मसानघाटबाट आएकी राधिका सुनारको कथा

माघ ३ - चितवनको कार्यक्रममा कञ्चनपुरबाट आएकी महिलाले परिचय दिइन्, 'म राधिका सुनार, मसानघाटबाट आया हुँ । घर कहीं पनि छैन ।' उनी जहाँ बस्छिन्, त्यो ठाउँमा पहिले मसानघाट थियो । उनको उमेर ४२ वर्ष तर देखिने ६० आसपासकी । दुई सुर्काेबाहेक माइतीको जग्गा थिएन । दार्चुलाको घरतर्फ त त्यही पनि थिएन । विवाहको केही महिनापछि उनीहरू भारत छिरे । श्रीमान् घर र सडक बनाउने ठाउँमा मजदुरी गर्थे । उनी घरेलु श्रमिक । सेठको भाडा माझ्ने । लुगा धुने तर पनि सेठ कहिल्यै खुसी नहुने । अरूको घर चम्काउन जीवनका सबभन्दा उर्वर समय खर्चेकी उनले आफ्नै दैलो पोत्न र आँगन बढार्न भने अझै पाएकी छैनन् ।

दिल्ली बसेको करिब १२ वर्षपछि एक दिन अचानक खबर आयो- सासू ससुरा बसेको दार्चुलाको भाडाको घर महाकालीले बगायो । र, दुवैको ज्यान गयो । यो खबर पाएपछि उनीहरू दार्चुला फर्किए । तर, सासू ससुराको कुनै अत्तोपत्तो भएन । जमिन नहुनेलाई बगाए पनि कसैले सुन्दोरहेनछ- उनले दुःखेसो पोखिन् । उनीहरू दिल्ली फर्केनन् । दार्चुलामा अरूको खेतीपाती सघाउँदै गाँस जुटाउन थाले । यसबीचमा राधिकाका पतिको रूखबाट लडेर हातखुट्टा भाँच्चियो । भन्छिन्- उपचार गर्न पनि सकिएन । अहिले एउटा हात र खुट्टा चल्दैन । यो संकटकाल लागेको बेलाको कुरा थियो ।

२०६४ सालतिर कञ्चनपुर आफन्तकोमा आएको बेला उनले वनरा नदीछेउ नयाँ बसोबास गर्न लागेको चाल पाइन् । कतै बस्ने ठेगान नभएकी राधिका त्यो समूहमा मिसिइन् । उनलाई लाग्यो- एउटा झुप्रो उभ्याउने जमिन पाई पो हालिन्छ कि ? सामुदायिक वनभित्र गएर सुकेको काठ ल्याइन् । काठैले खाडल खनिन् । उनीसँग अरू औजार थिएन । थोत्रा प्लास्टिक बटुलिन् र छाप्रो हालिन् । अनि दार्चुला गएर अपाङ्ग श्रीमान् र ३ छोराछोरी पनि ल्याइन् । यसरी वनरा नदीमा बस्ने अरू पनि थिए । यो नयाँ बस्तीमा बस्नेमध्ये केही नेता निस्किए । उनीहरूले पनि छाप्रो हालेका थिए तर बेलुका कहाँ बस्थे थाहा हुँदैनथ्यो । यिनले त्यहाँ बस्नेसँग पैसा उठाउँथे । दाउरा बेचेर ल्याएको पैसा कहिले ५०, कहिले १०० गरेर धेरैपटक दिइन् राधिकाले पनि । भन्थे- ल अब पुर्जा बन्नै लाग्यो । पैसा नपुगेर अड्किएको छ ।

जहाँ बसिएको थियो । त्यहाँबाट हटाउन वन प्रशासन डोजर लिएर आयो । 'जाबो प्लास्टिक र स्याउलाको छाप्रो भत्काउन डोजर आयो,' उनले भनिन् । एक सरो डोजर कुदेपछि बस्तीका मानिसहरू हराए । १२ परिवार बाँकी रहे । यिनको जाने ठाउँ कहीं थिएन । 'अलि तल सडक र सामुदायिक वनछेउको जग्गामा बस्न थाल्यौं,' राधिकाले आफ्नो कथा सुनाइन् । यो कथासँगै अर्को झमेला आयो । नजिकैको नदी उकास जग्गामा खेती गर्न थालेपछि सामुदायिक वन समितिका व्यक्ति आए- किन यहाँ बसेको ? किन तरकारी लगाएको ?

सामुदायिक वनका पदाधिकारी र सुकुम्बासी परिवारबीच भूमि अधिकार मञ्चको मध्यस्थतामा छलफल भयो । बस्नेको तीनपुस्ते थाहा पाए वनले नहटाउने भयो । बिस्तारै यो बस्तीका मानिसहरू संगठित भए । अहिले कसैले पनि धम्क्याउँदैन । केही जग्गा छुट्याएर दिएका पनि छन् । यो जग्गामा राधिकाहरूले हलेदो लगाएका छन् । नदीले बगाएर ल्याएको दाउरा सङ्कलन गरी बेचेर चामल किनेर उनीहरू गुजारा गर्छन् । उनी कहिलेकाहीं सोच्छिन्- कुनै दिन यो नदीले दाउरा ल्याएन भने के गर्ने होला ? 'हामी त भोकै परिन्छ,' उनले भनिन् ।

उनीहरूको आफ्नो नाममा कुनै जग्गा जमिन छैन यसैले आँगनको वन समितिमा उनीहरू सदस्य छैनन् । बालबच्चा पढाउन समस्या छ । परीक्षा शुल्क तिर्न नसकेपछि राधिकाका एघार वर्षीय छोरा यो वर्षदेखि पढाइ छोडेर धनगढीको होटलमा भाडा माझ्ने काममा गएका छन् । 'पढाइ मात्र निःशुल्क छ, खाने, लाउने र परीक्षा फी निःशुल्क छैन,' उनले आफ्नो बाध्यता सुनाइन् । भूमिहीनको संगठनमा लागेपछि उनले बोल्न जानेकी छन् । आँट पलाएको छ । 'संगठनको बलले बास थामिन्छ भन्ने लाग्न थालेको छ,' उनले सुनाइन्, 'तर, कुनै ठेगान छैन । अहिले फेरि बस्ती उठाउने रे भन्ने हल्ला छ ।' उनलाई अहिले यसको पिरलो छ ।

राज्यको आँखामा वन अतिक्रमणकारी हुन् राधिका । यसैले यिनले पानी पनि खोलाकै खानुपर्छ । किनकि यसरी सरकारी जग्गामा बस्नेलाई खानेपानीको सेवा दिन बन्देज छ । सायद, यी बार बन्देजहरू गरिब-निमुखा जनताको हक संरक्षणका लागि बनाइएका हुन् ! उहिलेको महेन्द्रनगर, अहिलेको भीमदत्तनगर जाने हाइवेको छेउैमा छ उनको झुप्रो । धेरै मानवअधिकारवादी, सरकारी अधिकारी र ठूला मानिसहरू यो बाटो नजिकै हिँड्छन् । तर, कसैले राधिकाहरूको वास्ता गर्दैनन् । देखिहाले भने प्याच्च भन्छन्- अतिक्रमणकारी !

सरकारले वन अतिक्रमण नियन्त्रण रणनीति लागू गरेको छ । तर, सरकारले पक्की घर भत्काउँदैन । खाली झुपडी जलाउँछ, डोजर चलाउँछ । सायद, वातावरण यसरी नै जोगिन्छ होला !

साभार :- जगत देउजा  / घरको कथा /कान्तिपुर

No comments:

Post a Comment