शान्ति, लोकतन्त्र र समावेशिता विषयक ३ दिने पत्रकारिता तालिम

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
माघ १६, भैरहवा ।
जागरण मिडिया सेन्टरको आयोजनामा संविधान निर्माण प्रक्रियामार्फत शान्ति, लोकतन्त्र र समावेशिता विषयक ३ दिने पत्रकारिता तालिम भैरहवामा सञ्चालन भइरहेको छ । स्थानीय अग्रसरताका लागि क्यानडा कोषको सहयोगमा जागरण मिडिया सेन्टरले आयोजना गरेको सो तालिममा नवलपरासी, कपिलवस्तु र रुपन्देहीका ५० जना सक्रिय पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको दोश्रो दिन आज प्रशिक्षक रघु मैनालीले प्रभावकारी सञ्चार, द्वन्द्व रुपान्तरणका लागि पत्रकारिता विषयमा प्रशिक्षण दिनुभएको छ । यस्तै आज नै लैंगीक सचेतना विषयमा सञ्चारकर्मी आरती चटौतले प्रशिक्षण दिनुभयो । यसअघि हिजो नेपाल पत्रकार महासंघका पूर्व सदस्य एवम् रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले दलित समुदायका अधिकार सुनिश्चितता एवम् दलित समुदायका सरोकारका सवालहरुलाई आम सञ्चारले खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पार्नुभएको थियो । पूर्व सभासद समेत रहनुभएका उहाँले अघिल्लो संविधान सभाले दलित समुदायका विषयमा सहमति जुटाएका विषयहरु बारे जानकारी पनि गराउनुभयो ।
त्यस्तै अनुसन्धाता जे.वि.विश्वकर्माले सामाजिक समावेशीकरण र दलित मुद्दामा आमसञ्चार माध्यम विषयमा प्रशिक्षण दिनुभएको थियो । सो क्रममा नेपाली सञ्चारमाध्यममा दलित सम्बन्धी समाचारहरु कुन रुपमा आइरहेका छन् र अब कसरी लेखिनुपर्छ भन्ने विषयमा पनि उहाँले जानकारी गराउनुभयो ।तालिमले लैंगिक र जातीय विभेदकाका विषयमा समाचार तयार गर्दा के कस्ता कुराहरुमा ध्यान दिनुपर्छ भन्ने विषयमा निक्कै नै उपलब्धीमुलक जानकारी प्रदान गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । आफुहरुले दलित, महिला लगायतका विषयमा दिनहुँ जसो समाचार लेख्ने भएपनि धेरै कुरामा ध्यान दिन नसकेको महसुस तालिमले गराएको उनीहरुको प्रतिक्रिया थियो । साथै अब यस्ता विषयलाई अझै महत्वका साथ उठाउने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् ।
 जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले संविधान निर्माण प्रक्रियामा दलित, तथा अन्य सिमान्तकृत समुदायको सरोकारका विषयहरुलाई र नेपाली आम सञ्चारलाई अझ बढी समावेशी बनाउनका लागि सघाउ पुग्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । त्यस्ता विषयमा समाचार तयार गर्दा अझ बढी संवेदनशीलता अपनाउन यो तालिमले सघाउ पुर्याउने उहाँको विश्वास थियो । साथै सहभागी पत्रकारले तालिम पश्चात संविधान निर्माण प्रक्रियालाई ध्यानमा राखेर विभिन्न समाचार सामग्रीमार्फत दलित, महिला, सीमान्तकृत समुदाय आदिको मुद्दा उठाउनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।साभार :-जागरण मिडिया

No comments:

Post a Comment