दिपायलका प्रतापसिंह बिकले दूधका परिकार बनाएर धेरैको मन जिते

मोहन शाही 
२०७२ बैसाख १० डोटी, विभेद बिरुद्ध अभियान  
हिन्दु धर्मावलम्बीले दूधलाई पवित्र बस्तु मान्छन्। सोही कारण महिनावारी भएका महिला र दलित समुदायलाई छुन नदिने रूढिवादी संस्कार छ। तिनले छुँदा अपवित्र हुने बुझाइ छ। तर, दिपायलका प्रतापसिंह बिकले त्यही दूधका परिकार बनाएर धेरैको मन जितेका छन्।
दलित समुदायका प्रतापले दिपायलमा सन्ध्या ग्रामीण नमुना डेरी उद्योग खोलेका छन्। उनको डेरीमा बनेका आइसक्रिम, बरफ, केकलगायत परिकारले लोकपि्रयता कमाएका छन्। उनको डेरीमा लाग्ने भीडमा गैरदलितकै संख्या बढी हुन्छ। ‘डेरी सुरु गर्दा दलित भनेर मलाई कसैले दूध दिएका थिएनन्, आफ्नै समुदायका  २ परिवारले पालेका भैंसीको दूध ढोगसलाम गरेर जम्मा गरें,’ उनी भन्छन्, ‘त्यसबाट बनेका परिकार स्थानीय सुजुङ स्कुलअगाडि गैरदलितका छोराछोरीलाई बेचें, एक महिनामा १ लाख २० हजार कमाएँ।’
त्यसयता उनले पछाडि फर्किनुपरेको छैन। उनको कर्म देखेर गैरदलितले पनि दुध दिन थाले। अहिले १९ जनालाई रोजगारी दिएका छन्। भारतको गुजरातमा ६ वर्षसम्म बिनाज्याला आइसक्रिम बनाउने सीप सिकेर फर्केका थिए। स्वदेशमै केही गरेर देखाउने उनको सपना अहिले साकार भएको छ।
दूधको कारोबार भएकाले घरमा आमाबाबुले समेत उनलाई सहयोग गरेका थिएनन्। ‘आज मलाई जिल्लामा नचिन्ने को छ,’ उनले खुसी व्यक्त गरे, ‘मान्छेले कर्म गरेपछि हेप्न छाड्दा रहेछन्, स्वावलम्बी मान्छेलाई समाजमा दुव्र्यवहार पनि घट्दो रहेछ।’ चवराचौतारा गाविसका लालबहादुर बिक कुनै बेला यो समाजमा  किन जन्मिएको होला भनेर रातदिन सोच्थे। आमाबाबु, बाजेबज्यैलाई समाजले हेपेको देख्दा उनी आफैंलाई धिक्कार्थे। अहिले ठीक उल्टो छ, उनी जीवनलाई सुन्दर संसारको खेल बताउँछन्। सोर्स नेपाल नामक गैरसरकारी संस्थामा ५६ कर्मचारीका ‘टिम लिडर’को भूमिकामा छन्। संस्थाको व्यवस्थापन उनकै जिम्मेवारीमा  हो। ‘लेखपढ र जान्ने सुन्ने नहुँदा म र मेरो परिवारलाई हेप्नेहरूले हिजोआज ममाथि आशा र भरोसा गर्छन्,’ उनले भने, ‘सम्मान, माया र सहयोगको त कुरै छोडौं।’ सरसफाइ, फराकिलो चेतनास्तर र राम्रो कर्म गर्नेलाई कसैले हेप्न नसक्ने उनी बताउँछन्।
दूधजस्तै महिनावारी भएका महिला र दलित समुदायका लागि निषेध गरिने क्षेत्र हो भान्सा। तर, दिपायल सिलगढीका सागर सेवाका लागि यो लागु हुँदैन। पेसाले प्राविधिक उनी गाउँ-गाउँमा गैरसरकारी संस्थामार्फत सुधारिएको चुलो बनाउँदै हिंड्छन्। यस अभियानमा गाउँ डुल्दा उनले तितामीठा थुप्रै अनुभव बटुलेका  छन्। दलित समुदायमा जन्मे पनि प्राविधिक काम भएकाले समाजले स्विकार्न बाध्य हुनुपरेको सागरले बताए।साभार : कान्तिपुर दैनिक 

No comments:

Post a Comment