मनवीरकी श्रीमती अाँगनमा ढल्दा उठाउने मान्छे भएनन्

बी.बी. गिरी६ वैशाख,
जाजरकोट,विभेद बिरुद्ध अभियान  अर्छानी गाविस ९ तम्तीका मनवीर नेपालीले आफ्ना घरका सदस्यहरुलाई चाहेर पनि उपचारका लागि अस्पतालसम्म लैजान पाएका छैनन् ।
मनबीरकी श्रीमती सुनिता, छोराहरु दीपक र सुमन, माइत आएकी छोरी जैरुपा र नातिनी ४ दिनदेखिको ज्वरोले थलिएका छन् । उनीहरुमा टाउको दुख्ने र हात खुट्टा दुख्ने समस्या पनि छ । तर, कसैको पनि उपचार हुन सकेको छैन ।
घरका सबै सदस्य विरामी भएपछि अाफैंले बोकेर टाढाको स्वास्थ्य चौकीसम्म पुर्‍याउने आँट मनवीरमा छैन । गाउँका अरु निरोगीहरु रोग सर्ने डरले बिरामीकाे छेउमै पर्दैनन् ।
सोही ठाउँका रिमबहादुर शाहीकाे परिवारमा पनि यस्तै समस्या छ । श्रीमती देवी, छोरा विनोद पनि विरामी छन् । टेकबहादुर छोरी लक्षिमा र ललिता पनि बिरामी भएर थला परेका छन् ।
‘गाउँका अरुले बोक्न मान्दैनन्, उपचार गर्न कसले बाेकेर लैजाने ?’ स्थानीय रणबहादुर शाहीले भने, ‘घरका सबै बिरामी हुँदा पानी दिने मान्छे समेत छैनन् ।’
रोगी देखेर निरोगी भाग्छन्
नेपाली सेनाका डा. प्रणय कार्कीको टोलीले तम्तीबाट १ घण्टा लाग्ने अर्छानीकै ताँगाचौरमा आइतबार बिरामीको उपचार गरिरहेको छ । त्यस्तै चौरजहारी अस्पताल रुकुमबाट गएको टोलीले तम्तीबाट २ घण्टा लाग्ने अर्छानी स्वास्थ्य चौकीमा शनिबार २ सय बढि बिरामीको उपचार गरेको थियो ।
तर, नेपाली र शाही परिवारका सदस्यलाई कसैले पनि त्यहाँसम्म लैजान सहयोग गरेका छैनन् । पैदल हिँडेर उपचार गराउन जान विरामीहरु सक्दैनन् । छिमेकीहरु नजिक नै पदैनन् ।
जाजरकोटका अधिकांश गाउँमा यस्तै दयनीय अवस्था छ । तम्ती गाउँमा १ सय ५० बढी बिरामी परेका छन् । प्रभावकारी उपचार सेवा नपाएर दिनहुँ अकालमा ज्यान गुमाउन बाध्य छन् जाजरकोटवासी ।
स्वाइन फ्लु संक्रमणको महामारीबाट हालसम्म जाजरकोटमा २४ जनाको मृत्यु भैसकेको छ । घर घरमा स्वास्थ्यकर्मी पुगेर उपचार नगरेसम्म जाजरकोटवासीले उपचार पाउने स्थिति देखिँदैन ।
‘छिमेकी बिरामी पर्दा पनि स्वास्थ्य संस्थासम्म ल्याउँदैनन् अनि कसरी प्रकोप नियन्त्रणमा आउँछ ?’ टालेगाउँ स्वास्थ्य चौकीका इन्चार्ज पेम्बा दोर्जे शेर्पाले भने, ‘रोग सर्ने डर असहयोगका कारण पनि रोग नियन्त्रणमा आउन सकिरहेको छैन ।’
- साभार# अनलाइन खबर

No comments:

Post a Comment