पर्वत, जेठ ३१, विभेद बिरुद्ध अभियान – यहाँकि एक दलित महिलाले आफ्ना गहना बेचेर करिव डेढ लाखको लगानीमा गाउँ सम्म सडक खनेकि छन् । पर्वत धाईरिङ गाविस–७ कि ७३ बर्षिया जसुदा बिकले आफ्ना भएभरका गहना बिक्रि गरेर करिव दुई किलोमिटर सडक गाउँसम्म पु¥याएकि हुन् । ‘तीनवर्ष अघि गाउँमा सडक ल्याउने भनेर पैसा आएछ, हाम्रो बस्ती हुँदै सडक ल्याउने योजना परेपछि ठुलाबडाले गाँवै तर्काएर रातारात बाटो खने,’ विगत सम्झिँदै विकले भनिन् । ‘हामीहरु रोईकराई ग¥यौं, दलितको कुरा कस्ले सुन्ने ? अनि मेरा भएभरका गहना बेचेर बाटो खनें ।’ गहनाले सडक साट्दा बिकलाई जिवनमा पहिलो पटक सबैभन्दा खुशी महसुस भयो । किनकी दलित बस्ती तर्किएको बाटो उनले घरघर पु¥याइन् । धाईरिङको ६ र ७ वडामा सबै दलित बस्ती छ ।
२०६८ मा गाउँमा मोटरबाटो लैजान पर्वत जिविसबाट बजेट बिनियोजन भएपछि धाईरिङको सल्यान हुँदै लालुङ सम्म मोटरबाटो खन्ने योजना थियो । योजना अनुसार स्थानीयहरुले धाईरिङकै शेरबहादुर केसीलाई सडक निर्माण समितिको अध्यक्ष छाने । सडक दलित बस्ती हुँदै लैजानेगरि सर्वे भए पनि अध्यक्ष केसी लगायतका केहि व्यक्तिहरुले दलित बस्ती तर्काएर रातारात सडक खने । दलितहरुका आवाज कसैले नसुनेपछि राप्रपा गाउँ समिति अध्यक्ष समेत रहेकि जसुधा बाटो खन्न कस्सिइन् ।
‘मेरा सिलमुन्द्री, माडवारी लगायतका सबै गहना बेच्दा ६९ हजार आयो,’ बिकले भनिन्, बाँकी हाम्रै दाजुभाईहरुसंग सहयोग मागेर करिव एक लाख २० हजार जम्मा पारेर बाटो खन्न कस्सिएं ।’ मुल रडक खन्न आएको डोजरलाई पैसा तिरेर उनले पत्थर घुम्ती देखि देउराली सम्मको करिव दुई किलोमिटर सडक खनाईन् । ‘अहिले सुत्केरी हुन नसकेका महिलाहरुलाई घरघरै आएर एम्बुलेन्सले लैजान्छ,’ जसुदाले भनिन् ‘गाउँलेहरुले आलु, काउली लगायतका तरकारी घरघरमै गाडी ल्याएर बिक्रि गर्छन् ।’
जसुदाको सक्रियतामा खनेको बाटोमा अहिले बाह्रै महिना सवारी चल्छन् । सडकको व्यवस्थापन गर्न छुट्टै समिति गठन भएको छ । समितिका अध्यक्ष लगायत सबै पदाधिकारी दलित छन् । सडक सामान्य बिग्रियो भने अध्यक्ष दुर्गा बिक, सचिव थम्मे बिक, कोषाध्यक्ष मैतीलाल बिक सबै घरघरमा भएका औजार बोकेर मर्मतमा जुट्छन् । ‘जसुदा दिदी र हाम्रो इज्जतका लागि पनि सडक कहिल्यै बिग्रिन दिँदैनौं,’ सचिव थम्मे बिकले भने, ‘आफूले लगानी गरेपछि मायाँ पनि धेरै हुँदो रहेछ ।’ सडक खन्दा डेढ लाख खर्च भएको थियो । एक लाख २० हजार स्थानीयहरुले जुटाए । बाँकी ३० हजार अझै ऋण छ ।‘यो ऋण तिर्न पाए भोकै भए पनि खाएजस्तो हुन्थ्यो ।’ जसुदाले भनिन् ।
त्यसो त जसुदाको सामाजिक काम र सक्रियता देखेर स्थानीयहरु छक्क पर्नेगरेका छन् । २०४७ सालमा राजा बिरेन्द्र र रानी ऐश्वर्यले धौलागिरिको भ्रमण गर्ने बेला जसुदाले दुई दिन पछ्याउँदै रानी लाई बिन्तीपत्र चढाएर बिभिन्न विकासका काम गरेकि थिइन् । ‘जसुदा दिदीले बिन्तीपत्र चढाएपछि यहाँ दुईओटा पुल र गाउँमा खानेपानी निर्माण भएको हो,’ स्थानीय छबिलाल रिजालले भने, ‘उहाँ अनपढ भएर पनि पढेलेखेकाले गर्न नसकेका धेरै काम गर्नुभएको छ ।’
जसुदाकै सक्रियतामा दलित बस्तीका महिलाहरु सबैले परिवार नियोजन, स्वास्थ्य संस्थामा सुत्केरी हुने, नवजात शिसुको स्याहार लगायत सरसफाईका बिभिन्न चेतना पाएका छन् । घरमा फुर्सद भयो कि जसुदा सधैं आफ्नो गाउँको सरसफाई लगायत बिभिन्न विषयमा चेतना बाड्न गाउँ घुम्छिन् ।
‘चेतना नभएर मैले नौ सन्तान जन्माउनुप¥यो,’ आफ्नो बिगत सम्झिँदै बिकले भनिन्, ‘अहिले धेरै उपायहरु छन्, मैले जानेका सबै कुरा गाउँका छोरी बुहारीहरु लाई भन्नेगरेकि छु ।’ करिव ५० परिवार रहेको दलित गाउँका सबै महिलाहरु अहिले दुई मात्रै बच्चा जन्माउँछन् । नियमित खोप लगाउँछन् । अस्पतालमै सुत्केरी हुन्छन् ।
जसुदाको सक्रियता अरु समाजका लागि पनि उदाहरणिय भएको राजनीतिक अगुवाहरु बताउँछन् । ‘जसुदा दिदीको क्षमता देखेर म आफै छक्क परेको छु,’ एक कार्यक्रमा सहभागि हुन धाईरिङ पुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले भने, ‘उहाँबाट हामी जस्ता राजनीतिकर्मीहरुले धेरै सिक्न सक्छौं ।’ समाजमा अझै पनि दलितलाई हेर्ने नजरमा व्यवहारिक परिवर्तन आउन नसकेको अवस्थामा जसुदाले गरेको सामाजिक कामले कथित गैर दलितहरुका लागि गतिलो उदाहरण भएको जोशी बताउँछन् ।
No comments:
Post a Comment