‘ठूलो जात’की सँग प्रेम गरेको आरोपमा हातखुट्टा बाँधी निर्घात कुटपिट

गणेश लम्साल, विराटनगर, २५ जेठ-विभेद बिरुद्ध अभियान ।  ‘ठूलो जात’की चेलीसँग प्रेम गरेको आरोपमा मोरङको मझारे–४ जयरामपुरका २० वर्षीय बब्लु पासवानलाई केटीपक्षले हातखुट्टा बाँधी निर्घात कुटपिट गरेका छन् । गम्भीर घाइते पासवानको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बब्लु पासवानले सोही गाउँकी १८ वर्षीया सहनी थरकी युवतीसँग प्रेम गरेका थिए । सोही आरोपमा केटीपक्षले दुसाध जस्तो सानो जात भएर ठूलो जातकी छोरी ताकेको आरोप लगाउँदै गत शुक्रबार रडले कुटपिट गरेका थिए । उनीहरूले आफूहरूको इज्जतमा दाग लगाएको आरोप लगाउँदै मोटरसाईकलमा हिँड्दै गरेका बब्लुलाई बाटो छेकेर कुटपिट गरेको केटा पक्षको आरोप छ । कुटपिटमा केटीका बाबुु रामकुमार सहनी, दाजु अजय र जयप्रकाश, काका वीरेन्द्र, काकी प्रमिलासमेत संलग्न भएको बब्लुको परिवारको दाबी छ । उनीहरूले हात बाँधेर सार्वजनिक ठाउँमा जातीय गालीगलोज गर्दै कुटपिट गरेका थिए । 
कुटपिट हुँदै गर्दा पुगेको प्रहरीले बब्लुको उद्धार गरेको थियो । सार्वजनिक ठाउँँमा अमानवीय ढंगले कुटपिट गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उद्धारपछि उनलाई अस्पताल लगिएको थियो । तर, उद्धारपछि मिलापत्र गराउन खोजेको बब्लुको परिवारको भनाइ छ । चिकित्सकका अनुसार बब्लुको हातखुट्टा, जिउ र कम्मरमा चोट छ । आमा वसन्तीदेवीका अनुुसार अपमानपूर्ण जातीय गालीगलोज गर्दै कुटपिट गरेर केटी पक्षले गाउँमा पञ्चायती (भेला) डाकेका थिए । उनीहरूले ठूलो जातको इज्जत फालेको आरोप लगाउँदै पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन दबाब दिएका छन् । उनले भनिन्, ‘छोरालाई मरणासन्न कुुटपिट गर्नेहहरूले सजाय पाउनुपर्नेमा हामीलाई उल्टै जरिवाना तिर्न भनिरहेका छन्, यो कस्तो न्याय हो ?’ उद्धारपछि कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छैन । 
मझारे चौकीका सई फुलकुमार लिम्बूले कुटपिट हुँदै गर्दा बब्लुलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको स्विकारे । गाउँँलेले मिल्छौँ भनेकाले कसैलाई पनि पक्राउ नगरेको उनको भनाइ छ । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी गराएको बताए । केटीका बाबु राजकुमार सहनीले मिलापत्र गराउन आफूहरूले गाउँमा भेला बोलाएको तर पाँच लाख नमागेको बताए । उनले एकपल्टको भेलामा कुरा नमिलेकाले फेरि भेला डाकेको बताए ।
साभार : नयाँ पत्रिका

No comments:

Post a Comment