१४ वर्षीया बालिका भगाई विवाह गर्न ४५ वर्षीय कमल दर्जी गिरफ्तार

सङ्खुवासभा । ०७१ चैत २९ गते
१४ वर्षीया एक बालिकालाई चैत ३ गते भगाई विवाह गर्न खोज्ने भोजपुर कुदाककाउले५ का ४५ वर्षीय कमल दर्जीलाई चैत २८ गते दिङला प्रहरीले नियन्त्रणमा लिएको छ । परिवारले छोरीको खोजी गरिदिन भन्दै चैत ४ गते कुदाककाउले प्रहरी चौकीमा हुलिया सहितको उजुरी दिएपछि प्रहरीले सङ्खुवासभाको चिचिला प्रहरीले पक्राउ गरी दिङला जिम्मा लगाएका हुन् ।
सावित्री उच्च माविमा कक्षा८ मा अध्यनरत उनलाई ललाई फकाई भगाएको भन्दै बुवाले छोरीको भविष्य माथि दर्जीले खेलवाड गरेको बताए । दोषी उपर कडा कारवाही गर्न उनको माग गरे । कुदाककाउले प्रहरी चौकीका इन्चार्ज असइ ज्ञानबहादुर श्रेष्ठले भने उजुरीका आधारमा कारवाही अघि बढाएको बताए ।चैत ३ गतेदेखि सम्पर्कविहीन बनेका दुवैजना २४ दिनपछि चैत २७ गते मात्र पक्राउ परेका थिए । बालअधिकृत सुमन अधिकारीले भने बालबालिकाको मनस्थिति परिपक्व नहुने र ललाई फकाइ गर्दा मान्ने भएकाले बालविवाह गर्न कोसिस गर्नु अपराध भएको बताउँदै आरोपितमाथि कानुनी कारवाही गरेर निरुत्साहित गर्नु पर्ने बताए ।

खुर्पा प्रहार गरी पतिद्वारा पत्नीको हत्या

नवलपरासी । ०७१ चैत २७ गते 
अर्खला गाविस-९ की २१ वर्षीया रीता विकलाई चैत २६ गते पति २१ वर्षीय हुमबहादुर विकले खुर्पा प्रहार गरी हत्या गरेका छन् ।घटनापछि आरोपित पति फरार रहेको र घटना दुर्गम पहाडी गाविसमा भएकोले लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउनर् इलाका प्रहरी कार्यालय  नवलपुर कावासतीबाट इन्सपेक्टर हरिबहादुर बरुवालको नेतृत्वमा चैत २७ गते टोली घटनास्थलतर्फप्रस्थान गरेको डीएसपी सोमबहादुर थापाले जानकारी दिए ।स्थानीयवासीले प्रहरीलाई दिएको सूचनाका आधारमा अनुसन्धानका लागि टोली पठाइएको उनले बताए ।

तीन छात्राको शव एकै दुपट्टामा

भीमदत्तनगर, ३० चैत । महाकाली नदीमा हामफालेकामध्ये तीन छात्राको शव दार्चुलाको दत्तु गाविस क्षेत्रमा भेटिएको छ । तिनको खोजीमा जुटेका सशस्त्र प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले दत्तु–४ मा महाकाली पारी भारततर्फ बालिका एवं किशोरीको शव भेटिएको जानकारी दिनुभयो । “तीन जनाले एकअर्काको हातमा एउटै दुपट्टाले बाँधेर हामफालेका रहेछन्”, ठगुन्नाले भन्नुभयो । भारततर्फ भेटिएकी छात्राको शव नेपालतर्फ ल्याउन टोली खटिएको छ । चार जनाले सामूहिक रुपमा दुपट्टाले हात बाँधेर हाम फालेको र महाकालीमा बग्ने क्रममा एक जना छुट्टिएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतावस्थामा भेटिएकी केटीको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । हराएकी अर्की केटीको खोजी भइरहेको छ । 

आज बिहान आफू अध्ययनरत राष्ट्रिय उमावि दत्तुमा वार्षिक परीक्षाको नतिजा लिएर घर फर्किने क्रममा दत्तु गाविस–२ की कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा–७ मै अध्ययनरत १४ वर्षीया पूजा कोली, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लोहार र कक्षा ६ मा अध्ययनरत नाम नखुलेकी १३ वर्षीया किशोरी महाकालीमा हामफालेका थिए । महाकालीमा हाम फाल्नेमध्ये एक उत्तीर्ण र बाँकी तीन अनुत्तीर्ण भएका थिए । रासस

No comments:

Post a Comment