको अधिकार हुनुपर्छ भनी नीति पारित भएको हो ।
तीन; प्रचण्डकै नेतृत्वमा इतिहासमा कहिल्यै हतियार बोक्न नदिइएका दलित र महिलालाई हतियारबद्ध बनाइएको हो र देश संघीयतातिर जान जुर्मुराएको हो । चार; आज जे–जति राजनीतिका मुख्य मुद्दा छन्, ती सबै राजनीतिको केन्द्रमा उनकै नेतृत्वको आन्दोलनले मुख्य भूमिका खेलेको हो । पाँच; यस अर्थमा नेपाली सामन्तवादको अन्त्य गर्ने एक नम्बरका नेता प्रचण्ड हुन् । यति जस पनि प्रचण्डलाई नदिने हो भने इतिहासप्रति न्याय कदापि हुन सक्दैन भन्ने म ठान्दछु । ‘सबै बाहुन उस्तै हुन्’, ‘सबै दलित उस्तै हुन्’ अनि ‘सबै जनजाति उस्तै हुन्’ भन्ने भनाईसँग म सहमत छैन ।
शहीदको सूची हेर्‍यो भने सबैभन्दा बढी ब्राम्हण–क्षेत्रीबाट आएका छन्, के ती गाली गर्न लायक छन् त ? कदापि छैनन् । बाहुन परिवारबाट आए तर प्रचण्ड र नगेन्द्रप्रसाद रिजाल उस्तै होइनन् । जनजातिबाट आए तर पद्मसुन्दर लावती र अशोक राई उस्तै होइनन् । अनि दलितबाट आए पनि गोल्छे सार्की र तिलक परियार उस्तै होइनन् । यहाँ विचार र उसको योगदानले प्रष्ट फरक पारेको छ र पार्छ— यो कुरा पनि बुझ्नैपर्छ । यो कुरा सही हो कि शान्तिकालमा आएदेखि आजसम्मका गतिविधिमा प्रचण्डमा थुप्रै समस्या र कमीकमजोरी पनि प्रष्ट देखिन थालेका छन् । त्यसको दृढतापूर्वक आलोचना जरुरी छ । तर उनले जनताका आधारभूत एजेण्डा नै छोडिसके भन्ने म ठान्दिनँ ।
जबसम्म आधारभूत मुद्दा कमीकमजोरीका बाबजुद उनले छाड्दैनन्, त्यो बेलासम्म उनी र उनी जस्तै सबैलाई साथ दिनैपर्छ । म त्यही पक्षमा छु । त्यसो त उनले गर्न सकेनन् भने कसैले समातेर इतिहासमा कोही जोगिन सक्दैन भन्ने प्रष्टै छ । जहाँसम्म मेरो कुरा छ, म आफैं हिंडेको छु, कसैको पुच्छर समातेर हिंडेको छैन, हिंड्न मञ्जुर पनि छैन । तर आफैं हिंड्ने भनेको आफूसँग विचार मिल्ने कोही भेटिँदा पनि सँगै नहिंड्ने भनेको हो र ? कदापि होइन । विचार मिल्ने बढ्दै जानु राम्रो कुरा हो । कोही म भन्दा बढी नेतृत्व क्षमताको मान्छेलाई नेता मान्नु भनेको आफूले केही नगर्नु होइन । केही नगर्नु त तब हुन्छ, जब आफूले नेतृत्व गर्नुपर्ने बेला आउँदा भागाभाग गर्नु । त्यस्तो बेला आउँदा म वा हामी सबैले नेतृत्व लिने साहस गर्नैपर्दछ

No comments:

Post a Comment