बलात्कार पीडित मुसहर महिला अन्यायमा

सर्लाही, असार १५, विभेद विरुद्ध अभियान ।   बलात्कार घटनाबाट पीडित पिडारी-९ ढापटोलकी ४५ वर्षीया महिला न्यायको पर्खाइमा छन्  पीडितलाई असार ७ गते सोमबार छिमेकी महेन्द्र माझीले मुख बाँधेर बलात्कार गरेको पीडित परिवारको आरोप छ  । निधारमा गहिरो घाउअनुहार र जिउभर नीलडाम रहेकी छठिया उपचार अभावमा अझै अचेत छिन् । घटनालगत्तै इलाका प्रहरी कार्यालयहरिपुरमा जाहेरी दिन गएको पीडित परिवारलाई प्रमाण लिएर आउन भन्दै प्रहरीले जाहेरी लिएन ।

पीडितलाई दुई वर्षअघि बाख्रा चराउन जङ्गल गएको बेला आरोपित माझीले बलात्कार गरेपछि गाउँमै दश हजार रुपियाँ जरिवाना गरी घटनामा मिलापत्र गराइएको थियो । बदला लिने चेतावनी दिएका आरोपितले गत असार ७ गते पुनः बलात्कार गरेको पीडितका भाइले बताए ।

आरोपितलाई कारबाही गर्नुको साटो इलाका प्रहरी कार्यालयहरिपुरले सामान्य घटना भन्दै पन्छिएको स्थानीय गीता देवीले बताइन् । प्रहरी निरीक्षक राजकुमार कार्कीले उजुरी गर्न आएकी महिलाको स्वास्थ्य परीक्षण र उपचारको कुनै पहल नै नगरी प्रमाण जुटाएर आउन घर फर्काइदिए । स्थानीयको दबावपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरे पनि भोलिपल्ट नै रिहा गर्‍यो ।

महिलालाई चोटपटक लागेको देखिए पनि बलात्कार भएको उजुरी र प्रमाण नभएका कारण आरोपितलाई कारबाही गर्न नसकिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक कार्कीले बताए ।एक साता अघि भएको घटनाको विषयमा कुनै जानकारी नआएको बताउँदै सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले पीडित महिलाको तत्काल स्वास्थ्य परीक्षण गरी दोषीलाई कारबाही गरिने बताए ।
 पीडित महिला सोमबार मध्य रातमा रगतले लतपत भएर टायरगाढामा उपचारका लागि आएपछि प्राथमिक उपचार गरी प्रहरीमा पठाएको हरिपुरका स्वास्थ्यकर्मी जगदिश यादवले बताए ।

प्रहारीको लपारवाहीले गर्दा मुसहर महिला अन्यायमा परेको ग्रामीण नारी उत्थान सङ्घ,हरिपुरकी अध्यक्ष सुधा चालिसेले बताइन् । गरिब बस्तीमा हुने बलात्कारको घटना प्रहरीसम्म पुग्नै सक्दैन र पुगे पनि प्रहरीको लापरवाहीले गर्दा पीडित थप पीडामा पर्ने गरेका छन् । राजनीतिक दवाव र सम्पन्न वर्गको घरमा हुने घटनामा प्रहरीले सक्रियाता देखाए पनि निम्न तथा गरिब परिवारमा घटेको घटना तैँ चुप मैँ चुपमा सीमित हुने गरेको छ ।

No comments:

Post a Comment