काठमाडौं | गत वैशाख १९ गते विहीबार कान्तिपुर दैनिकमा एउटा तस्बिर यस्तो छापियो । तस्बिरको तल क्याप्सन लेखिएको थियो –
घाइते पत्नीलाई उपचार गराएर मंगलबार काठमाडौंको बालुवाटारबाट घर फर्कँदै एक वृद्ध । गाडी भाडा नभएकोले पत्नीलाई पिठ्यूँमै बोकेर लैजानुपरेको उनले बताए । त्यसको भोलिपल्ट कान्तिपुरमै ‘पत्नी बोकेर अस्पताल यात्रा’ शीर्षक दिएर एउटा फोटो र त्यसबारेको विवरण छापियो ।
त्यहाँ लेखिएको थियो– ‘बस चढ्ने पैसा नहुँदा यी वृद्ध अस्पतालबाट पत्नीलाई बोकेरै गन्तव्यतिर लागे । बालुवाटार हुँदै हिंडेका यी वृद्धको तस्विर बुधबारको कान्तिपुरमा छापियो । त्यसपछि उनलाई सहयोग गर्छौ भन्नेहरू थुप्रै भेटिए । तर यिनीहरू बस्ने ठाउँ र सम्पर्क नम्बर भेटिएको छैन । कसैले थाहा पाउनुभएको छ ? छ भने कान्तिपुर पब्लिकेसन्स कार्यालयमा सम्पर्क गरिदिनु होला ।’
...............
कान्तिपुरको त्यो फोटो देखेपछि समाजसेवाको लागि स्थापित ‘पवित्र समाज नेपाल’की दिक्षा चापागाइँले सो पत्रिका आफ्नो झोलामा राखेर हिँड्ने गर्थिन्, विचल्लीमा परेका दम्पत्तिलाई भेटाइन्छ कि भन्ने आश बोकेर । उनले झण्डै आठ महिनासम्म त्यो पत्रिका झोलामै राखेर हिँडिन् । सडकमा हिँडडुल गर्दा कतै ती दम्पत्ति भेटिन्छन् कि भनेर चनाखो भइरहन्थिन् उनी । तर उनले सात महिना वितिसक्दा पनि उनले ती दम्पत्तिलाई भेट्न सकिनन् । भेटुन् पनि कसरी, न उनीहरु बस्ने ठेगान नै थियो, न सम्पर्क गर्ने ठाउँ नै । तर पनि दिक्षाको आश टुटेन ।
हिजो शुक्रबार दिक्षालाई उनका दाई ज्ञानेन्द्र गदालले फोन नक्सालबाट । भने –‘दिक्षा कता छौ ?, मेरोमा आउ न, आज मेरो जन्मदिन ।’ त्यसपछि दाईले बोलाएकै ठाउँ नक्सालतिर लागिन् दिक्षा । दाईको जन्मदिनको आमन्त्रण स्वीकारेर जाँदै गर्दा चिनियाँ राजदूतावास नजिकै दिक्षाले देखिन्––एउटा बृद्धले पिठ्यूँमा एउटी बृद्धालाई नसकी नसकरी बोक्न खोजिरहेका । त्यो दृश्यले दिक्षालाई झोलाभित्र राखेको पत्रिकाका दम्पत्तिको झल्को आयो । रोकिन् स्कुटर । सोधिन् दिक्षाले उनीहरुबारे ।
बुबा हजुर को हुनुहुन्छ ? यी महिला को हुन् ?
बृद्धले जवाफ दिए – उनी मेरी प्राण प्यारी, जीवनको एक मात्र सहारा । मेरी पत्नी । उनी विरामी छन् ।
सुन्दैजाँदा खोजेकै दम्पत्ति भेट्टाएकी पो रहिछन् दिक्षाले ।
आठ महिनादेखि खोज्दै हिँडेका दम्पत्ति भेट्टाउँदा दिक्षाको मन विभोर भयो । ‘यो शहरमा को हाम्रो होला र ?’ भन्ने ठानेका दम्पत्तिले आफ्नै छोरी भेट्टाएको महसुस गरे ।
दिक्षाले ट्याक्सी बोलाइन् । अल्लि पर लगेर खाजा खुवाइन् । बसुन्धरामा रहेको पवित्र समाज नेपाल’ लगिन् । नुहाइधुवाइ गरिन् । सच्चा सन्तानले निभाउनुपर्ने जिम्मेवारी निभाइन् ।
सिन्धुपाल्चोकका यी दलित दम्पत्ति बुढेसकालमा सहारा खोज्दै हिँडिरहेका थिए । आफ्नै सन्तानले नहेरेका उनीहरुलाई विरानो काठमाडौंले हेर्ला भन्नेमा आश लाग्दैनथ्यो । जेठो छोराले कुटेर सुकमाया (आमा)को खुट्टो भाँचिदिएपछि उनीहरु बेसहारा भएर काठमाडौँ झरे । महिनौँ सडकमा रात गुजारे । कति दिन खाए, कति दिन भोकै परे ।
सुकमाया विश्वकर्मा ८२ वर्षकी छिन् । उनका श्रीमान चक्रबहादुर विश्वकर्मा ७६ वर्षका । दिक्षासँग भेट्दा दम्पत्तिले भने ‘हामी एकै दिन मर्ने हो ।’ आफूले पहिले संसार छोडेँ भने जीवनसाथी कसरी बाँच्लान् भन्ने चिन्ताले पोलेको रहेछ दुवैलाई ।
ओएनएससँग कुरा गर्दै बृद्ध सुकमायाले भनिन् ‘छोरो के भन्नु त्यस्तालाई । सैतान हो । सैतानले निकाल्यो घरबाट । अहिले भगवान् भेट्टाएँ ।’
यी विश्वकर्मा दम्पत्तिको तस्बिर र समाचार छापिएपछि धेरैले सहयोग गर्न चाहेर पनि ‘उनीहरु कहाँ छन्, के गर्दैछन् ?’ भन्ने थाहा नहुँदा सहयोग गर्न सकेनन् । अब सहयोग गर्न चाहनेलाई सजिलो भएको छ, काठमाडौंको बसुन्धरास्थित ‘पवित्र समाज नेपाल’को कार्यालय पुगे हुन्छ ।
झन् विश्वकर्मा दम्पत्तिको सच्चा सन्तान बनेकी दिक्षालाई सम्पर्क गरेर सहयोग गर्न सकिन्छ । दिक्षाले भनिन्– ‘चाहेर पनि सहयोग गर्न नपाएकाले ९८५१०६००८६ मा फोन गरे हुन्छ ।’
source :- http://www.onsnews.com/index.php?pagename=topstories&id=23279
No comments:
Post a Comment