पूरा भयो मनिता बिकको आवश्यकता र दिनेश डिसीको प्रतिबद्धता

काठमाडौं, २० जेठ , विभेद बिरुद्ध अभियान । घर भत्किएको छ । खाना बस्न छैन । भूकम्पले दिएको पीडैपीडामा पनि हँसिलो अनुहारमा आठ वर्षीया बालिकले भनिन्, हामीले एउटै त्रिपाल पाएको छैन, केही पनि पाएका छैनौं, अलिपर बाहुनहरु छन् तर हामीहरु त जान्नौं ।’ किन न नी ? प्रश्नकर्ताको कुरा भूइँमा खस्न नपाउँदै फेरि ती बालिकाले भनिन्, ‘हामी त विक नी, हामी सबै मान्छे हो नी, हात काटे एउटै रगत आउँछ नी है ।’
सिन्धुपाल्चोकको बताशे– ४ की यी अबोध ८ वर्षीया बालिका मनिता विकले भूकम्पले घर भत्किएर खुला आकाशमा बस्नु परेको र दलित भएकै कारण अन्त कसैकहाँ ओत लाग्न जान पनि संकोच मानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चलचित्र निर्देशक समाजका अध्यक्ष तथा समाजसेवी दिनेश डिसीको मनमा चस्का पस्यो । र निधो गरे ‘म बनाइ दिन्छु मनितालाई अस्थायी  टहर ।’


आफ्नो प्रतिबद्धता पूरा गर्न दिनेश डिसी कम्मर कसेर लागि परे । गरे के हुन्न र भने झैं मनिताको आवश्यकता र डिसीको प्रतिबद्धता पनि मंगलबार पूरा भयो । चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघले मिलेर मनिताको घरमात्रै बनाएनन् त्यस गाउँका ९० परिवारलाई ब्लाङकेट, झुल, म्याटेस, सरसफाइलाई आवश्यक पर्ने सामान र औषधि बाँडेका छन् ।
रेडक्रस नेपाल, दिवाकर शर्मा (अमेरिका) र जीवनराज भण्डारी (जापान)बाट प्राप्त भएको सहयोग सहित समाज र संघको सहयोगमा बताशेका ९० दलित परिवारलाई राहत बाँडेको हो । राहत बाँड्दै र मनिताको घर बनाइदिँदै गर्दा डिसीले भने, ‘यी हामीहरु यहाँ विभिन्न थरका आएका छौं। यी नानीले ल्याएको पानी खाएका छौं । जात दुईटा हुन्छ । एउटा पुरुष र अर्काे महिला । थरकै आधारमा जातपात विरोध गर्नु उचित होइन । फेरि पानी खानु ठूलो कुरा होइन यसरी सहयोगी भावना जागृत गर्नु मेरो उद्देश्य हो ।’ अध्यक्ष डिसी बोलिरहँदा सँगै उभिएका निर्देशक सुमन दाहाल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय र गायक राजेशपायल राईले पनि समर्थन जनाइरहेका थिए ।
-स्रोत:- मिडिया एनपी

No comments:

Post a Comment