उज्ज्वल सुन्दास प्रबन्ध निर्देशक, समता फाउण्डेशन |
पिरिसर्च (अनुसन्धान) केका लागि गरिन्छ ?
कुनै पनि विषयमा नयाँ ज्ञान हासिल गर्ने उद्देश्यले गरिने अध्ययन वा खोज नै रिसर्च हो । विशेषगरी मानिस, परम्परा, समाज, कला, पेशा र संस्कृतिलगायत विषय यसमा समेटिन्छन् । कुनै तथ्यको पुष्टि गर्न, पुराना नतीजाको परीक्षण, विद्यमान समस्याको निवारण र सिद्धान्तको अवधारणा वा नयाँ सिद्धान्तको प्रतिपादनका लागि अनुसन्धान गरिन्छ । हाम्रो संस्थाले दलित र पिछडिएका वर्गका बारेमा रिसर्च गर्दै आएको छ । यसको मूल उद्देश्य दलितको उत्थानमा सहयोगी नीतिनियम बनाउन सरोकारवालालाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउनु हो । रिसर्चका माध्यमले तिनलाई तथ्यपरक जानकारी मिल्दछ, जसका कारण जनपक्षीय नियमकानून बनाउन सहयोग पुग्दछ ।
नेपालमा रिसर्चका लागि आवश्यक जनशक्ति उत्पादनको अवस्था कस्तो छ ?
रिसर्च कार्यकै लागि भनी जनशक्ति उत्पादन गर्ने परिपाटी हाम्रो देशमा बनी नसकेको अवस्था छ । विषयगत रूपमा समेत रिसर्च विषयमा स्पेशलाइजेशन (विशेषज्ञ) कोर्स सञ्चालन भएको विरलै भएको पाइन्छ । त्यसैगरी नेपालका ठूला औद्योगिक घराना तथा सङ्घसंस्थाले समेत रिसर्च कार्य तथा रिसर्चरलाई ठूलो महत्व दिएको पाइँदैन । यसो हुनाले राम्रा रिसर्चरलाई प्रोत्साहनको अभाव छ । कतिपय दक्ष रिसर्चर अवसरको खोजीमा विदेशिने समेत गरेका छन् । यसले देशलाई ठूलो घाटा पुर्याइरहेको तथ्य समयमै बुझ्नु जरुरी छ । रिसर्चर देशका बौद्धिक सम्पत्तिसमेत हुन् । देश विकासमा राम्रा रिसर्चर तथा उनीहरूका रिसर्च कार्यले ठूलो योगदान पुर्याउने क्षमता राख्दछ । त्यसैले, उनीहरूलाई प्रोत्साहन गर्नु, क्षमता तथा सङ्ख्यात्मक रूपमा वृद्धिका लागि आवश्यक पहल गर्नु आजको आवश्यकता हो ।
सफल रिसर्चर बन्न पहिले त स्वतःस्फूर्त रूपमा यस विषयप्रति अभिरुचि हुनु आवश्यक छ । कुनै रिसर्च छोटो अवधिको हुन्छ भने कुनैका लागि निकै लामो समय खर्चिनुपर्ने पनि हुन्छ । आवश्यक जानकारी तथा सूचना बटुल्न कडा परिश्रम तथा मेहनतसमेत आवश्यक हुन्छ । यसैगरी आफूले रिसर्च गर्न लागेको विषयबारे आवश्यक ज्ञान हुनु पनि त्यत्तिकै जरुरी छ । ज्ञान अपुग भएमा रिसर्चरको सफलता असम्भवप्रायः हुन्छ । यसैले कुनै विषयमा रिसर्च गर्नु छ भने त्यस विषयमा आफूमा पर्याप्त ज्ञान नभएमा सो विषयमा गहन अध्ययन गर्नुपर्ने हुन्छ । त्यसका लागि सन्दर्भ सामग्री प्रर्याप्त मात्रामा उपलब्ध हुनु पनि जरुरी छ । अहिले विज्ञानप्रविधिको युग हो । यसकारण रिसर्चका लागि प्रविधिसम्बन्धी ज्ञान पनि हुनुपर्छ । यसले एउटा रिसर्चरलाई आफ्नो कार्यसम्पादन छिटोछरितो रूपमा गर्न र सम्भावित गल्तीकमजोरी हुनबाट समेत जोगाउँछ ।
यस क्षेत्रमा कार्य गर्न कस्तो शैक्षिक योग्यताको आवश्यकता पर्छ ?
रिसर्च कार्यमा विभिन्न चरण हुन्छन् । सामान्यतया सहयोगी भूमिका (एसिष्टेण्ट)का लागि कर्मचारी राख्दा १० जोड २ तहसम्म अध्ययन गरेका व्यक्ति योग्य हुन सक्छन् । यसैगरी कामको प्रकृतिअनुसार वरिष्ठ कर्मचारीका लागि भने माष्टर्स वा पीएचडीसम्मको अध्ययन भएका व्यक्तिको आवश्यकता पर्दछ ।
आवश्यक जनशक्ति अभाव हुँदा तपाईंहरू त्यसको परिपूर्ति कसरी गर्नुहुन्छ ?
रिसर्चमा आवश्यक जनशक्तिका लागि हामी हाम्रो संस्थामै कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिन्छौं । उनीहरूलाई चाहिने ज्ञान, शीप अभिवृद्धिका लागि आवश्यक कार्य गर्दछौं । यसको आशय आफ्नै संस्थामा कार्यरत कर्मचारी रिसर्चर बनून् भन्ने पनि हो । तर, कुनै अवस्थामा आवश्यकताअनुसार जनशक्ति अभाव भएमा हामी पदपूर्तिका लागि निवेदनको माग गर्छौं । र, कर्मचारी छनोट प्रक्रियामा योग्य तथा उपयुक्त जनशक्ति छान्ने कार्य गरिन्छ ।
जागीरका लागि निवेदन माग गर्दा केकस्ता विषयमा ध्यान दिनु जरुरी छ ?
निवेदन माग गर्दा आफ्नो कार्यालयको आवश्यकता स्पष्ट किटान गर्नुपर्छ । निवेदकमा हुनुपर्ने कार्यकौशल, शीप, शैक्षिक योग्यता, कामको प्रवृत्तिलगायत विषयमा स्पष्ट खुलाउनुपर्छ । यसो भएमा अनावश्यक निवेदनमा कमी आउन सक्छ । साथै, निवेदकले पनि आफ्नो योग्यता तथा कामका लागि चाहिने योग्यता पुगेको अवस्थामा मात्र निवेदन दिने गर्नुपर्छ । स्वाभाविक रूपमा रोजगारीको अवसर कम रहेको अवस्थामा आवश्यकताभन्दा बढी नै निवेदन पर्छन् । यतिबेला नेपालमा बढ्दो शैक्षिक संस्थासँगै योग्य जनशक्ति पनि तीव्र गतिमा बढिरहेका छन् । तर, उत्पादित जनशक्तिका लागि अवसरको सृजनामा भने हामी पछिपरेका छौं । यसकारण युवा जमात तनावमा समेत छ । यो परिस्थितिको समाधानका लागि देशमा रोजगारीका पर्याप्त अवसर सृजना गर्नु आवश्यक छ । रिसर्च नै रोजगारी सृजनाको बलियो आधार हो ।
फाउण्डेशनको भविष्यका योजना केके छन् ?
विगत ५ वर्षदेखि हामी दलित तथा पिछडिएका समुदायसम्बन्धी अध्ययन अनुसन्धान कार्यमा लागिपरेका छौं । यसैले ती समुदायको समाजमा समान अधिकारको सुनिश्चितता एवम् राज्यका हरेक तहमा समानुपातिक सहभागिता कायम गर्दै विभेदरहित समाजको निर्माणको निम्ति आवश्यक नीतिनियम निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नु हाम्रो मूल उद्देश्य हो । यसका लागि थप रिसर्च कार्य गर्नुका साथै तिनको समग्र विकासका लागि समेत पहल गर्ने हाम्रो सोच छ । समग्रमा भन्नुपर्दा भेदभावरहित समुन्नत राष्ट्र निर्माणमा टेवा पु¥याउनु नै हाम्रो मूल उद्देश्य हो ।
No comments:
Post a Comment