धेरैजसो दलितहरु भन्ने गर्छन्, दलितका लागि त गाउँ भनेको नर्कै हो । के त्यसो भए सहरचाहिँ स्वर्ग हो त ? सबै दलितले भोगेको सत्य होः गाउँमा विभेद छ, गरिबी छ, बालीघरे प्रथाबाट बाँच्न समेत मुस्किल छ । अनि सहरमा नि ? नर्कबाट मुक्त हुन सहरमा भागेर आएका दलितहरुले कस्तो अनुभव गर्दैछन् त ? त्यसमा पनि फुटपाथमा लुगा सिउने दलितहरुको हालत कस्तो छ त ? अझ दलित समुदायका महिला सूचिकारहरुको कथाव्यथा कस्तो छ नि ?
यस्तै प्रश्न लिएर केही समयअघि काठमाडौंका फुटपाथ घुमेकी थिएँ, एक अनुसन्धानको क्रममा । दलित समुदायका महिला सूचिकारहरुलाई भेटेर उनीहरुका अनुभव समेट्ने योजना थियो मेरो मनमस्तिष्कमा । यसै क्रममा काठमाडौंको नयाँ बसपार्कको फुटपाथमा भेट भयो, २० वर्षकी कल्पना परियारसँग । कल्पना परियार ३ वर्षदेखि नयाँ बसपार्कको फुटपाथमा बसेर कपडा सिउँदै आइरहेकी छिन् ।
खासमा कल्पना धनगढी–१२ की बासिन्दा हुन् । कामको खोजीको क्रममै उनी राजधानी आएकी थिइन् । उनले १२ कक्षासम्म अध्ययन गरेकी छिन् । अध्ययनपछि उनले अन्य कुनै काम पाइनन् । उनीसँग लगानी गर्ने पुँजी पनि भएन, भनसुन गर्ने स्रोत पनि थिएन । त्यसपछि फुटपाथमा बसेर सिलाइको काम गर्न थालेको बताउँछिन् उनी । सहरको फुटपाथमा आफ्नो परम्परागत पेसामा लाग्दा उनले अनेक समस्या भोगेकी छिन् ।
फुटपाथमा बसेर काम गर्दाका आफ्नै दुःख छन् । फुटपाथमा काम गर्दा आफूले जातीय र लैङ्गिक विभेदको सिकार हुनुपरेको उनको भनाइ छ । फुटपाथे भनेर हेप्ने प्रवृत्ति त धेरैजसो छँदैछ, त्यसमा पनि महिला भएकै कारण थप समस्या ब्यहोर्नु पर्ने रहेछ ।
‘हेर यो उमेरमा किन दुःख गरेको ? यो तिम्रो दुःख गर्ने उमेर हैन नि ?’ भन्दै पुरुषहरुले गिद्देदृष्टि लाउने गरेको उनको तीतो अनुभव छ ।
यसरी फुटपाथमा बसेर काम गर्दा दिनको २–४ सय रुपियाँसम्म कमाइ हुने उनले बताइन् । तर कहिलेकाहीँ त १ रुपियाँ पनि हुँदैन, यो उनको जीवन्त अनुभव हो ।
जीवनको तीतो अनुभवले उनलाई ठूलो ज्ञान दिएको छ । उनले पश्चिम नेपालमा बस्दाको अनुभव बटुलेकी छिन् नै, अचेल राजधानी सहरको अनुभव पनि भोग्दैछिन् ।
पश्चिम नेपालमा अहिले पनि जातीय विभेद व्यापक रुपमा रहेको उनी बताउँछिन । त्यहाँबाट सहर आउँदा विभेदको स्वरुप फेरिएको उनको अनुभवले बताउँछ । काठमाडौंमा पनि घरभेटीबाट विभेद खेप्नु परेको उनको भनाइ छ ।
दलितहरु पछाडि पर्नुको कारण मुख्यतः जातीय विभेद र छुवाछूत नै हो भन्ने उनको बुझाइ छ । उनी भन्छिन्, ‘दलितहरु पछाडि पर्नुमा केही त आफ्नै कमजोरीले पनि काम गरेको छ । हामीमा जाँडरक्सी खाने बानी धेरै रहेको छ र बचत गर्ने बानी कम मात्रै रहेको छ । त्यसैले पनि दलितहरु पछाडि परेका छन् ।’
उनको अनुभव सुनेपछि मनमा प्रश्न उठ्यो, जाँडरक्सी त बाहुन क्षेत्रीले पनि धेरै खान्छन्, उनीहरुमध्ये पनि पैसावालहरु त अझ बेसी खान्छन् । उनीहरु किन गरिब भएनन् ? उनीहरुलाई किन विभेद गरिएन होला ? कामकै कुरा गर्ने हो भने दलितहरुले सबैभन्दा बेसी श्रम गर्छन् । के उनीहरु बचत नगरिएकै कारण पछाडि परेका हुन् र ?
यस्तै कुरा मनमा खेलाउँदै अध्ययन गर्न जाँदा काभ्रेकी मिना परियारसँग भेट भयो । वीर हस्पिटलको अगाडिपट्टि पेटीमा बसेर कपडा सिउँदै आएकी छन् मीना परियार । काभ्रेकी ३५ वर्षीया परियारको समस्या पनि फरक छैन । उनले सूचिकारको काम गर्न थालेको पनि १५ वर्ष भयो ।
उनी पनि गाउँमा आफ्नो गरिखाने केही नभएर काठमाडौं आएकी थिइन् । छोराछोरी पढाउने र दुई छाक खान पाउने आसमा उनी काठमाडौं छिरेकी थिइन् । तर उनलाई न दुई छाक खान सजिलो भयो, नत छोराछोरी पढाउन नै ।
छोराछोरीलाई काठमाडौंको स्कुलमा पढाउन नसक्ने भएपछि उनले नयाँ गरेकी थिइन्, गाउँकै आफन्तको घरमा राखेर गाउँकै स्कुलमा पढाउने । भनेको बेला कापी कलम र अन्य सामग्री किनिदिन नसक्दा छोराछोरीको पढाइ बिग्रिने गरेको उनी बताउँछिन् ।
‘विद्यालय जाने क्रममा बच्चाहरुले कुनै खालको विभेद खेप्नुपर्छ कि पर्दैन त ?’ यसरी सोध्दा विभेद खेप्नु परेको उनी बताउँछिन् । दमाईं भनेर साथीहरुले होच्याउने गरेको उनले गुनासो गरिन् । यस्तो हेपाइले पनि आफ्ना बच्चाहरुको पढाइ र भविष्य कता पुग्ने होला भन्ने चिन्ता छ उनलाई ।
यस विषयमा थप अध्ययन गर्न खोज्दा शान्ता परियारलाई भेटें । उनले लगभग चार दसकदेखि काठमाडौंमा सिउने पेसा गर्दै आएकी छिन् । तर छ दसक लामो उनको जीवनमा धेरै परिवर्तन भएको छैन । जातीय विभेद र गरिबीको भूतले उनलाई अझै पछ्याउन छाडेका छैनन् ।
हो, शान्ता परियार ६० वर्ष पुगिसकेकी छिन्, र पनि आफ्नो पेसामा लागिरहेकी नै छिन् । ३८ वर्षदेखि काठमाडौंका फुटपाथहरुमा बसेर कपडा सिउँदै आइरहेकी छिन् उनी । उनी पनि नर्कजस्तो गाउँमा भोग्दै आएका विभेद र गरिबीबाट मुक्तिका लागि सहर आएकी हुन् । राजधानीमा पनि उनले त्यसबाट खासै मुक्ति नपाएको अनुभव सुनाइन् ।
अन्य दलितको जस्तै उनको परिवारसँग पनि गाउँमा जग्गाजमिन थिएन । काठमाडौंमा आएर काम गरियो भने केही पैसा कमाउन सकिने आशासहित उनी पनि श्रीमानसँगै राजधानी आएकी थिइन् ।
सिन्दुर र टीका देखेपछि मैले सोधें, ‘अहिले श्रीमान के गर्नुहुन्छ नि ?’ उनले सिन्दुर र टीकाको रहस्य उद्घाटन गर्दै भनिन्, ‘श्रीमान बितेको नै ६ वर्ष भयो नानी । तर फुटपाथमा बस्दा विधवा भन्ने थाहा पाएर मान्छेहरुले हेप्छन् । त्यसैले सिन्दुर र टीका लगाउँदै आएकी छु ।’
३८ वर्षको अन्तरालमा काठमाडौंमा धेरै परिवर्तन भए, तर उनको जीवन र दिनचर्यामा भने खासै परिवर्तन आएन । बिहान उठेर ७ बजे मेसिन लिएर उनी नयाँ बसपार्कको फुटपाथ छेउमा बस्छिन् र बेलुका ६ बजेसम्म अरुका लुगा सिएर बस्छिन् । यसरी नै अरुका लुगा सिउँदै उनको दिनचर्या चलिरहेको छ । चलिरहेको के भनौं, जसोतसो घिस्रिरहेकै छ ।
यसरी घिसारिएको जीवनमा समस्याको अभाव हुने कुरै भएन । कहिले महानगरपालिकाका कर्मचारी आएर दुःख दिन्छन् । कहिले ग्राहकहरुले पनि नराम्रो व्यवहार गर्छन् । काम गरी खान खोज्दा पनि यस्ता सबै दुःख र पीडा झेल्नुपर्छ, उनले । त्यसमा पनि महिला भएकै कारण कु–दृष्टिले हेर्ने गरेको उनको नराम्रो अनुभव छँदैछ ।
यत्रो वर्षको काठमाडौं बसाइपछि पनि उनको सपना पूरा भएको छैन । सुखी जीवन जिउने सपना साकार भएन नै, छोराछोरीलाई समेत उचित शिक्षादीक्षा दिन पाइनन् उनले । अब त उनी मात्रै होइनन्, उनका दुई छोरी पनि उनीसँगै फुटपाथमा लुगा सिउँदै गुजारा चलाउँछन् । पुरानो पेसाबाट मुक्त हुने आकांक्षा अधुरै रहेको छ, उनका छोरीहरुको जीवनमा पनि ।
उनी भन्छिन्, ‘दलितका लागि सरकारले के गर्दैछ ? सरकारले बनाएका ऐन कानुनबारे मलाई केही पनि जानकारी छैन ।’
कुरैकुरामा उनी दलितहरु पछाडि पर्नाको कारणबारे आफ्नो भनाइ राख्छिन्, ‘वर्षौंदेखि गर्दै भोग्दै आएको छु छुवाछूत र विभेद । सायद यही नै होला हामी दलित पछि पर्नुको कारण ।’
हाम्रो राज्य र सरकारलाई थाहा छ कि छैन, कल्पना परियार, मीना परियार र शान्ता परियारसँगै उनीहरुका छोराछोरी यही देशका नागरिक हुन्, तर उनीहरु दलित हुन्, सूचिकारको पेसा गरिखान्छन् । के उनीहरुले नागरिकको अधिकार पाएका छन् ? के उनीहरुले महिलाको हक प्राप्त गरेका छन् ? उनीहरुले दलितको हक–अधिकार उपभोग गर्न पाएका छन् ?
source:-esamata.com/अन्जु परियार समता फाउण्डेशनसँग अाबद्ध अनुसन्धानकर्ता हुन् ।
No comments:
Post a Comment