दलित आमाको कोखबाट जन्मेका छोराले पिताको काजकिरियाका लागि पुरोहित पाए

पुरोहित गौतम सहित किरियापुत्री जीवन र नगेन्द्र भट्टराई ।
झापा : झापा गोल्धाप ४ का पुरोहित दयाराम गौतम काजकिरिया गर्न आउन थालेपछि गरामनि ६ का भट्टराई परिवारलाई राहत मिलेको छ।बाबु रामकुमार भट्टराईको मृत्यु भएको पाँच दिनसम्म छोराहरू जीवन र नगेन्द्रले काजकिरिया गर्न पाएका थिएनन्।

रामकुमारको गत सोमबार मृत्यु भएको थियो। उनका माहिला छोरा नगेन्द्र दलित आमाको कोखबाट जन्मेका छोरा भएको भन्दै पुरोहितहरू काजकिरियाका लागि आएका थिएनन्। तर नगेन्द्रलाई नै आफ्नी वास्तविक आमा को थिइन् भन्ने थाहा छैन। उनलाई उनकी जेठी आमाले पाँच वर्षको उमेरदेखि नै पालनपोषण गर्दै आएकी थिइन्।

छुवाछूत प्रथा कानुनको अपहेलना भएका कारण त्यसको परवाह नगरी भट्टराई परिवारको आग्रहमा काजकिरियाका लागि आफू राजी भएको पुरोहित गौतमले बताए। गौतमले भने, ‘मलाई केही भन्ला कि भन्ने डर छैन। त्यसैले म काजकिरिया गराउन आएकोहुँ।’ ६० वर्षका उनी एक घन्टा साइकल चढेर दैनिक काजकिरिया गराउन त्यहाँ आउँछन्। उनलाई बोलाउन मृतक रामकुमारका साला जगदीश चौहान गोल्धाप गएका थिए।

गौतमका अनुसार पाँच दिनसम्मको कर्म एकैदिन छैटौं दिन गरिएको र अन्य कर्म नियमित गरिने बताए। स्थानीय ८४ वर्षीय ध्रुवलाल पौडेलका अनुसार अब काजकिरियाका लागि सहज भएको छ। उनले भने, ‘अब कुनै बाधा आइनपर्ला।’ काजकिरियामा वाचन गरिने गरुड पुराण पनि आइतबारबाट सुरु हुने पौडेलले जानकारी दिए।
-साभार : अन्नपुर्ण 

No comments:

Post a Comment