डडेल्धुरा असिग्राम ९ का १५ परिवार मुक्त हलिया अहिले जंगलमा वास

माघ  ३ -डडेल्धुरा असिग्राम ९ का १५ परिवार मुक्त हलिया अहिले जंगलमा वास बस्छन् ।हलिया मुक्तिको घोषणापछि मालिकले आफना जग्गाबाट उठाएको र अरु जग्गाको ब्यवस्था नहुदा उनीहरु जंगलमा बसोबास गर्ने गरेका हुन् ।उनीहरुलाई ५ वर्षका लागि कबुलियती बनमा बस्न दिइएको छ । मुक्त हलिया राम दमाईकी श्रीमती तारा भन्नुभयो ‘सरकारले मुक्त गरेर बनबास पठायो ।’ कबुलियती वनमा घर बनाएपनि जीवन गुजारा गर्न समस्या भएको मुक्त हलिया परिवारकी पारुदेवी दमाई बताउनुहुन्छ । ‘१८ बर्षको छोरा विद्यालय पढाउन नसकेपछि भारत पसेको छ । आफ्नो जग्गा जमिन केही पनि छैन, कसैको काम समेत भनेको वेला पाइदैन’ उहाँले भन्नुभयो ।

मुक्त हलिया परिवारका महिलाहरु काम खोज्न डडेल्धुराका होटेल र पसलमा आउँछन् । ‘श्रीमानले घर बनाउने काम गर्नुहुन्छ, म ढुङ्गा बोक्न काठ ओसार्न जान्छु दुवैले काम पाए परिवारको लालन पालन हुन्छ तर सधै काम पाइदैन ताराले भन्नुभयो ‘हामीलाई काम देउ भन्दा पनि दिदैनन्, यस्तै हो भने भोकभोकै परिन्छ ।’सरकारले परिचयपत्र दिएपनि दैनिक गुजाराका लागि केही नगरेको मुक्त हलियाहरु बताउँछन् । असिग्राम गाविसमा कुनै पनि हलियाले परिचय पत्र नपाएको जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका कार्यक्रम संयोजक भीम कैनीले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयले मुक्त हलियाको रेकर्ड मन्त्रालयमा पठाएपनि शान्ति तथा पुनर्निर्माण मन्त्रालयले फाइल हराएकाले परिचयपत्र नपाएका उहाँको भनाई छ ।

No comments:

Post a Comment