छोराले अन्तरजातीय विवाह गर्दा बुबाको हत्या

दैलेखको तोली गाविस वडा नं. २ धनीगाउँमा बस्ने सन्तबहादुर दमाई र राजकुमारी शाही २ वर्ष अघि तिहारमा देउसी भैलो खेल्ने युवाहरुको समूहमा आवद्ध भएर ३–४ दिन अरू साथीहरुसँगै खेले रमाए। यही क्रममा उनीहरुबीच सामिप्यता बढ्यो। यसवीच माइतीले चाल पाएपछि २०६८ जेठ ४ गते दुवैले आपसमा विवाह गर्ने सोचाईंले घरबाट भागे। र, सो रात नजिकैको तुसारघारी जंगलमा १ बेलुका बास बसे। उता माईती पक्षले गाउँका एक–एक घर खानतलासी र जंगलमा समेत तीब्ररुपमा खोजी गरे। गाउँले जेठ ५ गते दुवैलाई जंगलमा फेला पारेपछि केटालाई केटाको घरमा फर्काइदिए भने र केटीलाई आफ्नो घरतर्फ लिएर आए। माईतीले त्यही दिन साँझ घर नजिकैको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भाङ्गघारीको चौरमा स्थानीय ठालु–भलाद्मीहरुको एक भेला बसायो। त्यो भेलाले केटीलाई आफ्नो जातिमा फर्काउने भन्दै केटा पक्षलाई १ हजार नगद र एउटा खसी जरिवाना तिरायो। अनि कुरा मिलाउने दुबै पक्षका मानिसहरु, ठालु–भलाद्मीहरु बसि खसी काटेर खाए। तथापि, ठालु–भलाद्मीले केटा र केटीलाई छुट्टयाउन इन्साफ गरे पनि उनीहरुवीचको प्रेम–सम्वन्ध टुटेन। राजकुमारी शाहीलाई माईतीमा परिवारकै सदस्यले “दमाईसँग लागेकी डुमेनी” भनेर अपहेलना गरि नै रहे निरन्तरको सो अपमान सहन नसकि फलतः उनीहरु २०६८ श्रावण २८ गते अन्तरजातीय विवाह गर्ने अठोट गरेर फेरि घरबाट भागे। 

जव गाउँबाट सन्तबहादुर दमाईं र राजकुमारी शाही भागे, त्यसपछि गाउँमा राजकुमारीकी माईली फुपू रत्ना चन्द, उनको छोरा तुलबहादुर चन्द, काकालालबहादुर शाहीको छोरा प्रेमबहादुर शाही र भिनाजु नाता पर्ने गणेश सिंह समेतले श्रावण ३० गते दिउँसो सन्तबहादुरका माईला दाजु सुशील, बुबा सेते दमाई र काईं्रला बुबा काले दमाईलाई आफ्नै घरमा बोलाई लात्ती–लात्तीले भगुर्नुसँगै र लाठी बर्साएर घाइते बनाएका थिए। सन्तबहादुरका माइला दाजु सुशील, बुबा सेते दमाई र काईं्रला बुबा काले दमाईलाई शाहीहरुले निर्घात कुटेर घाइते बनाइएको दिन साउन ३० गते बेलुका मात्र सन्तबहादुरका जेठा दाजु नरबहादुर भारतबाट घर फर्केका थिए। केटी पक्षको डरले दलित बाटो हिड्न त डर छँदै थियो, दमाई परिवारलाई घरमा बस्ता समेत  घरमै आएर अपशब्द बोल्दै जथाभावी लाठी बर्साउने र ढुंगाले हान्ने तथा प्रत्यक्ष शारीरिक आक्रमणसँगै तथानाम गालीगलौज गरी मानसिक यातना दिने र सामाजिक अपमान गर्ने जस्ता थुप्रै श्रृंखलापछि सो दिन शाही परिवारलाई घरमै बोलाई कुटपीट गरेको विषयमा सन्तबहादुरकी काकी पवित्रा परियारले साउन ३१ गते इलाका प्रहरीमा निवेदन दिइन्। उजुरीपछि गाउँमा आएको प्रहरी टोलीले दोषीलाई चौकीमा लैजान खोज्दा प्रहरीमा जान मानेनन् वरू उनीहरुले प्रहरीकै सामू निवेदकहरुका परिवारैसखाप पार्ने धम्की दिदै आफ्नै कुरा माथि बनाए। त्यसपछि प्रहरीले पनि गाउंठाउँको झगडा गाउंमै मिलाउनुभनि दुवैपक्षवीचमा मिलापत्रको कागज गरायो । प्रहरीकै रहोवरमा मिलापत्रका गरेका माईती पक्षले भित्रभित्रै षढ्यन्त्रको तानावाना बुनिरहेका थिए। सोही योजनाअनुरुप राजकुमारी शाहीको घरमा छलफल भइरहन्थ्यो भने छोराले बुहारी ल्यायो मिलापत्र पनि भयो भनेर सन्तवहादुर उनका परिवार ढुक्क थिए। 

यसरी नै दुइ हप्ता बितिरहेको थियो। भदौ १३ तीजको दर खाने दिन दिउँसो सन्तबहादुर र राजकुमारी पनि घर फर्किएको र जेठो छोरा नरवहादुर पनि २ साताअघि मात्र भारतबाट घर फर्किएको अवसरमा एउटा बाख्रा काटेर र जातीय परम्पराअनुसार रक्सी पनि व्यवस्था गरी साँझ अवेरसम्म परिवारिक जमघट चल्यो। भेटघाट र धेरैवेर सुखदुःख भएपछि करिव ९ बजेतिर सन्तबहादुर र राजकुमारी माथिल्लो तलामा सुत्न गए भने सन्तबहादुरको जेठो दाजु नरवहादुर र बुबा सेते दमाई चाहिं बाहिरपट्टिको कोठामा ओछ्यान लगाई सुते। सन्तबहादुरको आमा अमृता दमाई, काकी पवित्रा परियार, सन्तवहादुरकी बहिनी बुद्धिसरा भित्रपट्टि भान्छा कोठामा २ वटा गुन्द्री ओछ्याएर कुरा गर्दै थिए। त्यसवेला सन्तवहादुर दम्पती सन्त दमाई, छोरो नरवाहदुर र बालबालिका भने सबैजसो निदाइसकेका थिए। त्यही वेला तोली गा.वि.स. वडा नं. २ धनीगाउँ बस्ने राजकुमारकी आफ्नै कान्छी फुपू बिन्दकला शाहीको मुख्य योजनामा नारायण नगरपालिका वडा नं. ६ बस्ने जीवन शाही, कृष्ण खत्री, डिल्ली खत्री, सुभास के.सी. लगायतका व्यक्तिहरु राति अन्दाजी साढे ९ बजेतिरको समयमा हुलहज्जत गरी एक्कासी भित्र पसे। त्यसपछि भनी सुख–दुख कुराकानी गरिरहेका महिलाहरुका मुखमा टर्च लगाएर हेर्दै बाहिर सुतेका को हुन् बाहिर निस्के। त्यसको केही क्षणपछि नै अर्को पटक ३ जना नकावधारी ब्यक्तिहरु भित्र पसी ढोकाको नजिकै माथिल्लो तलामा सामान राख्न सजिलो र आगो बाल्दा धुँवा जाओस् भनी बनाइएको प्वालबाट टाउको घुसाई एकजनाले ओथारोमा को छ भनी टर्च लगाएर हेर्न लागे। सन्तबहादुरको काकी पवित्राले त्यसरी माथि हेर्न व्यक्तिको कम्मरमा खुकुरी देखेपछि चिच्च्याउँदै बाहिर निस्केर गाउँ–गुहार गर्न लागिन्। त्यसरी गुहार गर्दा लगतै ब्युँझिएका सन्तबहादुरका बुबा सेते दमाईले ।के हो ? कोे हो ?किन आ’को ?’ भन्दै भित्र पसे। नकावधारी २ मध्ये १ एकजनाले “तेरो छोराले तल्लो जातको भएर पनि माथिल्लो जात ठकुरीको छोरी लाने आँट कसरी ग¥यो ?” भन्दै मुक्का हान्नथाले।

 त्यहीवीचमा सेते दमाईले सन्तबहादुर र राजकुमारी सुतेको माथिल्लो तलामा बाहिरपट्टिबाट जान लागेका २ जना नकावधारीलाई रोक्न खोज्दा काँडेदार धारिलो १० इञ्चको चक्कूले सेते दमाईलाई छातिमा प्रहार गरे। सेतेभन्दा पछि ब्युँझिएका सन्तबहादुरका जेठा दाजु नरबहादुर दमाईलाई समेत बाहिर बसेका ५–६ जनाले च्याप्चुप समातेर आगनै नजिक रहेको करिब ४ फीट तल रहेको मकैबारीमा फालि दिए। उनी त्यहाँबाट उठेर फेरी आगनमा आई पुग्दा नरबहादुरलाई समेत खुकुरी प्रहार गर्न खोजे। तर उनले टाढैबाट ढुंगा हान्दा उनीहरु आगँनबाट भागे। नरवहादुरले एकोहोरो ढुंगा हान्दै र लेखट्दै घर पछाडिको गोठमा पुगे। त्यसवेला पुनः २ जना खुकुरी धारी पछाडि आँगनबाट नरबहादुर भएतिर आए। अनि नरवहादुरले भुईंबाट ढुंगा टिप्न निहुरिएको बेला १ जनाले खुकुरी टाढैबाट छोडुवा 
हाने। खुकुरी उनको दाहिने हातको कुइनामा लाग्यो र उनी रगताम्मे भएर ढले। उनी ढलेकै ठाउँमा ४–५ जनाले जीऊभरी लात्ती, खुकुरीको पाइटा र लठ्ठीले प्रहार गर्दै नरबहादुरलाई करिव १०–११ फीट अग्लो मलखातबाट तल्लोगराको मकैबारीमा हुत्याइदिए। उनी खस्दा उनलाई समाएको १ जना नकावधारी समेत तल उनीसँगै खस्यो । नरवहादुरले त्यसका नकाव खोल्न खोज्दा त्यसले “चुप” भन्दै मुक्का हान्यो भने माथि रहेको अर्को १ जनाले फेरी नरबहादुर लडेकै स्थानतर्फ लक्षित गर्दै माथिबाटै छोडुवा खुकुरी हान्यो। तर त्यो खुकुरीको प्रहार उनलाई लागेन। उनीहरुसँग भएका २ वटै खुकुरी नरबहादुरलाई हान्दा मकैबारीमा खसिसकेकोले उनीहरु हतियारविहीन भएर होला, सबैजना घरबाट पूर्वतर्फ पारिपट्टिको तोलीतर्फ भागे। सेते दमाईको छातीमा भने काँडेदार चक्कु रोपिएकै अवस्था थियो र उनी रगताम्मे भएर भित्रै ढलेका थिए। हतियारविहीन भएर हिंसक समूह भागी सकेपछि आफू खसेको मकैबारीमा उठेर घर पछाडिबाट आँगनतर्फ आउन लाग्दा नरबहादुरले बुबालाई छातिमा चक्कू रोपिएको अवस्थामा फेला पारेका थिए। भने महिला तथा बालबालिकाहरुको क्रन्दन बढिरहेको थियो।

 त्यो क्रन्दन र गुहारले गाउँले छिमेकीहरु जम्मा भए। त्यसपछि स्थानीयवासीहरुको सल्लाहबाट छिमेकी पदम रानाले सेते दमाईको छातिमा रोपिएको चक्कू झिके। गाउँलेहरु धेरै जम्मा भइसक्दा पनि हिंस्रक समूहबाट पुनःआक्रमण हुने डरले सो रात उपचार गर्न लैजाने कसैले आँट गर्नसकेन। तर राति ११ बजे १ घण्टाको दुरीमा रहेको नौमूले इलाका प्रहरी कार्यालयलाई खवर भयो। घटनाको खबर पाए पनि उक्त रात प्रहरी घटनास्थलमा आएन। विहान करिव साढे ८ बजे मात्र नौमुलेबाट आएको प्रहरी टोलीको संरक्षणमा २०६८ भदौ १४ गते विहान ९ बजेतिर गाउँबाट सेते दमाई बोकेर जिल्ला अस्पताल दैलेख लगियो। अस्पताल पुग्दा दिउँसो करिव २ बजेको थियो। जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि सेते दमाईलाई सुर्खेत क्षेत्रीय अस्पतालमा रिफर गरिएयो अनि जीप रिजर्व गरी साँझ ५ बजेतिर दैलेखबाट प्रस्थान गरी सोहीदिन साँझ ९ बजे मात्र घाईतेहरुलाई सुर्खेत क्षेत्रीय अस्पतालमा पु¥याएयो। तर पु¥याएलगतै सेतेदमाईको मृत्यू भएको भनी चिकित्सकहरुले घोषणा गरे। छोराले अन्तरजातीय विवाह गरेकै कारण सेते दमाईको हत्या भएको खवर देश–विदेशमा फैलियो । छापा र बिधुतीय संचार माध्यमहरुले धेरै महत्व दिएर हत्याको विषय उठाए। भदौ १५ गते दिनभर क्षेत्रीय अस्पताल सुर्खेतले लासको पोष्टमार्टम गरेन । अस्पतालले कहिले सुर्खेत प्रहरीमा जाहेरी दिनुपर्छ भन्यो त कहिले दैलेख प्रहरीको पत्र चाहिन्छ भनेर ढिलासुस्ती मात्र गरिरह्यो। यद्यपि दैलेख प्रहरीले सुर्खेत प्रहरीलाई पत्र लेखीसकेको थियो।

 स्थानीय छिमेकी रुपेश थापाले सेते दमाई र नरबहादुरको उपचारका लागि जिल्ला अस्पताल दैलेख र त्यहाँबाट सुर्खेत पु¥याउन त्यसपछि घरसम्म सेते दमाईको शव वाहनमा ल्याउन सक्दो सहयोग गरे। भदौ १६ गते साँझ सेते दमाईको लासलाई तामे खोला नजिक ल्याएर भोलिपल्ट भदौ १७ गते हिन्दू धर्म संस्कार अनुसार परिवारजनले दाहसंस्कार गरे। सेते दमाई बितिसकेको खवर पाउने वित्तिकै सन्तबहादुर दमाईले २०६८ भदौ १५ गते मुलुकी ऐन ज्यान सम्वन्धी महलको १३ (३) नं. बमोजिम हदैसम्मको सजाय गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्यज्यानको अपराध दर्ता गराए। सो जाहेरीका आधारमा हत्याका मुख्य योजनाकार बिन्दकला शाही, त्यस कार्यमा संलग्न जीवन शाही, कृष्ण खत्री, डिल्ली खत्री, सुभास के.सी. लगायतका ९ जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखले पुर्पक्षका लागि प्रहरी हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। 

अनुसन्धान गरि दैलेख जिल्ला अदालतले सेते दमाई हत्या घटनाका ओापीलाई जेल चलान गरेको छ ।जिल्ला न्यायाधीश रामकृष्ण भट्टको एकल इजलासले दैलेखको तोली गाविस वडा नं. २ धनीका सेते दमाई हत्या घटनाका ९ जना दोषी मध्ये मुख्य योजनाकार बिन्दकला शाही समेत ३ जनालाई आजन्म २०–२० वर्षको जेल सजाय सुनाएको हो ।फैसला अनुसार मुख्य योजनाकार बिन्दकला शाही, हत्या घटनामा खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई २०–२० वर्ष जेल सजाय भएको छ ।
फैसला अनुसार हत्या घटनामा प्रत्यक्ष सघाएका नावालक सुभाष केसी र डिल्ली खत्रीलाई १०–१० वर्ष, हत्या घटनाको सूचना सम्वाहक बनेका सेते दमाईको हत्या अघि पनि पटक–पटक परिवारलाई आफैले कुटपीट गर्ने गरेका तुलबहादुर चन्द, गणेशबहादुर सिंह,  मदनबहादुर शाहीलाई जनही ५–५ वर्ष जेल सजाय तोकिएको छ ।
सेते दमाईको परिवारलाई कुटपीट गर्ने काममा सहभागी भए पनि १४ वर्ष मुनिको नाबालक भएका कारण प्रेमबहादुर शाहीलाई चाहिं जम्मा अढाई वर्ष जेल सजाय दिने जिल्ला न्यायाधीश रामकृष्ण भट्टको फैसलामा भनिएको छ ।

No comments:

Post a Comment