लक्ष्मी चमारको २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने लिखित प्रतिबद्धता

१२ वर्षमै विवाह छिनिएकी बाँकेकी लक्ष्मी चमार आमाबुबाका साथमा । तस्बिरः कान्तिपुर
बाँके,वैशाख ७,विभेद बिरुद्ध अभियान । - १२ वर्षकै उमेरमा विवाह छिनिएकी होलिया ९ कन्हैपुरवाकी लक्ष्मी चमारका बाबुआमाले छोरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने लिखित प्रतिबद्धता जनाएका छन् । उमेर नपुग्दै किशोरीको बिहे छिनिएको घटनाबारे समाचार प्रकाशित भएपछि आइतबार घरैमा आइपुगेका सरकारी अधिकारीसमक्ष लक्ष्मीका बाबुआमाले २० वर्ष उमेर पुगेपछि मात्र बिहे गरिदिने प्रतिबद्धता जनाएका थिए ।
आइतबार राजनीतिक दलका स्थानीय नेता, गाविस सचिव, प्रहरी चौकी प्रमुख, सरकारी अधिकारी र स्थानीयबीच बालविवाहबारे छलफल भएको थियो । सरकारी अधिकारीहरूले सानै उमेरमा विवाह गर्न कानुनले रोक लगाएको बारे स्थानीयलाई जानकारी गराएपछि उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमति भएको हो । लक्ष्मीको बिहे स्थानीय सुरेन्द्र चमारसँग गराइदिने गरी शुक्रबार छिनिएको थियो ।
कान्तिपुरमा समाचार प्रकाशित भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले त्यसबारे तत्काल बुझेर जवाफ पठाउन बाँके जिल्ला विकास समितिलाई निर्देशन दिएका थिए । त्यसलगत्तै सरकारी टोली होलिया पुगेका हुन् ।
'विवाह छिनिसकेकै किशोरसँग २० वर्ष पुगेपछि लक्ष्मीको विवाह गर्ने सहमति अभिभावकले गरेका छन् । त्यसका लागि प्रहरी, नागरिक वडा मञ्च र गाविसको रोहवरमा लिखित कागज गरेका छन्,' बालविवाहको अवस्थाबारे बुझ्न गएका जिविसका स्थानीय शासनविज्ञ मीनबहादुर मल्लले भने । उनले कानुनले बिहेवारी गर्ने उमेर तोकेको जानकारी गराएपछि केटा र केटी पक्षका आमाबुबाले उमेर पुगेपछिमात्रै विवाह गर्ने कागज गर्नुपरेको र यसबाट समुदायमा सकारात्मक सन्देश पनि गएको उनले बताए ।
सरकारी अधिकारीसँगको छलफल हेर्न आसपासका स्थानीय पनि जम्मा भएका थिए । कम उमेरमा विवाह गर्ने आमाबुबा र जन्ती जानेलाई कारबाही हुने जानकारी सरकारी टोलीले दिएपछि स्थानीयहरू डराएका थिए ।
'हाम्रो समुदायमा सानैमा विवाह गर्ने चलन छ । कानुनमा के छ, जानकारी थिएन,' लक्ष्मीका बुबा रमेश चमारले भने, 'हामीबाट गल्ती भएको रहेछ । अब २० वर्ष पुगेपछि मात्रै छोरीको बिहे गर्छौं ।' नागरिक वडा मञ्चका अध्यक्ष बट्टे तेली, गाविस सचिव बलदेव तिवारीले उमेर पुगेर विवाह नगर्न स्थानीयलाई सुझाव दिए ।
source:-  कान्तिपुर

No comments:

Post a Comment