एसिड प्रहारमा परेकी संगीतालाई पत्र

चैत १९
बहिनी संगीता,
तिम्रो स्वास्थ्य लाभको कामना,
काठमाडौंमा दुई युवतीमाथि एसिड छ्याप्ने जीवन वि.क पक्राउ यो शीर्षकले तिमीलाई त्यो दिन धेरै नै आनन्द महसुस गरायो होला हगि ? तिमीमाथि एसिड आक्रमण भएको २५ दिनपछि जब आक्रमणकारी पक्राउ परे, तब शहरमा एक प्रकारको खुशीयाली नै छायो । सबै मानिसहरू उनलाई गाली गर्न तिर लागे, सबै तिम्रो पक्षमा बोले, कतिले त आक्रमणकारीलाई फाँसी दिनुपर्छ पनि भने । हुन त तिमी माथि भएको आक्रमण निकै जघन्य हो तर यसको कारण तिमी आफैं पनि हौ । यो कुरा तिमी आफैंले पनि मान्नुपर्छ किनभने आक्रमणको बिजारोपण अरू कसैले नभइ तिमी आफैंले गरेकी हौ ।
संगीता, तिमीलाई ट्युसन पढाउने गरेको जीवनले कर्के नजरले हेर्ने गरेकाले ऊसंगको बोलचाल नै बन्द गरेको भन्ने दाबी सञ्चारमाध्यममा छ्याप– छ्याप्ती आयो । तर जब जीवन पक्राउ परे तब तिमीले भनेका यी कुरा झुठो भएको भनि प्रमाणित भयो । तिम्रो र जीवनको प्रेम सम्बन्ध रहेको भनि सार्वजनिक भएको खबर व्यापक भएपनि तिमी र तिम्रो परिवारले झुठो भएको भनि दाबी गर्‍यो । एक टिप्पणीकारले जीवनका बुवा– आमासंग अन्तर्वार्ता लिनुभयो तब जीवनका बुवा– आमाले आफ्नो दर्दनाक कहानी कहनु भयो । गाउँबाट छुवाछुतको दाग मेटाउनलाई काठमाडौं बसाईं सरेका मानिसहरूलाई तिमीले निकै आघात दियौ जुन आघातको नतिजा तिमी माथि भएको एसिड आक्रमण हो । तिमीले उहाँहरूलाई थरको विषयलाई लिएर नै बेइज्जत र आक्रमण गर्‍यौ । तिमीले त अहिले एस. एल. सी पनि दिइसकेकी छौ यति हुंदा हुदै पनि तिमीले जातपातको नाममा जीवनको बुवालाई कुट्ने र परिवारलाई पनि आक्रमण गर्ने गर्‍यौ । खासमा भन्नुपर्दा सजायँ सबैभन्दा पहिले जीवनलाई भन्दा पनि तिमीलाई दिनुपर्ने हो ।
छुवाछुत र जातको आधारमा हुने गरेको भेदभावलाई त नेपालको कानुनले पनि गैरकानुनी भनेको छ । तर बिडम्बना तिमीमाथिको आक्रमणलाई ठूलो विषय बनाएर धेरैले तिमीमाथि माया देखाए, तिम्रो साथ दिए । नेपालको कानुनले बन्देज लगाएको कुरालाई फलो गर्दै हिंड्ने तिमीलाई यत्रो आड, भरोसा र न्याय मलाई अलिक अपच्य लागेन । तिमीले न्याय पाउँछ्यौ भने जीवनमाथि तिमीले गरेको आक्रमणको न्याय पाउनुपर्छ या पर्दैन । यदी तिमी जीवनको ठाउँमा भएको भए तिमीले यसैगरि सोच्न सक्छौ ? तिमी आफूले त ‘न्याय पाएँ’ भन्छ्यौ होला तर तिमीले पाएको न्याय त खाली मत्स्य न्याय हो । अहिले तिमी जीवनभन्दा माथि छ्यौ किनभने तिमीले सबैको आड, भर र ममता पाइरहेकी छ्यौ यसले नै तिमीलाई सत्यबाट अलग बनाइदिएको छ । तिमी अहिले सत्य र झुठ, न्याय र अन्याय केही छुट्याउन सकिरहेकी छैनौं । मैले जीवनको पक्षमा बोलेको होइन न त म तिम्रो पक्षमा नै छु म त कानुनको पक्षमा बोलिरहेको छु तर यसको अर्थ म कुनै कानुनविद् पनि होइन । मैले त खाली मलाई लागेको कुरा तिमीलाई भनेको हुं ।
तिमीलाई सत्यताको आभाष गराउनलाई यो कुरा लेखेको हुं । तिमीलाई मत्स्य न्यायको जालबाट बाहिर निकाल्न मात्रै खोजेको हुं । अब अरू सबै तिम्रो विचार तर एउटा कुरा ख्याल गर बहिनी, तिमीले अहिले बोलेको झुठले जीवनको मात्रै होइन धेरै मान्छेलाई आघात पुर्‍याएको छ । आज शक्ति र समर्थन तिमीसंग छ भने त्यो भोली जीवनतिर पनि पुग्न सक्छ त्यसैले झुठ र भ्रमको दलदलबाट निस्किएर यथार्थमा बाँच्न सिक । तिम्रो एस.एल.सी परिक्षाको नतिजा राम्रो आओस् भन्ने शुभकामना र मैले भनेका कुराको बारेमा केही टिप्पणी गर्न तिमीलाई आग्रह गर्दछु ।
तिमीले नचिन्ने तर तिमीलाई चिन्ने,
विशेष हाम्रो केही प्रत्यक्ष सम्बन्ध छैन तर नेपाली हुनुको सम्बन्धले बहिनी भन्ने दाजु,
बिनोद प्रसाद अधिकारी

–साभार्# खवर डवलि

No comments:

Post a Comment