मोबाइल भिडियो बन्यो राहतको कारण

बतासेडाँडा (सिन्धुपाल्चोक), जेष्ठ २२ -विभेद बिरुद्ध अभियान । - कहिलेकाहीं साना नानीहरूले ठूला समस्या हल गरिदिन्छन्। भयंकर मानिएका कुरालाई सजिलै व्यक्त गरिदिन्छन्। त्यस्तै भयो मनिता बिकसँग पनि। बतासेडाँडाकी आठ वर्षीया मनिताको नौजनाको परिवारलाई पनि गएको महाभूकम्पले आहात पार्‍यो। ओत लाग्ने सानो झुपडी भत्कायो।
भूकम्प गएलगत्तै राहतका कार्यक्रममा जाँदा प्रसुमा बाहिङ राईले मनितालाई भेटिन्। राजधानीमा स्नातक तह प्रथम वर्षमा पढ्दै गरेकी मनिता राहत वितरणकै सिलसिलामा बतासेडाँडा नजिक पुग्दा मनितासँग कुराकानी हुनपुग्यो। ‘बहिनीसँग बोलिरहँदा उनले एकदमै दु:खको कुरा गरिरहेकी थिइन्। उनको कुरा एकदमै जेन्युन लाग्यो’, त्यसपछि प्रसुमाले आफ्नो सामान्य मोबाइलबाट थाहा नपाउने गरी मनिताका कुरा भिडियो रेकर्ड गरिन्।
‘खासमा राम्रो लागेर खिचेकी हुँ। त्यस्तो अपलोड गरौंला भनेर हैन। खिचेपछि चाहिँ उनलाई देखाएँ पनि र यसरी राख्छु भनेर सोधें। उसले हुन्छ भनिन्,’ प्रसुमाले खिचेको पाँच मिनेट लामो भिडियो फुटेज अन्तत: भाइरल जस्तै भयो। सहयोगी मन मनिता पछ्याउन थाले। भिडियोमा मनिताले आफूहरू दलित भएकैले पाल नपाएको र छिमेकी बाहुनहरू कहाँ गएर बस्न पनि नमिल्ने दु:खेसो पोखेकी छन्। ‘भिडियो हेरेपछि मनिता बहिनीले भनेको कुराले मनै चसक्क भयो,’ मनिताको सामाजिक विभेदका कारण परेको मानसिक असरले निर्देशक दिनेश डिसीलाई केही गरिहालौं भन्ने मनमा तातो लागेछ। गत मंगलबार मनिताको परिवारलाई एक टहरासहित दलित बस्तीलाई राहत सामग्री दिन उनी अध्यक्ष रहेको निर्देशक समाज र चलचित्र पत्रकार संघसहितको टोली बतासेडाँडा पुग्यो।
‘भिडियोमा मनिताले भूकम्प आएपछि काखेभाइलाई पिँठ्युमा र अरू दुई बहिनीलाई अगाडि च्यापेर घरबाहिर निकालेको भनेकी छन्। घर लडेपछि अहिले बस्ने पालसमेत नभएको र जातीय विभेदको सिकार भएको कुराले बहुत मन छोयो,’ दिनेशले मनिताका कुराले आगामी दिनमा आफूलाई जातीय विभेदविरुद्ध लड्न उत्प्रेरणा जागेको पनि बताए। भने, ‘म त अरूलाई त्यस्तो विभेद गर्दिनँ भन्ने आठ वर्षकी छोरीको चेतनाले मलाई जातीय मुद्दामा लड्नका लागि चुनौती दियो।’
भिडियोमा मनिताले ‘हात'
काट्दा सबैको रगत आउने नै हो। किन यस्तो विभेद होला है’ भन्दै भिडियो खिचिरहेकी प्रसुमाप्रति नै चिन्ता व्यक्त गरेकी छन्। ‘त्यो नानी भनेको अहिलेको तेस्रो पुस्ता हो। अझै पनि उनीहरूलाई व्यावहारिक रूपमा नहेपे पनि मानसिक रूपमा हेपिने गरेको मैले देखें,’ प्रसुमाले मनिता केवल एक पात्र भएको जिकिर गर्दै उनीभन्दा पीडित अझै थुप्रै हुन सक्ने बताइन्। राहतका लागि पुगेको दिनेशको टोलीलाई उनैले मनिताकै गाउँलाई राहत दिलाउन पहल गरेकी थिइन्। प्रसुमाले फेसमबुमा भिडियो अपलोड गरेपछि जातीय मुद्दा पनि उठे रे। ‘ला मैले जातीय सद्भाव बिगार्ने काम त गरिनँ भनेर डराएँ पनि,’ प्रसुमालाई भिडियो राखेकै कारण अन्यले चासो राख्न थालेपछि सुरुआतमा डर पनि लाग्यो रे।
‘तर धेरै मान्छे जातभातको कुराभन्दा पनि नानीलाई सहयोग गर्न चाहन्छु भन्ने खालका भेटिए,’ प्रसुमाले थपिन्, ‘तर ऊ मात्रै पीडित हैन। उनी त केवल एउटा पात्र मात्रै हो। मनिताभन्दा पीडित अरू पनि हुन सक्नुहुन्छ होला। भिडियो हेरेकै कारण मनितालाई मात्रै सहयोग गर्नुभन्दा यस्ता पीडित सबैलाई सहयोग गर्न सके राम्रो हो।’
मनिताका सात दिदीभाइलाई टोलीले कापीकलम दिँदा स्वयं मनिता भने भेटिइनन्। सोही दिन उनी आफन्तकहाँ गएकाले प्रसुमा सहितको राहत टोलीले भने नभेटी फर्किनुपर्‍यो। तर निर्देशक दिनेश भने मनितालाई भुलिहाल्ने पक्षमा छैनन्। भन्छन्, ‘यति सानैमा पनि मनिताको बोल्ने शैली गजबको छ। जातीय भेदभावको समस्या हल गर्न कतै भोलि ती छोरी अभियन्ता भएर जान सक्छिन् कि?’
दिनेशले यति बेला मनितालाई सहयोगका लागि देशविदेशमा रहेका धनाढ्य मनकारी साथीभाइलाई गुहारिरहेका पनि छन्। यसमा उनी सफल हुनेमा आशावादी देखिए।
साभार :EKANTIPUR

No comments:

Post a Comment