बिहे गर्छु भन्दै वर्षौंसम्म यौनशोषण गरि वेश्यालयमा बिक्री


रामहरि गजुरेल,नुवाकोट-‘बिहे गर्छु भन्दै वर्षौंसम्म यौनशोषण गर्यो, आखिर कोठीमा लगेर बेच्यो’ –दुई वर्षअघि दलालको फन्दामा पर्दा भारतको वेश्यालयमा बेचिएर फर्केकी एक दलित महिलाले बुधबार सदरमुकाम विदुरमा आफूले भोगेको नारकीय जीवनको दुःखान्त वेदना यसरी पोखिन्।‘श्रीमान् विदेश गएको मौका छोपेर देखावटी सहयोग गर्दै मलाई झुटो मायाजालमा फसायो’, सुन्दरादेवी गाविस वडा नं. १ नौबीसे गाउँकी फूलमाया नेपाली (नाम परिवर्तन) ले आफू बेचिएको घटना बेलिविस्तार गर्दै भनिन्– ‘पैसाका लागि उसले ममाथि दलाली गरेर मेरो परिवार नै बिचल्ली बनाएर छोड्यो।’


गाउँकै छिमेकी युवा बुद्धिबहादुर तामाङले फूलमायालाई दुई वर्षअघि भारतको पुनामा पुर्याएर बिक्री गरेका थिए। त्यसबखत उनका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा अरबमा मजदुरी गर्दै थिए। गरिबीका कारण श्रीमान् बिदेसिएपछि तामाङले दुई नाबालक छोरा र एक छोरीकी आमा फूलमायालाई उपचार गर्न ल्याउने र अन्य सहयोगीका रूपमा हिमचिम बढाएका थिए।श्रीमान् बिदेसिएदेखि नै विभिन्न आर्थिक प्रलोभन र समाजमा देखावटी सहयोगी बनेर बेच्ने योजना बुन्दै आएका बुद्धिबहादुरले २०६८ सालको कात्तिक २७ गते उनलाई भारतमा बिक्री गरेका हुन्। ‘मेरो श्रीमान् विदेश गएपछि मलाई हेरविचार गर्ने तथा उपचार गर्न लैजाने र घरायसी काममा सहयोग गरिरहन्थ्यो’, फूलमायाले भनिन्– ‘सहयोगीका रूपमा विश्वास गर्दा कोठीमा दुई वर्ष नारकीय जीवन भोग्नुपर्यो।’ सधैंजसो बजार जाने र घरमा पनि अनेक बहानामा आफूलाई बुद्धिबहादुरले यौनशोषण गर्ने गरेको पनि उनले बताइन्। पहिलेदेखि नै चिनजान भएका बुद्धिबहादुरले भारत पुर्याउन चार महिनाअघिदेखि पटकपटक फोन गर्ने र श्रीमान् नभएको समयमा गर्ने घरायसी सहयोगबाट आफूलाई फसाएको फूलमायाको दाबी छ।


तिम्रो श्रीमान्ले विदेश गएपछि तिमीलाई बिर्सिसक्यो, अब म तिमीलाई बिहे गर्छु भन्थ्यो’, उनले भनिन्– ‘बिहेकै लागि पोखरा जाने भन्दै अर्कैको साथमा उसले पठाइदिएपछि दलालको फन्दामा परें।’ उनलाई शिखरवेसीका विशाल तामाङले पोखराको एक घरमा पुर्याएका थिए। पोखरा पुर्याएपछि फूलमायाको साथमा जाने विशाल बजारमा किनमेल गर्न जान्छु भनेर भागेका थिए। ‘यहाँ गाउँलेले थाहा पाउँछन् पोखरा जाने अनि विवाह गर्ने भनेको थियो।’ –उनले भनिन्। पोखराको एक घरमा पुर्याएपछि त्यहाँ भएकी एक महिलाले घुम्न जाने भन्दै भारतको पुणेस्थित कोठीमा पुर्याएपछि आफू बेचिएको थाहा भएको फूलमायाले बताइन्। बेचिएको दुई वर्षपछि किनमेल गर्न जाने बहानामा एक नेपाली महिलाको सहयोगमा कोठीबाट भागेर आउन सफल भएको उनले बताइन्।

नुवाकोट फर्केलगत्तै पीडित महिलाले गत पुस २३ गते प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी दिएको भोलिपल्ट प्रहरीले बुद्धिबहादुरलाई पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा जिउ मास्ने बेच्ने ऐनअन्र्तगत प्रहरीले मुद्दा दायर गरिसकेको छ। दोषीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएसँगै मुद्दा फिर्ता लिन पैसाको प्रलोभन देखाएको र त्यसपछि पनि नमानेमा पीडित महिलालाई अपहरण गरी ज्यान मार्ने धक्की आइरहेको बुधबार पीडित परिवारले सञ्चारकर्मीसामु जानकारी दिएका छन्। मुद्दा फिर्ता लिन भन्दै फकाउन दिइएका रक्सी र अन्य कोसेलीलगायतका सामग्रीहरूसमेत पीडित पक्षले प्रहरीसामु बुझाएका छन्।भारतबाट फर्किएर आएपछि मुद्दा दायर गरेकी फूलमायालाई मुद्दा फिर्ता लिनका लागि कोसेली र नगद चार लाख रुपियाँ दिने लोभमा बुद्धिबहादुरकी श्रीमती पम्फाकुमारीले माइती पक्षलाई दबाब दिइरहेको बताइएको छ।
SOURCE:- नेपाल समाचार पत्र

No comments:

Post a Comment