कञ्चनपुरका दलित समुदाय एकत्रित भएर व्यवसायमा लागे

भीमदत्तनगर, १२ असार,  विभेद बिरुद्ध अभियान  । कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपन्न दलित समुदायका मानिस सामूहिकरुपमा बङ्गुरपालन व्यवसायमा जुटेका छन् ।

भीमदत्त नगरपालिका–१८ खैरभट्टीका दलित परिवार विगत केही महिनायता सामूहिक बङ्गुरपालनमा जुटेका हुन् । गाउँमा दलित उद्यमशीलता कृषि सहकारी संस्थाको माध्यमबाट बङ्गुरपालन सुरु गरेको संस्थाका अध्यक्ष नारद सुनारले जानकारी दिनुुभयो । यसका लागि रु आठ लाख ३० हजार जिल्ला पशुसेवा कार्यालयबाट अनुदान पाएका हुन् ।

“अहिले ३५ वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेका छौँ” अध्यक्ष सुनारले भन्नुभयो–“दलित समुदाय एकत्रित भएर व्यवसायमा लागेका छौँ ।”

खैरभट्टीका ७५ घरधुरी दलित समुदायबाट ९९ जना सहकारीमा आवद्ध छन् । विसं २०६९ मा स्थापना भएको दलित सहकारीले समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन व्यवसाय सुरु गरेको हो । बङ्गुरपालनमा ३० प्रतिशत सहकारीको लगानी रहेको छ ।

“एक वर्षमा बङ्गुर मासुका लागि तयार हुन्छ” उहाँले भन्नुभयो । व्यावसायिक बङ्गुरपालनमा दुई जनालाई लालनपालनको जिम्मेवारी दिइएको छ । सहकारीमार्फत मासिक बचतसमेत गर्ने गरेको अध्यक्ष सुनारले बताउनुभयो । उनीहरुले रु सयदेखि रु एक हजारसम्म बचत गर्छन् । सहकारीले रु पाँच लाख ऋण लगानी गरेको छ । 

No comments:

Post a Comment