पुर्ननिर्माणको चरणमा दलितको सहभागिता गराउनु पर्ने माग

काठमाडौ ,९ असार,विभेद विरुद्ध अभियान। भूकम्पपछिको राहत वितरणमा दलित समूदायमाथि विभेद भएको गुनासो गर्दै पुनर्निर्माणको चरणमा संबोधन गर्न दलित समूदायले माग गरेका छन् ।
दलित गैरसरकारी सस्था महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन गरेर भूकम्पबाट दलित समूदाय सबैभन्दा जोखिम अवस्थामा पुगेको भन्दै उनीहरुको बास्तविकता पत्ता लगाएर कार्यक्रम ल्याउन माग गरेको हो ।
जमिन नभएका दलितलाई जमिनसहित बसोवासको ब्यवस्था गर्नु पर्ने, दलितहरुलाई विनाब्याज ऋण उपलब्ध गराउनुपर्ने, समाजिक अन्तर्घुलनसहितको बसोवासको ब्यवस्था मिलाउनु पर्ने लगायत माग महासंघले राखेको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गजाधर सुनारले विपतको बेला समेत राजनीति भएको भन्दै यो बेलामा कुनै पनि आधारमा विभेद नगरी समान ढंगले जीवन सहज बनाउन काम गर्नु पर्ने बताए ।
पूर्व सभासद विनोद पहाडीले पुर्ननिर्माण प्राधिकरणमा दलितको प्रतिनिधित्व नगराईएकोमा आपत्ति प्रकट गर्दै भुमि नभएका, नागरिकता नभएकाले राहत नपाएकोले त्यसमा गंभिर हुन आग्रह गरे ।
दलित अधिकारकर्मी मोतिलाल नेपालीले सबैभन्दा बढी क्षति दलित बस्तीमा भए पनि त्यसको प्रचार प्रसार नभएकोले राहत पाउन नसकेको भन्दै यसकोलागि सबै पक्ष गंभिर हुनु पर्नेमा जोड दिए ।
दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्माले दलित संघ सस्थालाई दातृ निकायदेखि सबै संघ सस्थाहरुले उपेक्षा गरेको भन्दै न्यायोचित ढंगले समस्यालाई नहेरे विद्रोह गर्नु पर्ने अवश्था आउने चेतावनी दिए ।
अधिकारकर्मी भक्त विश्वकर्माले पुर्ननिर्माण प्राधिकरणसहित अनुगमन समितिमा दलितको सहभागिता गराउनु पर्ने माग गरे ।

No comments:

Post a Comment