कृष्णसेन इच्छुकको सम्झनामा भूकम्पपिडित लाइ जस्तापाता वितरण

काठमाडौं , असार, १विभेद बिरुद्ध अभियान। काठमाडौं चन्द्रागिरी नगरपालिका २ बसुन्देलस्थित दलित बस्तीबासीको अवस्था महाभूकम्पले दयनिय बनाईदिएको छ । आर्थिक रुपमा विपन्न त्यहाँका ४१ परिवार मध्ये अधिकांशलाई भूकम्पले झनै पीडा थपिदिएको हो । 

सोही बस्तीबासी पत्रकार तथा लेखक कृष्णसेन इच्छुकको सम्झनामा बुधबार जस्तापाता पाउँदा खुसी देखिन्थे । इच्छुकको प्रहरीको गिरफ्तारीपछि २०५९ साल जेठ १३ गतेका दिन हालको नेपाल पुलिस क्लबभित्र हत्या भएको थियो । उनको सम्झनामा वर्षेनी प्रभातफेरी, अन्तरक्रिया जस्ता कार्यक्रम हुँदै आएकोमा यो वर्ष भने स्मृती शैली फेरिएको हो । कृष्णसेनकी जीवन संगिनी तक्मा केसी स्वयम् नै त्यहाँका भूकम्प पीडितका लागि जस्तापाता बोकेर पुगेकी थिइन् । सो क्रममा प्रति परिवार सातका दरले १८ परिवारलाई जस्तापाता वितरण गरिएको छ ।

क्रान्तिकारी पत्रकार महासंघ, जनसांस्कृतिक महासंघ, इच्छुक प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा इच्छुकप्रति श्रद्धाञ्जली तथा माल्यार्पणपछि जस्तापाता वितरण गरिएको थियो । सो अवसरमा इच्छुक श्रीमती केसीले इच्छुकको सम्झना गर्दै जनतासँग सँधै जोडिन चाहने भएकाले उनको स्मृति थोरधेर जे भएपनि जनतासँगै रहेर साट्न चाहेको बताइन् । उहाँ (इच्छुक) जहिल्यै तल्लो वर्गसँग जोडिन चाहनुहुन्थ्यो केसीले भनिन्, त्यसैले उनको सम्झना पनि भूकम्प पीडितसँग रहेर सुखदुःख बाड्न खोजेका हौं ।
कार्यक्रममा नेकपा माओवादीका स्थायी समिति सदस्य कुल प्रसाद केसीले इच्छुक साँस्कृतिक राजनेता भएको उल्लेख गरे । इच्छुक जनतासँग जहिल्यै जोडिन चाहने भएको भन्दै उनले पनि इच्छुकका सपना पूरा नभएको पनि बताए ।

कृष्ण सेन इच्छुक श्रमजीवीहरुको पक्षमा लड्दा लड्दा प्राण त्यागेको हुनाले यतिखेर भुकम्प पीडित श्रमजीवी जनतालाई थोरै भएपनि मलम लगाउनु नै उनको सम्झना हुने ठानेर आफूहरुले स्मृति दिवस यो ढंगको गर्ने निर्णय लिएको इच्छुक प्रतिस्ठानका ईश्वरचन्द्र ज्ञवालीले बताए ।
असहाय भूकम्प पीडितलाई सेनको जीवनसंगिनी तक्मा केसी स्वयम् र इच्छुक प्रतिष्ठानको आर्थिक सहयोगमा जस्तापाता वितरण गरिएको हो । बुधबार जस्तापता वितरणसँगै सो क्षेत्रमा माओवादीले पुननिर्माण अभियान अन्तर्गत श्रम अभियान गरेको छ ।  त्यहाँ भत्किएका घर पन्छाउने, घर टहरा निर्माणमा सहयोग गर्ने माओवादीले जनाएको छ ।
क्रान्तिकारी पत्रकार संघ लगायत अन्य विभिन्न संघसंस्थाले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर इच्छुकलाई सम्झिएका छन् ।
उता नुवाकोट जिल्लामा जेठ १३ गतेको श्रम शिविर कृष्ण सेनको नाममा समर्पित गरेको माओवादी नेता मात्रिका यादवले जनाएका छन् । त्याग र सर्वहारा वर्गप्रतिको निस्ठाको प्रतिक सेनको सपना पूरा गर्न लडिरहनुपर्ने यादवले बताए ।
कृष्ण सेनसँगै सहकार्य गरेका ड्यास माओवादीका पोलिटब्युरो सदस्यद्वय सूर्यप्रकाश सुवेदी पथिक र महेश्वर दाहाल पनि नुवाकोटस्थित चन्द्रज्योती माविमा भएको कार्यक्रममा सहभागी बने । चन्द्रज्योती माविको पुननिर्माणको अलावा अन्य दुई टोली बनाएर मात्रिका यादवको नेतृत्वमा भूकम्प पीडितको सहयोगमा तीन दिनदेखि नुवाकोटमा श्रम अभियान चलिरहेको छ ।
यता, क्रान्तिकारी पत्रकार महासंघले यस वर्ष कृष्ण सेन स्मृति पुरस्कार स्थगित गरेको छ । देश नै शोकमा डुबेको भन्दै यो बेलामा पुरस्कार र विशेष कार्यक्रम नगर्ने निर्णइ महासंघले गरेको संयोजक कुमार शाहले बताए । यसअघिका वर्षमा उसले पत्रकारितामा विशिष्ट योगदान दिएकालाई १० हजार दिने गर्दथ्यो ।
श्रमजीवीहरुको पक्षमा कलम चलाउने पत्रकार तथा साहित्यकार सेनलाई ०५९ सालमा प्रहरीले गिरफ्तार गरी महेन्द्र पुलिस क्लवमा हत्या गरेको थियो । पत्रकार सम्वद्ध विभिन्न संघसंस्थाले उनको हत्याराको पहिचान तथा दोषीलाई कारबाहीको माग गर्दै आएका छन् ।

No comments:

Post a Comment