व्यवस्थापन नहुँदा पुनःहलिया बस्न बाध्य

कर्ण चन्द÷नयाँ पत्रिका
डोटी, २८ पुस
मुक्त घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि पुनस्र्थापना हुन नसक्दा हलिया फेरि पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । सरकारले मुक्त गरे पनि हलियालाई साँझ–बिहानको छाक टार्न समस्या भएपछि पुनः मालिकको घरमा हलो जोत्न बाध्य भएका हुन । तीन पुस्तादेखि स्थानीय साउद परिवारको हलो जोत्दै आएका डोटी कलेना–३ का मुक्त हलिया जूनकिडो कामी फेरि पुरानै काममा फर्किएका छन। उनले भने,‘पाचँ छोरा तीन छोरी गरी १० जनाको परिवार छ, आफ्नो जमिन छैन, खान नपुगेपछि अहिले पनि मालिकको घरमा हलो जोत्छु ।’ सरकारले मुक्त गरेर मात्रै नहुने भन्दै जुनकिडोकी पत्नी खिन्तु कामीले गाँस, बास र कपासको ग्यारेन्टी गर्नुपर्ने बताइन् । मुक्त हलिया जुनकिडो १० जनाको परिवार अहिले छिमेकीको घरमा बस्दै आएको छ । गत वर्षको बर्खामा घर भत्किएपछि जुनकिडोको परिवार बिचल्लीमा परेको छ ।
दिनभरि हलो जोतेबापत् जुनकिडोले चार माना कोदो तथा धान पाउने गरेका छन् । कलेना–३ कामीटोलकी ६७ वर्षीया माता कामीको गत वर्षको वर्खामा घर चर्किएको छ । घर कतिवेला भत्कने हो ठेगाना छैन । विकल्प नभएपछि ज्यान जोखिममा राखेर तीन नाति–नातिना र बुहारी गरी पाँचजनाको परिवार सो घरमा बस्दै आएको उनले बताइन् । उनको एकमात्र छोरा भारतमा मजदुरी गर्ने गर्छन । मुक्त हलियालाई पुनस्र्थापना गर्न नसक्दा धेरै कामका लागी भारत जाने गरेका छन् । मालिकको घरमा जोतेरै भए पनि एकछाक त टरेको थियो, सरकारले मुक्तिको घोषणा गरेपछि त्यो पनि बन्द भयो श्रीमान् तथा छोराले मुग्लान जानुको विकल्पकै रहेन, मुडभरा–२ की राइमती सार्कीले बताइन् । उनका श्रीमान् नरबहादुर सार्की यतिवेला मजदुरीका लागी भारत छन् ।
सुदूरपश्चिमका ९ र मध्यपश्चिमका तीन गरी १२ जिल्लामा १८ हजार ६९ र डोटीमा एक हजार आठ सय २१ मुक्त हलिया रहेको सरकारी तथ्यांकमा छ । मुक्त हलियाको अवस्थाअनुसार चार प्रकारका मुक्त हलिया परिचयपत्र वितरण गरिएको छ । घरजग्गा केही नभएकालाई ‘क’, घर भएका जग्गा नभएकालाई ‘ख’, जग्गा भएका घर नभएकालाई ‘ग’, र घरजग्गा दुवै भएका मुक्त हलियालाई ‘घ’, वर्गको परिचयपत्र वितरण गरिएको राष्ट्यि हलिया मुक्ति समाज डोटीका संयोजक गोरखबहादुर सार्कीले बताए ।
(स्रोतः नयाँ पत्रिका दैनिक)

No comments:

Post a Comment