डिल्ली विकलाई आफ्नै परिवारले बोक्सीको आरोप लगाउँदै घरबाट निस्कन धम्की

सल्यान, माघ १ -
मूलखोला ४, च्युरानिवासी २७ वर्षीया डिल्ली विकलाई आफ्नै परिवारले बोक्सीको आरोप लगाउँदै घरबाट निस्कन धम्की दिएका छन् । घरका धेरैलाई खाएको भनी बोक्सी आरोप लगाउँदै विकलाई घरबाट निस्कन धम्की दिएका हुन् ।

विक घरपरिवारबाट मात्र नभई समाजबाट समेत अपहेलित छिन् । सासूससुराले बोक्सी आरोप लगाएपछि विकलाई अहिले श्रीमान्ले समेत छाडेका छन् । उनका श्रीमान्ले अर्की विवाह गरेर दाङतिर बसाइँसराइ गर्दा नागरिकतासमेत नबनाई सम्पत्तिबाट वञ्चित गरेका छन् । बोक्सी आरोपमा समय-समयमा धम्की आउँदा उनी मानसिक रूपमा पीडित छिन् । घरमा एक्लै भएकी उनलाई श्रीमान् तथा परिवारका सबैले छाडेपछि सात वर्षको छोरा पाल्न हम्मेहम्मे परेको छ । दैनिक बिहान-बेलुकी गुजारा चलाउन अहिले उनी बजारमा मजदुरी गर्न बाध्य छिन् ।

'सासूससुरालगायत गाउँघरकाले समेत बोक्सी आरोप लगाई गालीगलौज तथा विभिन्न आरोप लगाउँदै आएका छन्,' विकले भनिन्, 'महिला भएरमात्र हातपात गर्न सकेका छैनन् ।' घरबाट निस्केर जान धम्की दिइरहेका छन् ।

घरको कुरा किन बाहिर लैजाने भनी चार वर्षसम्म सहेको र महिला अधिकारसम्बन्धी काम गर्ने सबैलाई भेटे पनि कसैले सहयोग नगरेको उनले बताइन् । 'अहिले बाध्य भएर इलाका प्रहरी कार्यालयमा न्यायको माग राख्दै उजुरी हालेकी छु,' उनले भनिन्, 'घरमा मन नपरेको भन्दै सासूससुराले बोक्सीको आरोप लगाएका हुन् । घरबाटै गालीगलौज गर्ने र गाउँघरकाले पनि त्यस्तै व्यवहार गर्न थालेपछि समस्यामा परेको पीडित विकले बताइन् ।
साभार :- कान्तिपुर

No comments:

Post a Comment