मनिता विकको सम्बाद सारले संविधान सभालाई खुला चुनौती दिएको छ - रमेश गुरुङ

जेठ ३१, विभेद बिरुद्ध अभियान –  मनिता विकसंगको सम्बाद सार, हाम्रो रुग्ण र चिन्ताजनक वर्तमान सामाजिक अवस्थाको आँखा र कानले छल्न नसक्ने कटु सत्य हो, जुन एउटा दलित बालिकाको सरल र मृदु भाकामा मुखरित भएर आएको हामीले देख्यौं र सुन्यौं l भूकम्पको दैविक प्रकोपले उनलाई कुनै किसिमको पक्षपात गरेको छैन, तर समाजको  असमान व्यवहारले भने तिनी सबैले पाएको न्यूनतम सुविधाबाट बन्चित छिन् l बाल्यकाल देखि नै तल रहन सिकाउने र आफूलाई एउटा सीमा भित्र राख्न बाध्य बनाउने यो अभ्यास हाम्रो सामाजिक संरचना, पुरातनको अभ्यास रेखा र संस्कृतिको लज्जास्पद पक्ष हो । आधुनिक नेपालमा सामाजिक समानता र न्यायका लागि भनिएको तथा कथित सामाजिक क्रान्ति र सामाजिक न्यायका लागि नै भनी गरिएको एक दशक भन्दा लामो गृह युद्धले पनि यसको छेउ सम्म भेट्न सकेन र अझ पनि हजारौँ मनिताले यो सामाजिक अन्यायको मिचाई भोग्नु परेको छ l

म सोच्दैछु नेपाली समाजको ठुलो मानिने जातीय परिवेशमा अरूको प्रवेश निषेध देशको अघोषित विखण्डन नभए के हो ? देशको विखण्डन भूगोलको रेखा मात्रको खेल हुन्न, यो आम व्यवहारको भाग बन्डा मात्र  पनि मान्न सकिन्न । विखण्डनको राजनीतिक माग मात्रको विरोध र  चर्चा हुनु भनेको अर्को पक्षको राजनीतिक स्वार्थ हो । समाजमा देखिएको विभिन्न समुदाय बिच व्यवहारिक भाग बन्डा र मानवीय भावको विखण्डन त्यस्तो अमर्यादित विचार हो जसले सम्पूर्ण समाजलाई पाषाणकाल तिर धकेल्छ l यस्ता नारकिय सोचले समाजको व्यवस्था आक्रान्त  बनाएर मानवताको सोचमा बिर्को लाई दिन्छ l मनिता विकको यो बाल अभिव्यक्तिले हाम्रा यो र त्यो भनी तथ्याङ्क र उच्च दर्शन मात्र भुत्भुताउने समाजशास्त्रीहरु, थरी थरीका निःशुल्क नारा भोगी आन्दोलनमा रहेका अभियन्ताहरु लगायत मानव अधिकारका भजन मण्डलीहरुलाई  कुरी कुरी गरेको छ । सामाजिक सञ्जालमा संयोगमा आएको मनिता विक सँगको संवाद देशको भूकम्पको धक्का र पराकम्पनले भत्काएको हाम्रो घर, अन्य रचनाहरू र भूमिको कुरुप अलक्षिन दृश्य भन्दा पनि दुखदायी छ l 
अहिले संविधान बनाउने राजनीतिक कलहको गाँठो केही फुकेको सुन्छु, तर पुरा फुकी सकेको छैन । जे होस् हामीले लामो समय पर्खेको र प्रशस्त धन खर्चेको संविधानले नेपाली समाजलाई कस्तो रूप दिनेछ यो कौतूहलको विषय हो l यो मेलोमा सोच्दा प्रजातन्त्रवादी, समाजवादी, जनवादी, माओवादी, राष्ट्रवादी, बहुदलवादी, मधेसवादी, जातीवादी र थुप्रा थुप्रा वादी र प्रतिवादीको देउसी भैलो खेल्न समग्र उपस्थिति भएको नेपालको वर्तमान विशाल संविधान सभालाई नेपालकी छोरी मनिता विकको साधारण सम्बादले खुला चुनौती दिएको छ l अनिश्चित वर्तमानमा  एउटा अशिक्षित दुखी आत्मा, सामाजिक अन्यायको प्रतीक र प्रतिनिधि पात्र मनिता विकको भाव बोल्छ “हे जन प्रतिनिधि हो सबैलाई सम्झेर हेर l सबै भन्दा पहिले समाजको मुटु र मस्तिष्कको विखण्डन देखि डराउ, प्रदेशको भागबन्डा त मात्र भौतिक र भूगोलको परिवर्तन हो, हाम्रो आन्तरिक मनको विभाजनसँग झस्क र सोच । दलित र पछि परेका नेपाली मुटुहरुमा पिडाबाट उठेको डोबहरु सम्झ । नेपाली समाजको मुटु भित्रको अनावश्यक विभाजनका साँधहरु उखेल l मनिताले बोलेको बुझ्नु परेको छ “सक्छौ भने मलाई यस्तो संविधान देऊ जसले बोलोस् "सर्वे भवन्तु सुखिन,सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु मा कश्चिद दुख भाग्जन । 
निश्चय पनि मनिता विकको रूपमा एउटा विभाजित मुटु बोलेको छ l यो मुटुले माया होइन कठैवराको अभिव्यक्ति पनि होइन मात्र हाम्रो जथा भाबी जेलिएको सामाजिक न्याय र नाम मात्रको धार्मिक सुहिषणता भित्र हुर्केको मत्स्य न्याय, मानवताको कोरा नारा, वर्तमान अधुरो नीति नियम र लंगडो जनभावना र नमिठो परिस्थिति माझ जानी नजानी सकी नसकी सामाजिक न्यायको परिभाषा खोजेको छ l मनिता विक प्रश्न गर्छ मान्छे त् एउटै हो हात काटे रगत नै आउँछ …? एकाइशौं शताब्दीको गिन्तीसँग हामी नेपाली कहाँ उभिएका छौँ ? कुन र कस्तो यात्रामा छौँ ? हाम्रो संविधान निर्माणको मूल बाटोमा तेर्सिएको यक्ष प्रश्न हो ,सबै नेपालीलाई चेतना भया । अस्तु । 
साभार :- :brtnepal.com

No comments:

Post a Comment