आरन गुमाएका विश्वकर्मा परिवारले आरन किन्ने पैसा पाए

शिव ढुंगाना-ओखलढुंगा, जेठ २८, विभेद बिरुद अभियान – – घर भत्किएसँगै पुर्ख्यौली पेशाको रुपम रहेको आरन पुरिएपछि समस्यामा परेका ओखलढुंगाको बरुणेश्वर ८ टेकानपुर गाउँका विश्वकर्मा समुदायले राहतस्वरुप आर्थिक सहयोग पाएका छन् । 
आरन पुरिएपछि विश्वकर्मा समुदायलाई जीविका धान्न समस्या परेको खबर उज्यालो अनलाइन लगायतका बिभिन्न सञ्चारमाध्यममा आएपछि उनीहरुले आर्थिक सहयोग पाएका हुन् । काठमाडौंको कन्काई रिक्रुटमेन्ट सप्लायर्स प्राइभेट लिमिटेडका कर्मचारीले सहयोग गरेका हुन् । उनीहरुले टेकानपुर गाउँको विश्वकर्मा समुदायको वस्तीमा स्थलगत अनुगमन गरेर अस्थायी वसोवासको व्यवस्था गर्न र आरनका सामग्री किन्न २८ घर परिवारलाई १२ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेका हुन् । 
टोलीले विश्वकर्मा समुदायलाई दाल, चिनी, तेल, चाउचाउ लगायतका खाद्य सामग्री समेत हस्तान्तरण गरेको कन्काइ रिक्रुइपमेन्ट सप्लायर्स प्रालि, सुन्धारा, काठमाडौंका मेनेजिङ डाइरेक्टर शिवकुमार विकले जानकारी दिनुभयो ।
आरन किन्नका लागि नगदै राहत पाएपछि यहाँको विश्वकर्मा समुदायमा खुशीयाली छाएको छ । घर भत्किएर विस्थापित भएका विश्वकर्मा समुदायले आरनका सामग्री किनेर जीविका चलाउने बताएका छन् ।
कन्काई रिक्रुइपमेन्टले भूकम्पपीडित विश्वकर्मा समुदायका अति विपन्न र आर्थिक अवस्थाले उपचार गर्न नसकेका विरामीलाई समेत ५ हजारका दरले आर्थिक सहयोग गरेको छ । मलेशियास्थित कोस्मो ह्युमन रिसोर्सेस कम्पनीले २ लाख ८० हजार र कन्काइ रिक्रुइप्मेन्टले ४ लाख रुपैयाँ बराबरको राहत सामग्री र आर्थिक सहयोग गरेको हो । स्रोत:-उज्यालो 

No comments:

Post a Comment