चिसोमा कठ्यांग्रिँदै छाउपडी गोठमा

बाह्रबीस६ बासुरेमा महिनाबारी भएकी किशोरी खोलाको दूषित पानीमा नुहाइधुवाइ गर्दै। साथमा छाउपडी गोठ
बाजुरा : बाह्रबीस ५ बस्ने ३२ वर्षीया धनकला नेपाली महिनाबारी भएको आइतबार तीन दिन भयो। उनी अहिले घरनजिकैको सानो छाप्रो अर्थात छाउपडी गोठमा बसेकी छन्। जीउ ढाक्ने सामान्य कपडा र गोठको परालले मुटु कमाउने चिसोलाई छेक्न सकेको छैन। अत्यधिक चिसोमा छाउपडी गोठमा बस्नुपर्दा उनी बिरामी परेकी छन् । जाडो याममा धनकलाजस्ता थुप्रै किशोरी तथा महिलाले यहाँ महिनाबारीका बेला यस्तै कष्ट सामना गर्नुपर्छ। छाउपडीविरुद्ध अनेक अभियानको प्रचार गरिए पनि यहाँका महिलाले यसबाट कत्ति पनि मुक्ति पाएका छैनन्। छाउपडी गोठमा ओछ्याउने र ओडने 'छुई' हुन्छ (छोइन्छ) भनेर घरपरिवारले कपडा नदिने चलन छ। 
धनकलाले भनिन्, 'गोठमा एउटा पातलो कपडाको सहारामा पाँच दिनसम्म बस्नुपरेको छ।' आफूले यस्तो पीडा १५ वर्षको उमेरदेखि नै खेप्नुपरेको उनी बताउँछिन्।धनकलाले महिनाबारी भएको बेला घरभन्दा अलग्गै गोठमा बस्नुपर्ने समस्याले निकै सास्ती बेहोर्नुपर्छ। पाँच दिनसम्म घरबाहिर अलग्गै बस्नु, सार्वजनिक पानीपँधेरा प्रयोग गर्न नपाउनु, गोरस खान नपाउनु, फलफूलजन्य वनस्पति छोएमा कडा हप्की सहनुपर्ने अनि संयोगले कसैको शरीरमा छोइए पनि हप्की सुन्नुपर्नेजस्ता अनेक पीडा तथा यातना यो बेला महिलाले बेहोर्नुपर्छ।

उच्च भागमा हिमपात भएपछि छाउ भएका महिलाले निकै सास्ती बेहोर्नुपरेको छ। जिल्लाका दहकोट, बिच्छँया, रुगिन, साप्पाटा, छतारा, वाई, काँडालगायतका गाविसका महिलाले यस्तो समस्या भोग्नुपरेको महिला अधिकार मञ्चकी अध्यक्ष रु खमणि शाहले बताइन्। जिल्लामा केही दिनयता हिमपात सुरु भएपछि महिनाबारी भएकी महिलालाई झन् समस्या भएको हो।महिनाबारी भएको समयमा गोठमा बस्दा चिसोका कारण सन्चो नभएको जयवागेश्वरी ३ बस्ने पारू विकले बताइन्। उनले भनिन्, '१ साता पहिला छाउ भएकी थिएँ, गोठमा बस्दा बिरामी परें। अहिलेसम्म सन्चो भएको छैन।' ज्वरो आउने, पखाला लाग्नेजस्ता समस्या उनमा देखिएको छ। चिसोले सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङ, डोटीलगायतका महिलालाई महिनाबारी भएका बेला समस्या हुने गरेको छ।

अविवाहित महिलालाई रजस्वलाको अवधिमा झनै कडा नियम पालन गर्न लगाइन्छ। विवाहितले पाँच दिन टाढिए पुग्ने मान्यता अविवाहितका लागि भने सात् दिनसम्म लागू हुन्छ। छाउ भएका बेला घरमा बसे देवीदेवता रिसाउने अन्धविश्वास छ। गोरस खान पाउने कुरा त परै जाओस्, दुध दिने गाईभैंसी छोएमा पनि उनीहरूले खप्की सहनुपर्छ।छुई हुने मान्यताकै कारण महिनाबारी भएकी महिलालाई घरबाहिर एक्लै बस्नुपर्दा बलात्कृत हुनुपर्ने, जंगली जनावरको सिकार हुने, सर्पले टोक्ने गरेका घटना सार्वजनिक हुने गरेका छन्। दुर्गम तथा पछाडि पारिएको यहाँको समाजमा महिलामाथि हुने घरेलु हिंसाको नांगो रूप छाउपडी भएको संस्कृतिविद् कविराज शाहीले बताए।साभार :-अन्नपुर्ण

No comments:

Post a Comment