राममती हरिजनको आठ दिनको नाबालक छोरा अस्पतालको बेडबाटै अपहरण

०७० माघ गते, रुपन्देही ।लुम्बिनी अञ्चल अस्पतालबाट पुस ३० गते बेलुका आठ दिनको एक शिशुको अपहरण भएको छ । कपिलवस्तु जिल्लाको विरपुर गाविस-, वुदखटेवाकी ३२ वर्षीया राममती हरिजनको आठ दिनको नाबालक छोरा अस्पतालको बेडबाटै अपहरण भएको प्रहरीले जनाएको छ ।
हरिजनले पुस २२ गते लुम्बिनी अञ्चल अस्पतालमा शल्यक्रिया गराई बच्चा जन्माएकी थिइन् । शल्यक्रिया गरेको घाउ सफा गर्न र टाँका खोल्न हरिजन दम्पति अस्पतालमा आएका थिए । बेडको नजिकै उभीएकी एक अपरिचित महिलाले खै बच्चा एक छिन मैले समातिदिन्छु भन्दै लिएपछि बच्चा गायब भएको पीडित हरिजन परिवारले बताएको छ  । घटना लगत्तै अस्पताल परिसरमा खटिएका प्रहरीलाई खबर गरिएको थियो ।

राममती टाका फुकाउन अञ्चल अस्पतालमा पति ३६ वर्षीय परमात्मासँगै आएकी थिइन्  । साझ ६ः१५ बजे पति बाहिर गएको समयमा बेड नजिकै उभिएकी एक मधेशी मुलकी अपरिचित महिलालाई शिशु समात्न लगाएर हरिजन टाँका फुकाउन प्रसुति वार्डमा गएकी थिइन् । त्यसबेला उनका पति परमात्मा पनि शौचालय गएका थिए । पत्नी उपचारबाट फर्किदा ती महिला र समात्न दिएको आफ्नो शिशु दुवैलाई भेटाइनन् । शिशु र महिलोको खोजी गर्दा कतै नभेटाएपछि उनी मुर्छित हुन पुगेकी थिइन् ।

अस्पतालमा खटिएका प्रहरी, कर्मचारी, नर्शहरू र पीडित परिवार समेतले रातभर खोजी गरे पनि शिशु र ती महिलाका बारेमा कुने सुराक पाउन सकेनन् । रामामतीको शिशु समात्ने महिलाले आफूले सासूआमाको खुट्टा भाँचिएर अस्पतालमा लिएर आएको र घर चन्द्रौटा भएको बताएकी थिइन् । सो कुराकानीपछि राममतीले पनि सहजै बच्चा समात्न दिएको बताइन् ।

उनीसँगैको बेडमा छोरीको उपचार गराइरहेकी अर्की महिला साईराम साहले राममती र शिशु समात्न माग्ने महिलाबीच १५/२० मिनेटसम्म कुराकानी भएको आफूले देखेको अस्पतालमा पुगेका पत्रकारहरूलाई बताइन् । ती महिलाले पहेंलो साडी लगाएको पनि उनले बताइन् ।

नेपाली भाषा बोल्न नजानेका कारण आफूलाई टाँका कहाँ फुकाउने हो भनेर  सोध्दा ती महिलालाई आफूले देखेको उनले बताईन । राममती र शिशु समात्ने ती महिला दुवैबीच आफ्नै भाषामा कुरा भएको थियो । उनीहरूबीच अबधी भाषामा कुरा भएको प्रत्यक्षदर्शी साहले बताइन् ।  राममतीले उनै साहलाई टाँका फुकाउने कहाँ हो भन्दै सोध्न आएकी थिईन ।

बेलुकापख प्रसुति वार्डमा मानिसहरूको चहल पहल कम हुने भएकाले सोही मौकामा शिशु चोरिएको हुन सक्ने अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. तारानाथ पौडेलले शिशुलाई शल्यक्रिया गरी निकालिएको र त्यही क्रममा आमालाई लगाइएको टाँका फुकाउन आउँदा यस्तो घटना भएको बताए ।

डा. पौडेलले बच्चा दिँदा नचिनेकालाई दिनु उनको पनि दोष भए पनि अब सबै मिलेर खोजी कार्यमा सघाउनु पर्ने बताए । पीडित राममतीले भने जस्तै अस्पतालमा चन्द्रौटा क्षेत्रबाट खुट्टा भाँचिएको बिरामी कोही पनि नआएको अस्पतालको रेकर्ड शाखाले बताएको छ ।विवाह भएको १६ वर्षपछि जन्मेको पहिलो बच्चा नै हराएपछि आफूले केही सोच्न नसकेको परमात्मा हरिजनले बताए।

यसैबीच, अस्पतालबाटै बच्चा अपहरण भएको घटनापछि प्रहरीले खोजीकार्य जारी राखेको बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलले घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको पनि जनाएको छ । अस्पतला परिसर र नजिकका गाउँ तथा सम्भावित स्थानहरूमा प्रहरीको टोली खटाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।अस्पतालमा प्रहरी हवल्दारको नेतृत्वमा एक टोली चौबीसै घण्टा ड्यूटीमा खटाइएको छ । अस्पताल अव्यवस्थित र असुरक्षित भएको गुनासो व्यापक भए पनि त्यसको सुधारका पहलहरू प्रभाबकारी भएका छैनन् ।

No comments:

Post a Comment