अन्तर्जातीय विवाहले १७ वर्षदेखि बहिष्कृत

बिनोद त्रिपाठी-चितवन, माघ ५ - सुगम र शिक्षित मानिने जिल्लामा अन्तर्जातीय विवाहका कारण समाजबाट बहिष्कृत हुनुपरेको घटना पत्याउन गार्‍हो पर्ला । यहाँ यस्तै घटना भएको छ । परियार थरकी केटी बिहे गरेकाले दारेचोक ३, कुरिनटारका नगेन्द्रप्रसाद उप्रेतीले बाबुको मृत्यु हुँदा दाहसंस्कार गर्न समेत पाएनन् ।

मृतक ८८ वर्षीय घनप्रसादका जेठा छोरा नगेन्द्रलाई दाहसंस्कारबाट आफन्त र गाउँलेले वञ्चित गराएका हुन् । उनीमाथि छुवाछूत व्यवहार गरिएको छ । उनले १७ वर्षअघि परियार थरकी केटी विवाह गरेका थिए । विवाहपछि उनलाई समाजले बहिष्कार गरेको थियो । ९ दिनअघि बुवाको मृत्यु भएपछि उनी दाहसंस्कार गर्न आएका थिए । उनलाई वञ्चित गरियो । गाउँमा नदिएपछि अहिले पिठुवामा आएर एक्लै किरिया बसेका छन् ।

उनले बाबुको मृत्यु भएको समेत जानकारी पाएनन् । 'गाउँले भाइले लुकेर खबर गरेपछि दोस्रो दिन थाहा भो,' नगेन्द्रले भने, 'गाउँले मिलेर मलाई एक्ल्याए ।' जेठो छोरो भएको नाताले बुवालाई दागबत्ती दिन नपाएको गुनासो गरे । मृत्यु भएको दोस्रो दिन घर पुग्दा मिलेर किरिया बस्न नदिएको रुँदै उनले सुनाए । नगेन्द्रले ०५३ साल पुसमा पिठुवाकी राधा परियारसँग बिहे गरेका थिए ।

गाउँ निकाला भएपछि सुसुरालीमा बस्दै आएका छन् । घरमा रहेका भाइ रुद्रप्रसादले पनि गाउँलेको कुरा सुनेर घरमा नबोलाएको दुखेसो पोखे । 'म अहिले काठमाडौंमा मेनपावर चलाएर बसेको छु,' उनले भने, '१७ वर्षसम्म मेरो गाउँ कुरिनटार जान सकेको छैन ।' जन्मस्थान जान नपाउँदा यतिका वर्ष निराश भएर दिन बिताएको उनले बताए । बुवा बितेपछि गाउँका भलादमीको बैठक बसेर दाहसंस्कार र किरियाका लागि नबोलाउने निर्णय गरेको पीडितले बताए । 'दमिनी बिहे गर्‍यो, जात नास्यो भनेर मलाई बहिष्कार गरे,' उनले बताए ।

उनले न्यायका लागि आफ्नो दल एमालेलाई गुहारे । उनी एमालेका सक्रिय कार्यकर्ता हुन् । 'बुवाको मृत्यु भएको आठौं दिनमा श्रद्धाञ्जलिका लागि आफैं किरिया बसें,' उनले भने, 'किरियाबाट उम्केपछि न्यायका लागि अदालत जानेछु ।' छुवाछूत व्यवहारले २ सन्तानलाई चोट पुगेको उनले सुनाए । नगेन्द्र पढेलेखेका र आधुनिक विचारधाराका व्यक्ति हुन् । उनले जातीय विभेद मात्र तोडेनन्, पुस महिनामा विवाह गरेर पनि अन्धविश्वासलाई त्यतिबेला चिरेका थिए ।
-साभार : कान्तिपुर 

No comments:

Post a Comment