दलित एकल मधेशी महिला समानुपातिक सदस्यमा सिफारिस

कपिलवस्तु माघ ३ – कपिलवस्तु नगरपालिकाकी श्रीकान्ती पासी संविधानसभाका लागि समानुपातिक सदस्यमा सिफारिस भएको खबर सुन्दा सुरुमा कसैलाई पनि पत्यार लागेन ।पान बेचेर जीविकोपार्जन गर्दै आएकी दलित एकल मधेशी महिलाको नाम सिफारिस भएको खबरलाई धेरैले हाँसो ठट्ठाको रुपमा लिए । सञ्चार माध्यममार्फत खबर सार्वजनिक भएपछि मात्रै सबै चकित परे ।
कपिलवस्तु नगरपालिका ४ आनन्दवाग सडक किनारमा पान बेच्दै आएकी श्रीकान्तीलाई पनि यो खबरले निकै हर्षित तुल्यायो । उहाँले आँखाभरी आँसु पार्दै सशस्त्र द्वन्द्वको बेला आफ्ना दाजुलाई सुराकीको आरोपमा माओवादी कार्यकर्ताले हत्या गरेको र आफूलाई पनि मरणासन्न हुने गरी कुटेको घटना सम्झनुभयो ।त्यहीबेलादेखि राप्रपा नेपालमा लागेकी उहाँले सभासद हुन्छु भन्ने त कल्पना पनि गर्नुभएको थिएन । ‘कहिलेकाहीँ नसोचेको पनि हुँदो रैछ’ उहाँले भन्नुभयो ।





परसोहिया गाविस ७ अम्लोनहा चौराहामा भाउजुसँग बस्दै आएकी श्रीकान्ती सामान्य लेखपढ मात्र गर्न सक्नुहुन्छ । दुईवटा फुसको छाप्रोमध्ये एउटामा बाख्राको र अर्कोमा गोरुको गोठ छ । गोरु बाँध्ने गोठमा आफू र भाउजु सुत्ने गरेको उहाँले बताउनुभयो ।सानैमा आमा र बुवा गुमाएकी श्रीकान्तीले २५ वर्षदेखि एकल जीवन बिताउँदै आउनुभएको छ । १२ वर्षको उमेरमा निग्लिहवा बिर्ता गाउँका रजिस्टर पासीसँग भएको वैवाहिक सम्बन्ध केही वर्षमै टुट्यो ।
श्रीमानसँग सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा लड्दा धेरैसँग ऋण लिनुपर्‍यो ।  मुद्दा जितेर श्रीमानको अंशबाट पाएको चार मन्डी जग्गा ४० हजारमा बेचेर ऋण चुक्ता गरेको उहाँले बताउनुभयो ।श्रीमानसँग अलग भएपछि उहाँसँग सम्पत्तिको नाममा काठको सानो पसल बाहेक केही पनि छैन । भाउजुसँग बस्दै आएकी श्रीकान्ती २० वर्षदेखि पान बेच्ने काम गर्दै आउनुभएको छ ।
त्यसो त उहाँ महिला स्वास्थ्य स्वयंसेविका पनि हुनुहुन्छ । महिला स्वास्थ्य स्वयंसेविकाको  रुपमा काम गर्दा पोखरा, चितवन, पाल्पालगायतका ठाउँहरुमा घुमेपनि उहाँको काठमाडौं जाने धोको भने पूरा भएको थिएन ।समानुपातिकमा सिफारिस भएको खबर लगत्तै उहाँ केही दिन अगाडि पहिलोपटक काठमाडौं पुग्नुभएको थियो । त्योबेला काठमाडौं जाँदा ४ हजार रुपैयाँ सकिएको उहाँले बताउनुभयो ।
अहिले आफन्तसँग सरसापट गरेर उहाँ दोस्रोपटक काठमाडौं यात्रामा निस्कनुभयो । विहीबार दिउँसो घर पुग्दा उहाँ लुगाफाटा र झोला मिलाउँदै हुनुहुन्थ्यो । अब काठमाडौंमै बसोबास गर्ने भएकाले नयाँ झोला, लुगाफाटा र ज्याकेट किनेको उहाँले बताउनुभयो ।‘काठमाण्डौं बसपार्कमा ओर्लिएपछि राप्रपा नेपालको पार्टी कार्यालयमा पुग्छु, खाने बस्ने व्यवस्था त पार्टीले मिलाउला नि’ तौलिहवाबाट रात्रीबसमा चढ्ने बेला उहाँले भन्नुभयो ।
विहीबार तौलिहवाबाट रात्रीबस चढेकी श्रीकान्ती शुक्रबार विहान काठमाडौं पुग्नुभएको छ । ‘केही दिन पार्टी सचिवको घरमा बस्छु, त्यसपछि डेरा लिएर बस्नुपर्ला’ उहाँले टेलिफोनमा भन्नुभयो ।संविधान निर्माण प्रक्रियाका बारेमा जिज्ञासा राख्दा उहाँले आफूलाई यसबारे धेरै कुरा थाहा नभएको, तर राजा सहितको प्रजातन्त्र र जनताको शासन हुनुपर्ने भन्ने पार्टीको कुरा मात्रै थाहा भएको बताउनुभयो । ‘अरु कुराहरु त विस्तारै सिकिएला नि’ उहाँले भन्नुभयो ।
तस्बिर / समाचार साभार : गोपाल भण्डारी/उज्यालो ।

No comments:

Post a Comment