दलित आन्दोलन किन? - रूपबहादुर विश्वकर्मा

तपाइँलाई दलित भन्न मिल्छ र? एक क्षेत्री मित्रले पंक्तिकारलाई व्यंग्यात्मक शैलीमा प्रश्न गरे। हुनत म त्यस्तो सम्पन्न व्यक्ति कहाँ हुनु र? खेतबारीबाट उत्पादन हुने खाद्यान्न जम्मा चारजनाको जहानलाई वर्षभरि पुर्याउन पनि गाह्रो छ।अन्य घरखर्च मैले काम गर्ने एक स्थानीय रेडियोबाट आउने न्यूनतम मासिक तलबले जसोतसो चलाइरहेको छु। पत्नीले गर्ने पशुपन्छी पालनबाट आक्कल-झुक्कल आउने सामान्य आम्दानीबाहेक कुनै आयस्रोत छैन।

तैपनि ती मित्रका नजरमा यो समाजले परिकल्पना गरेको दलित पात्रभन्दा सायद म केही फरक देखिन्छु। किनभने विश्वकर्मा (कामी) भए पनि म झुत्रेझाम्रे भएर पुख्र्यौली पेसा आरनमा काम गर्दिनँ। सुकिलोमुकिलो भएर सबैका कानकानमा गुन्जिने रेडियोमा समाचार भन्ने/लेख्ने गर्छु। मेरोजतिको पनि जीवनस्तर नभएका कतिपय क्षेत्रीबाहुन पनि होलान् समाजमा।ती मित्रको प्रश्नको जवाफमा भनें- ठीक छ, तपाइँले मलाई दलित देख्नुभएन। यो मेरा लागि खुसीको कुरा हो। तर मैले आफूलाई दलित भन्नु मेरो रहर होइन, बाध्यता हो।

त्यसो भए के तपाइँ मलाई आफ्नो घर तथा चुलोमा लैजान सक्नुहुन्छ त? त्यसपछि उनले निर्लज्ज भएर भने, 'हैन, तपाइँलाई घरमा किन पस्नुपर्योन?' प्रतिप्रश्न गरें, 'अरू जातका मान्छे पस्न हुने तपाइँको घरमा म पस्न नहुने कारण?' त्यसपछि ती मित्रको वाक्य फुटेन।यस्तै एउटा सार्वजनिक कार्यक्रममा सँगै परेका जिल्लास्तरका बाहुन् जातका एकजना एकीकृत नेकपा माओवादीका नेताले मसँग भने, 'रूपजी, प्रमुख कुरा जात होइन, वर्ग हो। त्यसकारण हामीले जातीय होइन वर्गीय मुद्दा उठाउनुपर्छ। कतिपय बाहुन्-क्षेत्री दलितभन्दा पनि निर्धन र निमुखा छन्।

अनि उनले पनि कम्तीमा उनको हारमा बस्ने हैसियत बनाएको व्यक्ति म दलित हुन नसक्ने तर्क प्रस्तुत गरे। उनका सबै कुरा सुनिसकेपछि मैले प्रश्न राखेँ, 'तर समाजमा मलाई मभन्दा गरिब र अनपढ बाहुनले पनि आफूभन्दा तल्लो अर्थात् अछूत् नै ठान्छन् नि?' त्यसपछि ती नेताको पनि वाक्य अघि बढेन।मेरो गाउँ सर्लाहीको ढुंग्रेखोला- ६, पश्चिमटोलमा खानेपानीको स्रोत इनार छ। त्यस इनारमा अरू सामान्य दलितलाई मात्र होइन, पत्रकारका रूपमा जिल्लामा चर्चित र प्रतिष्ठित भइखाएको मलाई पनि कथित उच्च जातिका मानिस छुवाछूतको व्यवहार गर्छन्। मैले पानी तानेको बेला उनीहरू तान्दैनन् भने उनीहरूले तानेका बेला मलाई इनार छुन दिँदैनन्। यस्तो व्यवहारले मममा उत्पीडन हुन्छ, जसलाई यहाँ म शब्दमा उतार्न सक्दिनँ।

कतिपयको आरोप छ- दलितहरू अशिक्षित, असभ्य र फोहोरी हुन्छन्, त्यसकारण उनीहरू अपहेलित भएका हुन्। तर मेरो गाउँमा मलाई छुवाछूत गर्ने ठूला जाति भनाउँदा कतिपय त्यस्ता छन्, जो देख्दा(अर्को अर्थ नलागोस्) मलाई घिन लाग्छ।

म जाँडरक्सी खाने, जुवातास खेल्ने, व्यभिचार गर्ने जस्ता कुनै पनि असामाजिक र अनैतिक काम गर्दिनँ। तर पनि यो समाजमा मलाई होइन, उपयुक्त गलत आचरणमा संलग्न भएका किन नहुन्, कथित ठूला जातमा पर्नेलाई शुद्ध, पवित्र र छूत मानिन्छ। मचाहिँ अछूत।कुरा रूपबहादुरको मात्रै किन? मेरै गाविससँग सिमाना जोडिएको हरिवन- ४, दनुवारीका ओमबहादुर विश्वकर्मा जिल्ला शिक्षा कार्यालयका हाकिम अर्थात् विद्यालय निरीक्षक हुन्। उनको हस्ताक्षर जिल्लाका सबै जातका मानिसलाई चल्छ, तर उनको हातको पानी भने आफ्नै गाउँका आफूभन्दा कम पढेका वा पढ्दै नपढेका बाहुनक्षेत्रीलाई मात्र होइन, आदिवासी जनजाति भन्नेहरूलाई पनि चल्दैन।

सर्लाहीको लालबन्दी बजारनिवासी कुशबहादुर विश्वकर्मा त्यस क्षेत्रका धनाढ्यको सूचीमा पर्छन्। तर पाँचतले पक्की घरका मालिक उनलाई गरिब ठूला जातका कच्ची घरमा पनि प्रवेश निषेध छ। आखिर किन? क्रान्तिकारी कमरेडहरू ! यो जातीय विभेद हो कि वर्गीय? हो, यस्ता प्रश्नको उत्तर खोजिरहेका छन् यो देशका दलित। यो आलेख पढ्दै गरेका तपाइँ पनि आफ्नो आत्मालाई नढाँटीकन भन्नुस् त? तपाइँ व्यक्तिको सम्पत्ति र शिक्षा हेरेर छुवाछूत गर्नुहुन्छ कि जन्म र जात हेरेर? यसैबाट थाहा हुन्छ दलितको समस्या के हो र दलित आन्दोलन किन जरुरी छ?

बाहुनवादी समाज दलितलाई धनी, शिक्षित, विद्वान्, वकिल, नेता, पत्रकार, डाक्टर, मास्टर, कलाकार मान्न तयार छ तर सबैलाई समान ठान्न तयार छैन। यसको अर्थ हो दलितमाथिको भेदभाव खाली सम्पत्ति, शिक्षा र सरसफाइसँग मात्र सम्बन्धित छैन। अत: एकोहोरो आर्थिक, शैक्षिक विकास र वर्गीय मुक्तिको कुरा गरेर मात्र दलितको समस्या समाधान हुँदैन।

हिन्दुधर्मको वर्ण व्यवस्थाबमोजिम २०२० सालअघि नै कानुनी रूपमै जातपात र छुवाछूत प्रथा लादिएको हाम्रो समाजमा अरू सबै कुरा भन्दा माथि छ बाहुन जाति। पुस्तौंपुस्तादेखि दलित समुदायलाई सबै क्षेत्रमा पछाडि पार्नुमा यही जातिको ठूलो हात छ। आर्थिक अभावभन्दा अथाह हुन्छ आत्मसम्मान गुमाएर बाँच्नुपर्दाको पीडा। आत्मसम्मानको अभावमा मान्छेले कुनै उन्नति गर्न सक्दैन।

तसर्थ दलित आन्दोलनको प्रमुख उद्देश्य के हो वा हुनुपर्छ भने सर्वप्रथम यो समाजमा दलितले मान्छे भएर आत्मासम्मानका साथ बाँच्न पाउने वातावरण बन्नुपर्छ। जन्म र जातका आधारमा मान्छे (दलित) लाई मान्छे नठान्ने (अ) धार्मिक मान्यताको पूर्णत: अन्त्य हुनुपर्छ।

देशका सबै जातजातिले समान रूपमा बाँच्न पाउने अधिकार नयाँ संविधानमा स्थापित गर्छौं भन्ने कसम खाएर भर्खरै निर्वाचित माननीय सभासद्हरूले यस विषयमा गम्भीर हुन जरुरी छ। राजनीतिकर्मी, अधिकारकर्मी, धर्मगुरु , पण्डित र पुरोहितले पनि यसमा अर्जुनदृष्टि दिनुपर्छ। अनि आवाजविहीनहरूको आवाज मानिने सञ्चारमाध्यमलाई पनि यस (जातीय छुवाछूत) विरुद्धका विचार र बहसलाई बढी स्थान दिन म हार्दिक आह्वान गर्छु।सबार : अन्नपुर्ण पोस्ट

No comments:

Post a Comment