गर्भ बोकाएर प्रेमी भागेपछि मोरङकी एक दलित किशोरी बिचल्लीमा

गणेश लम्साल/नयाँ पत्रिका-विराटनगर, ६ माघ- गर्भ बोकाएर प्रेमी भागेपछि मोरङकी एक दलित किशोरी बिचल्लीमा परेकी छिन् । मोरङ याङशिला–८ सतिसाले घर भएका १७ वर्षीय रवीन लिम्बू सात महिनाकी गर्भवती किशोरीलाई छाडेर बेपत्ता भएका हुन् । प्रेमी भागेपछि र दलित भएकै कारण उनीहरूबीचको प्रेमसम्बन्धलाई घरपरिवारले अस्वीकार गर्दा १५ वर्षीया किशोरी बिचल्लीमा परेकी हुन् ।
किशोरीले आफूलाई गर्भ बोकाउने रवीन भएको बताए पनि रवीनको घरपरिवारले दलित युवतीलाई स्विकार्न चाहेको छैन । अहिले ती युवती गाउँमा सात महिनाको गर्भ बोकेर मानसिक र शारीरिक पीडा सहेर बस्न बाध्य भएकी छन् ।
माइतीले इज्जत फालेको भनेर नहेर्दा र प्रेम गर्ने युवकको परिवारले स्विकार्न नमान्दा उनको गर्भको बच्चाको राम्रो हेरचाह हुन सकेको छैन । प्रेम गर्दा जीवनभरि साथ दिन्छु भन्ने प्रेमीले छोडेर भागेपछि उल्टै मानसिक समस्यासमेत खप्नुपरेकाले युवती विक्षिप्त बनेकी छन् ।
किशोरीका अनुसार एउटै विद्यालयमा पढ्दै आएका रवीनले विवाह गर्छु भन्दै प्रेम गर्दै आएका थिए । गत वैशाखमा उनीहरू बीच शारीरिक सम्बन्ध भएपछि ती दलित किशोरीको पेटमा लिम्बूको गर्भ बसेको थियो । तर, पौष्टिक आहार सेवन गनुपर्ने वेला यसरी बिहे गर्छु भन्नेले नै धोका दिएपछि किशोरीको शारीरिक अवस्था कमजोर भएको र भविष्यसमेत  ‘घरको न घाटको’ भएको स्थानीय समाजसेवी हरिमाया पराजुलीले जानकारी गराइन् ।
गर्भ बसेको थाहा पाएपछि लिम्बूले बिहे गर्ने आश्वासन दिँदै आएका थिए । त्यहीबीचमा फकाएर उनले किशोरीको गर्भपतन गराउने प्रयास पनि गरेका थिए । तर, स्थानीय मेडिकलले गर्भपतन गर्न अस्वीकार गरेपछि इज्जत जाने डरले लिम्बू फरार भएको पीडित किशोरीले बताइन् । उनले भनिन्, ‘मैले आफू सानो जातको हुँ, समाजले हाम्रो बिहे पचाउँदैन भन्दा उसले जस्तो परिआए पनि साथ छाड्दिनँ भनेर कसम खाएपछि म विश्वासमा पर्दा यो अवस्थामा पुगेँ ।’  किशोरीले आफूलाई न्याय दिलाउन सरकार, महिला अधिकारकर्मी र दलित संघसंस्थासँग आग्रह गरेकी छिन् ।
किशोरी निर्दोष भएकाले लिम्बू परिवारलाई स्विकार्न लगाउन दुईपटकसम्म गाउँमा छलफल भएको थियो । छलफलमा १५ दिनभित्र प्रेमीलाई घरमा झिकाउने सहमति बने पनि लिम्बू परिवारले बेवास्ता गरेको किशोरीले बताइन् । आफूहरूसमेत अर्काको घरमा बस्दै आएकाले निकालिने डरले दलित किशोरीलाई बुहारी बनाएर भित्र्याउन नसकेको रवीनकी आमा आशमती लिम्बूले बताइन् । किशोरीले घर भित्रिन नपाएपछि दलित समुदायले न्याय माग्दै उजुरी दर्ता गराएका छन् । इप्रका केराबारीका सई अनिरुद्ध्र भुजेलले आइतबार दुवैपक्ष बीच बुधबारसम्म रवीन लिम्बूलाई खोजेर ल्याउने सहमति भएको बताए ।

No comments:

Post a Comment