भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन

इटहरी, माघ १३– आजको युगमा अमर प्रेमको उदाहरण कथा, उपन्यास र सिनेमामा मात्र पाइन्छ भन्ने धारणा कतिपय मानिसहरूमा पाइन्छ । तर यस्तो धारणालाई गलत सावित गर्न सक्षम अमर प्रेमी–प्रेमिका अझै पनि हाम्रै समाजमा यदाकदा पाइन्छन् । भनिन्छ प्रेम अन्धो हुन्छ, तर यो भनाई सबैमा लागु हुँदैन । त्यस्ता भाग्यमानीहरू निकै कम हुन्छन्, जो आफ्नो प्रेम प्राप्त गर्न जस्तोसुकै बाधा अवरोध पन्छाउन सक्षम हुन्छन् ।
अपाङ्गता भएका व्यक्तिलार्ई हेय दृष्टिले हेर्ने हाम्रो जस्तो समाजमा पनि सबै सुख सुविधा त्यागेर अपाङ्गता भएको व्यक्तिलाई नै जीवन साथी रोज्न सक्नु कम ठूलो साहस होइन ।इटहरी नगरपालिका जनसेवा टोल वडा नं ७ बस्ने उजुरु सरदारको जीवनमा यस्तै घटना भयो । सरदार २०६१ सालमा एसलसीको परीक्षा दिएर क्याम्पस पढ्नका लागि केही रकमको जोहो गर्ने उद्देश्य सहित घर नजिकै इटहरी बजारमा घर बनाउने काममा मजदुरी गर्न थाल्नुभयो ।
मजदुरी गर्ने क्रममै एक दिन दुई तला माथिबाट खसेर उहाँका दुवै खुट्टा भाँचिए । डाक्टरले मेरुदण्डको नशा ‘फ्याक्चर’ भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।शल्यक्रियाका लागि त्यसबेला ६० हजार रुपैया लाग्ने अस्पतालले बताएपछि गरीब दलित परिवारका सरदारले शल्यक्रियाका लािग आवश्यक रकम जुटाउन सकेनन् र उपचार गर्न पाएनन् ।
मद्दतका लागि घर बनाउने ठेकेदार र घरधनी विश्व धिमाललाई पनि उहाँले उपचारमा सहयोग गर्न अनुरोध गर्दा पनि नमानेपछि प्रहरीमा उजुरी हालेको तर प्रहरीले घटना भएको २४ घण्टा नाघेको भन्दै कुनै कारवाही गर्न नसक्ने भन्दै पन्छिएको हुँदा त्यताबाट पनि उहाँले कुनै सहयोग पाउन सक्नुभएन ।
यसरी अपाङ्ग जीवन विताइरहदा पनि उहाँले आफ्नो जीवन साथीको सहयोग पाएर खुसी पूर्वक नै जीवन विताइरहनु भएको छ ।उहिले स्कुल पढ्दै गर्दा सरदारसँग पिरतीको डोरीमा बाँधिनुभएकी राधादेवी नै अहिले उहाँको एकमात्र सहारा हुनुहुन्छ ।भरखर बैंशको कोपिला लाग्दा दुवैै सँगै जिउने सँगै मर्ने कसम खाँदै आफ्नो पिरतीको गोरेटोमा अघि बढदै थिए । तर त्यो यात्रा सुरु गरेको केही महिनामै दुर्भाग्यवश् सरदार त्यो दुर्घटनामा परी घाईते हुनुभयो र उहाँका दुवै खुट्टा नचल्ने अवस्थामा पुगे ।
उहाँकी पे्रमिका राधादेवीले उनै सरदारसँग बिहे गर्ने प्रस्ताव घरमा राख्नुभयो तर उहाँको घरका परिवारले खुट्टा नचल्ने अपाङ्ग सरदारलाई छोरी दिन मान्ने कुरै थिएन ।राधादेवी भन्नुहुन्छ– “ उहाँ घार्ईते हुने बित्तिकै सोही वर्ष बल्जफ्ती मेरो विवाह अकै ठाउँमा गरिदिए । मलाई विभिन्न यातना दिएर अर्कै सँग बिहे गर्न बाध्य पारियो ।” बिहे पछि पनि उहाँको मनमा सरदार प्रतिको माया घटेको थिएन ।
बिहे बन्धनमा बाँधिएकी राधादेवीले आफ्नो भाग्यलाई दोष दिँदै पतिको घरमा बस्नुभयो तर दुई सन्तानकी आमा भईसकेकी राधादेवी र सरदारका बीचमा एक दिन अचानक भेटघाट र कुराकानी गर्ने अवसर जुट्न गयो ।आफ्नो प्रेमीको त्यो अवस्था देखेर चिन्तित भएकी राधादेवीले अन्ततः आफ्नो पतिलाई छोडेर पे्रमी सरदारसँग नै बाँकी जीवन बिताउने निधो गर्नुभयो । तीन वर्ष अघि आफ्नो पतिलाई छोडेर प्रेमी सरदारसँग उहाँ विवाह बन्धनमा बाँधिनुभयो ।
राधादेवी भन्नुहुन्छ–“ विहे भएको धेरै पछि उहाँ सँग भेटभयो । त्यसपछिका दिनहरूमा कहिलेकाँही भेटभइरहन्थ्यो । तर जब उहाँको जति उपचार गर्दा पनि खुट्टा निको भएन र उहाँको अवस्था अब सँधै यस्तै हुनेभयो भन्ने थाहा पाएँ तब मैले नै सहारा दिनुपर्छ भनेर उहाँसँगै घरजम गरी जीवन विताउने निधो गरें । ”राधादेवी पतिलाई छोडेर उजुरुको घरमा आउनुभयो र स्थानीय समाज मिलेर दुवैको विहे गरिदिए । हाल उहाँहरूको एक वर्षको एउटा छोरो पनि छ । सरदार भन्नुहुन्छ–“ मेरो क्याम्पस पढ्ने रहर त पूरा हुनसकेन, यही छोरोलाई धेरै पढाउन पाय हुन्थ्यो भन्ने सोंचेको छु । ”
दुवै खुट्टा नचल्ने भएकोले सरदार बैशाखीको सहारामा पनि हिँड्न सक्नुहुन्न । केही समय अघि एउटा पुरानो ह्विलचियर सहयोग पाएको तर त्यो ह्विलचियर पनि भाँच्चिए पछि झनै समस्यामा पर्नुभएको छ ।उपचारको आस मारिसकेका सरदार कुनै पसल गरी आफ्नो जीवन निर्वाह गर्न पाए हुन्थ्यो भन्ने सोँचमा हुनुहन्छ । तर पसल थाप्नका लागि पनि आवश्यक रकम दलित तथा गरिव परिवारका उहाँसँग छैन ।अपाङ्गता माथि विपन्नताको समेत जाँतोमा पिसिएर भएपनि चोखो मायाको सहाराले दुवैले सन्तोषको जीवन बिताएर समाजका अगाडि अपाङ्गतालाई मायाले जित्न सकिन्छ भन्ने उदाहरण दिन उजुरु–राधाको जोडी सफल रहेको छ । 
साभार :- रासस

No comments:

Post a Comment