कविता नेपालीले सौताको रिसले परिवारलाई नै विष खुवाइन

२०७० माघ ६- बझाङ : सदरमुकाम चैनपुरमा चार वर्षदेखि बस्दै आएकी लेखगाउँ गाविस ९ की कविता नेपालीले सौतासँगको रिसका कारण शनिबार राति आफ्नै परिवारका सदस्यलाई झुक्याएर विष खुवाएर आफूले पनि खाएकी छन्। विष खुवाइएका चारैजनाको अवस्था चिन्ताजनक छ।बिहान कोठाबाट परिवारका कुनै पनि सदस्य नउठेपछि छिमिकेले ढोका खोल्दा उनीहरूबेहोश अवस्थामा फेला परेका रेका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शनिबार राति कविताकी सौता गिठी नेपाली र उनका पति दीपक नेपालीबीच झगडा भएपछि कान्छी पत्नी कविताले सौताको रिसको झोकमा गुल्कोज पानी भन्दै पति, १२ वर्षको जेठीपट्टिको छोरा अर्बिन र ६ महिनाकी आफ्नै छोरीलाई विष खुवाएर आफूले पनि खाएकी थिइन्। राति सौता गिठी नेपाली घरबाट भागेपछि कविताले पति र छोराछोरीलाई मार्ने उद्देश्यले विष खुवाएको प्रहरीले जनाएको छ।

कवितासहित उनका पति दीपक बेहोश अवस्थामा छन् भने बच्चाहरूको अवस्थामा सुधार भएको अस्पतालकी नर्स सीता जोशीले बताइन्। सदरमुकाम चैनपुरमा सिलाइकटाइको काम गर्दै आएका दीपकले पहिलो विवाह १५ वर्षअगाडि गिठी नेपालीसँग गरेको भए पनि दोस्रो विवाह डेढ वर्षअगाडि कवितासँग गरेका थिए।जेठी पत्नी गिठीबाट दुई छोरा छन्। एउटा कक्षा १० र अर्को कक्षा ८ मा पढ्छन् भने कान्छी पत्नीबाट ६ महिनाकी एक छोरी मात्र छ।

'राति हामी दुईजना सौताबीच कलह भएको थियो', गिठीले भनिन्, 'म राति नै माइत हिंडें, राति ३ बजेतिर कविताले गुलकोज पानीमा मुसा मार्ने औषधि बनाएर झुक्याउँदै पतिलाई खुवाएर आफूले पनि खाइछन्।' घटना रहस्यमय भएकाले प्रहरीले गिठी नेपालीसँग सोधपुछ गरिरहेको छ। झगडा गरेर पछुताएकी गिठी पनि अहिले पति, केटाकेटी र सौताको उपचारका लागि जिल्ला अस्पतालमा आएकी छन्।

No comments:

Post a Comment