नेपाली थर लेखेकै कारण भत्ता रोकिँदा दलित वृद्धावृद्धा भोकभोकै

टेकेन्द्र बस्याल-कोहलपुर,माघ १२ ।
नागरिकतामा नेपाली थर लेखेकै कारण गाविस कार्यालयले प्रदान गर्ने वृद्ध भत्ता रोकिएपछि नौवस्ता–२ का अशक्त दुई वृद्धवृद्धा भोक भोकै बस्न बाध्य छन् । गत आर्थिक बर्ष २०६९।०७० को वैशाख महिनादेखि नौवस्ता गाविस कार्यालयले नेपाली थर लेखेका दलित भित्र नपर्ने भन्दै वृद्ध भत्ता रोकेपछि ६२ बर्षीय सितला र ६५ बर्षीय प्रित नेपालीको भोक भोकै दिन काट्नुपर्ने अवस्था सुरु भएको छ ।श्रीमान श्रीमतीको आर्थिक आम्दानीको श्रोत वृद्ध भत्ता रोकिएपछि नेपाली परिवारलाई रोजीरोटी जुटाउन धौ धौ भईरहेको छ । सितला र प्रित शारिरीक रुपमा अशक्त र मजदुरी गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनीहरुका ११ बर्षीय छोरी सलानी अपाङ्ग छिन् भने १४ बर्षीय छोरा भारततिर मजदुरी गर्न हिँडेका छन् ।

‘गत बर्षको बैशाख महिनासम्म मासिक भत्ता पाँच सय रुपैँया दरले दुई जनाको एक हजार घर खर्च चल्थ्यो,’ सितला नेपालीले भनिन्,‘ भत्ता रोकिएपछि घरमा बुढाबुढी मात्र नभई छोराछोरीको विचल्ली भयो ।’ विद्यालयमा किताव, कलम, ड्रेस किन्ने पैसा नहुँदा कक्षा ९ मा अध्ययन गर्ने छोरा विशाल भागेर भारततिर कमाउन हिँडेको उनले बताईन् । सामाजिक सुुरक्षा भत्ता रोकिएपछि उनीहरुले छोरी सलानीलाई समेत राम्रोसित पालनपोषण र खानपिनमा ध्यान दिन सकेका छैनन् ।
 
सितलाले एक बर्षदेखि र प्रित नेपालीले नौवस्ता गाविस कार्यालयबाट चार बर्षदेखि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । ‘बर्षमा बुढाबुढीको भत्ता १२ हजार रुपैँया पाउँदा घरखर्च जुटाउन राहात मिलेको थियो,’ सितलाले नागरिकसंग भनिन्,‘अहिले पैसा नभएर भोकभोकै बस्नुपर्ने भयो ।’ सासु ससुराको नागरिकतामा विक थर भएपनि नजानेर नेपाली थर लेखिँदा भत्ता रोकिएको उनीहरुले बताए । चार कठ्ठा ऐलानी जग्गामा बस्दै आएका उनीहरुको आर्यआजर्नको अन्य श्रोत छैन् । भत्ता रोकिएपछि नेपाली परिवारले एक बर्षयता राम्रो संग साँझ विहानको छाक जुटाउन सकेको छैन् ।
 
उनीहरु आर्थिक जोह गर्न मजदुरीमा गर्न सक्ने अवस्था पनि छैन् । गाविस कार्यालयले नेपाली बाहुन भन्दै रकम रोकेको प्रित नेपालीले भने । वृद्ध भत्ता रोकिए यता घरको खर्च जुटाउँन १४ हजार ऋण लागेको छ । ऋण कसरी जुटाउने चिन्ता लाग्ने गर्छ सितलाले चिन्ता व्यक्त गरिन् । जाजरकोट कोताङ्बाट २०५५ सालमा नेपाली परिवार नौवस्तामा आएर बस्दै आएका छन् । श्रीमान प्रित नेपाली पनि अशक्त हुँदै गएपछि मजदुरी गरेर पैसा कमाउने बाटो हराएको छ ।आर्थिक अभावमा घरको छानोबाट पनि बर्षातमा पानी चुईने गरेको छ । उनीहरुले सामाजिक सुरक्षा भत्ताका लागि गाविस कार्यालय र विभिन्न सामाजिक संघसस्थामा सहयोग गरिदिन गुहार्दै आएका छन् । जिल्लाका अन्य गाविस कार्यालयले नेपाली थर लेखेका दलितलाई तीन पुस्ते हेरी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएका छन् ।
साभार :-जागरण मिडिया

No comments:

Post a Comment