लगन विककी दुई महिनाकी छोरी जन्मेकै दिनदेखि जिल्ला कारागारमा

आदर्श केसी
रुकुम,२९ पुस
उनको कसुर केही पनि थिएन तर आमाको कुकर्मका कारण जेलमै जन्म भयो । कर्तव्य ज्यान अभियोगमा जेल सजाय भोगिरहेकी मैकोट–२ की ३५ वर्षिया लगन विककी दुई महिनाकी छोरी जन्मेकै दिनदेखि घाम पनि देख्न नपाई जिल्ला कारागारमा कष्ट भोगिरहेकी छन् । जेलको चिसो छिँडीमा आमासँगै रहेकी यी बालिकाको स्वास्थ्य पनि जोखिममा छ ।
महिला कैदी राख्ने साँघुरो कोठामा बस्दै आएकी सुत्केरी लगन र उनकी छोरीको अवस्था अत्यन्त दयनीय छ । कठ्यांग्रिँदो चिसोमा पनि उनीहरुले घाम देख्न पाउँदैनन् । ‘आमाको कसुरका लागि अबोध बालिकाले कष्ट भोग्नुपरेको छ,’ एक महिला कैदीले भनिन् । बच्चा हेरचाहका लागि तत्काल कुनै व्यवस्था गर्न नसकिने कारागार प्रशाशनका कर्मचारीले बताए । जिल्ला अदालत रुकुमका न्यायाधीश हेमन्त रावलले कारागारमै सुत्केरी भएपछि महिलाले सुविधा माग गरे केही समयका लागि बिदा दिने व्यवस्था रहेको बताए । उनले भने,‘बच्चाकी आमाले त्यो सुविधा मागेमा प्रक्रिया मिलाएर घरमै बस्ने व्यवस्था पनि गर्न सकिन्छ तर अहिलेसम्म माग भएको छैन ।’
घरयासी विवादमा भाइबुहारी नाता पर्ने हुकाम–२ की ३५ वर्षीया जगतमाया विकको गत जेठ २० गते हत्या गरेको आरोपमा लगन पक्राउ परेकी थिइन् । जिल्ला अदालतले भदौ ३१ गते उनलाई २० वर्ष कैद फैसला गरेको थियो । जिल्ला कारागारमा खानेपानी र शौचालयको समेत अभाव रहेको गुनासो कैदीबन्दीले गरेका छन । कारागारमा २० जनाको क्षमता रहे पनि कैद तोकिएका ६१ जना र नतोकिएका नौ जना गरी ७० जना कैदीबन्दी राखिएका छन् । यसका कारण कैदीबन्दी पालो गरेर सुत्ने गरेका छन् । जीर्ण अवस्थामा रहेका तीनवटा भवनमा कैदीबन्दी कोचाकोच राखिएको छ ।
(स्रोतः अन्नपूर्ण पोष्ट राष्ट्यि दैनिक)

No comments:

Post a Comment