सभासद् पक्का भएपछि मात्र दलित आयोगबाट राजीनामा

काठमाडौं,२०७० पुस १८ : एमाओवादीको समानुपातिक बन्दसूचीमा रहेका शम्भु पासवान हजारीले सभासद् बन्ने निश्चित भएपछि मात्र राष्ट्रिय दलित आयोगको सदस्यबाट राजीनामा दिएका छन्। सभासद् हुने निश्चित भएपछि गत असोज १७ गतेको मिति राखिएको राजीनामापत्र पुस १४ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुगेको छ।

एमाओवादीले समानुपातिक सभासद्को सूची आइतबार निर्वाचन आयोगमा बुझाएको थियो। बन्दसूचीमा परेलगत्तै उनले राजीनामा दिनुर्थ्यो । उनको राजीनामा स्वीकृत भइसकेको छैन। यस विषयमा बुझ्न खोज्दा हजारीले राजीनामापत्र बुझाएको मात्र बताए। उनले राजीनामाको मितिका विषयमा प्रश्न गर्दा जबाफै नदिई फोन काटिदिए र अर्कोपटक सम्पर्क गर्दा मोबाइलको स्विच अफ गरिएको थियो।मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले हजारीको राजीनामापत्र मंसिर १४ गते मात्रै आइपुगेको पुष्टि गरे। दलित आयोगका पदाधिकारीको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने भएकाले हजारीको राजीनामा पनि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइने थपलियाले बताए।

यसबाट राजीनामापत्र खल्तीमा राखेर हिँडेका हजारीले सभासद् हुने पक्का भएपछि मात्र सरकारी पदबाट राजीनामा मन्त्रालयमा पत्र बुझाएको बुझिन्छ। आयोगमा रहेको उनको नेमप्लेट पनि बुधबार हटाइएको थियो।यसबारे सम्पर्क गर्दा एमाओवादी केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेले भने, 'मैले उहाँ (हजारी) लाई समानुपातिक बन्दसूचीमा परेपछि असोजमै राजीनामा दिन भनेको थिएँ। यसबाहेक अरू उहाँसँगै बुझ्नुपर्छ।' उनले यसबारे कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने पनि बताए।

बन्दसूचीमा परेलगत्तै हजारीले दलित आयोगबाट राजीनामा नदिएको विषयमा आयोगमा उजुरी परेमा सभासद् पद खारेज हुने निर्वाचन आयोगकी आयुक्त इला शर्माले बताइन्।साभार :- अन्नपुर्ण पोस्ट

No comments:

Post a Comment