दलितहरूलाई उद्यमी बनायो भने जातीय विभेद हटाउन प्रभावकारी हुने

नेपालमा बङ्गुरपालन व्यवसायमा पौने ४ अर्ब रुपैयाँ लगानी भइसकेको तथ्याङ्क सार्वजनिक भएको छ । कुनै बेला दलित भनिने जातिले पालन गर्ने बङ्गुरले व्यावसायिकता समातेको यसले पुष्टि गरेको छ । यसबाट बङ्गुरलाई ती दलित भनिने जातिको आर्थिक उन्नतिको महत्वपूर्ण अंश बनाउन सकिने तथा सामाजिक विभेदीकरणलाई पनि कम गर्न यो सहयोगी हुने विश्वास गर्न सकिन्छ । ती समुदायमा बङ्गुरपालनसम्बन्धी पुख्र्यौली ज्ञान तथा अनुभवसमेत रहेकाले अन्य समुदायको तुलनामा उनीहरूले बढी लाभ प्राप्त गर्न सक्छन् । त्यसैले अछूत भनिएका समुदायको पुर्ख्यौली पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने देखिएको छ । आर्थिक विकासका कार्यक्रम सामाजिक रूपमा अनुकूल र स्वीकार्य पनि हुनुपर्नेमा अर्थशास्त्रीहरू सहमत छन् । त्यसो हुँदा दलितलाई उनीहरूले परम्परागत रूपमा गरिआएको पेशा गर्न प्रोत्साहित गर्नु सामाजिक रूपमा अनुकूल र स्वीकार्य दुवै हुन्छ ।
परम्परागत समाजमा सुँगुर/बङ्गुर पाल्ने, धातुका सामग्री निर्माण गर्ने, कपडा सिलाउने, जुत्ता सिलाउनेजस्ता काम गर्ने व्यक्तिलाई अछूतका रूपमा व्यवहार गरियो । यस्तो विभेद मानवताविरोधी अपराध नै हो । तर, आजको समाजमा कथित उपल्लो जातिका व्यक्तिले पनि व्यावसायिक रूपमा बङ्गुरपाल्ने, कपडा सिलाउने, धातुका सामग्री बनाउने, जुत्ता उत्पादन गर्नेजस्ता पेशा अँगालिरहेका छन् । यी पेशाबाट उक्त समुदायले पनि निकै राम्रो लाभ लिएका छन् । त्यसो हुँदा दलित समुदायले पनि आफ्ना पितापुर्खाले अँगालेको सो पेशालाई गर्वका साथ अँगाल्नुपर्छ, त्यो पेशामा भएको आफ्नो विशेषज्ञतालाई अझै तिखार्नु आवश्यक छ ।
उल्लिखित पेशा व्यवसाय गर्ने समुदायको पेशालाई थप व्यवस्थित, मर्यादित, आधुनिक र व्यावसायिक बनाउन राज्य र राज्यभित्रका सरोकारवाला निकायले सहयोग गर्नुपर्छ । परम्परादेखि नै अपनाएको पेशाको विस्तारका लागि थोरै प्रशिक्षण, तालीम, पूँजी र अन्य नीतिगत सहयोगले ठूलै लाभ प्राप्त गर्न सकिन्छ । राज्यले छुवाछूत र सामाजिक विभेद अन्त्यका लागि सैद्धान्तिक जनचेतना जगाउनुमा मात्रै ध्यान केन्द्रित नगरी यस्ता रचनात्मक उपाय पनि अवलम्बन गर्न सक्छ । ‘छुवाछूतको अन्त्य गरौं’ भनेर रेडियो, टेलिभिजन वा पत्रपत्रिकामा सूचना प्रकाशित/प्रसारित गर्नुको साटो त्यहाँ खर्च हुने पैसा दलितहरूलाई उद्यमी बनाउन प्रयोग गरियो भने जातीय विभेद हटाउन त्यो प्रभावकारी हुनेछ ।
साभार :- अभियान

No comments:

Post a Comment