छोराका आशामा ४० वर्ष भित्र ११ सन्तान

कालिकोट,२०७० माघ १० गते  । एक्काइसौं सताव्दिमा पनि नेपाली समाज कहाँ छ ? भन्ने कुरा कालिकोटको यो घटनाले पुष्टि गर्दछ ।परम्परागत सोचका कारण कालीकोटका ग्रामीण क्षेत्रमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले छोराको आशामा सन्तान जन्माउने क्रम बढ्दै गरेको छ । नौ छोरीको जन्म दिएकी लालपुरा टमट्टा अहिले ४० वर्षकी छिन् । १६ वर्षको उमेरमा बुबाले मागीविवाह गराएर विवाह बन्धनमा बााधिएकी फुकोट–९ बांखरकोटकी लालपुराका एक वर्षको अन्तरमा बच्चा जन्मिएको बताएकी छन् । छोराका आशामा उनले ४० वर्षभित्र ११ सन्तानलाई जन्म दिइन । दुई छोरी जेठी र कान्छीको जन्मँदा जन्मँदै मृत्यु भएको भए पनि उनका अहिले सातवटा छोरी, दुई छोरा गरी नौ सन्तान छन् । 

आम्दानीको स्रोत केही नभएका कारण पारिवारिक समस्या आउने गरे पनि जेनतेन समस्या समाधान गर्न धौधौ पर्ने गरेको परिवारको भनाई छ । घरको पारिवारिक समस्या समाधानका लागि लालपुराका श्रीमान् देवी टमटा बर्सेनि भारत जाने गरेका छन् । भारतमा गएर घरपरिवारलाई लत्ताकपडा ल्याउँदै ठिक्क हुने गरेको र घरको कमाइले खानसमेत समस्या पर्ने गरे पनि सात छोरीलाई पढाउन लगाएको लालपुराले बताइन् । 

जेठी छोरी दक्षिणा अहिले कक्षा ७ मा अध्ययन गर्दै छिन् । गाउँका विद्यालयमा त्यति धेरै खर्च नहुने बरु उल्टै छात्रावृत्ति मिल्ने भएकाले पढाउन समस्या नआउने लालपुराको भनाइ  छ । उनका अनुसार घरको सानोतिनो कामको पनि सघाउ पुग्ने र पढाइ पनि भइरहने भएकाले त्यति कठिनाइ नहुने र भोलिका दिनमा छोरीको जन्म भए पनि पराइघरमा जाने भएकाले अहिले दु:ख भए पनि भोलि दुई छोरा मात्र भएकाले सुखको आशा लिएको उनको भनाइ छ । 

No comments:

Post a Comment