अन्तरजातीय विवाह गरेकी रेखा परियार नागरिकता बाट बन्चित

चैत्र २५, सप्तरी - रेखा परियार (निरौला) को नागरिकता छैन । दुई कक्षामा पढ्ने छोरीको जन्म दर्ता नभएपछि पढाइ नै रोकिने अवस्था छ । नर्सरीमा भर्ना भए पनि ६ वर्षका छोराको पनि उस्तै समस्या छ ।
दोलखा, घ्याङ-८ की रेखाले १४ वर्षअघि २०६० असोज १२ गते सप्तरी, धरमपुर-८ का एकराज निरौला (बोलाउने नाम गोविन्द) सँग प्रेम विवाह गरेकी थिइन् ।
परिवारले नै रेखाको थर ढाँटेर बुहारी भनी चिनाएका थिए । पौडेल थरकी भन्दै परिवारले नै जर्बजस्ती थर ढाँटेको रेखाको दाबी छ । केही वर्ष सँगै बसे पनि विस्तारै हेला हुन थालेपछि छोराछोरीसहित एकराज र रेखा भारत पसे । दुभाग्र्यवस रेलवेमा काम गर्ने क्रममा दुई वर्षअघि एकराजको मृत्यु भयो । पतिको दाहसंस्कार पछि ससुरा राजन निरौलाले उनीमाथि विभेद गर्न थालेको रेखा बताउँछिन् । 'जर्बजस्ती भए पनि किरीया गरेँ' उनले भनिन् 'अहिले बुहारी नै होइन भन्छन् ।'
पतिको नागरिकतासमेत खोसेर आफ्नै साथ राखेकी उनी समाज नै एकजुट भई आफूलाई अस्वीकार गरेपछि काठमाडौमा आएको बताउँछिन् । ज्यानको सुरक्षा र दुई सन्तानको भविष्य सुनिश्चित गर्न उनी दुई वर्षअघि राजधानी पसेकी हुन् ।
ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आकी २९ वषिर्य रेखाले उज्यालो जीवन संस्थाको पहलमा छोरीलाई गोदावरीस्थित चन्तलमौदी एकेडेमीमा पढाउँदै आएकी थिइन् । जन्मदर्ता नभएपछि १० वर्षकी छोरी करुणा निरौलालाई पढाउन कानुनीरूपमा गाह्रो भएको स्कुलका प्रिन्सिपल जीवन लामाले बताए ।
उनले संस्थाको अनुरोधमा छिट्टै जन्मदर्ता ल्याउन पहल गर्ने भन्दै भर्ना गरेको सुनाए । तर, एक वर्ष पुगिसक्दा पनि जन्मदर्ता नबनेको उनले बताए । 'करुणाको पढाइ अत्यन्त राम्रो छ,' पि्रन्सिपल जीवनले भने, 'जन्मदर्ता नभए उनको आगामी पढाइ कसरी सुनिश्चित हुन सक्छ र ? हामी नै अन्योलमा परेका छौँ ।'
रेखा छोरीको जन्मदर्ता बनाउन दलित आयोगको सिफारिसमा सप्तरी पुगेकी थिइन् । त्यहाँ समाजले नचिनेको र ससुराले गुन्डा लगाएपछि त्रासले फर्किन बाध्य भएको उनी बताउँछिन् । झापामा बस्ने रेखाका कान्छा ससुरा कृष्ण निरौलाले भने उनी बहारी भएको स्वीकार गरेका छन् ।
उनले रेखामाथि दाजुले अन्याय गरेको दाबी गरे । ठूलो दाजुको जेठो छोरा एकराजले बिहे गरेर छोरी जन्मिएपछि झापामा बुहारी चिनाउन रेखालाई साथै ल्याएको उनले सुनाए । 'रेखा हाम्री बुहारी हुन्,' उनले भने, 'छोराले चिनाएको आधारमा भन्न सक्छु, अरू प्रमाण त केही छैन ।' छोराको मृत्युपछि रेखाले पाउनुपर्ने अधिकार दिलाउन उनले ठूलो दाजु -राजन निरौला) सँग निकै झगडा गर्नुपरेको पनि बताए । जसले गर्दा अहिलेसम्म दुई दाजुभाइको परिवारबीच बोलचाल बन्द छ ।
बुहारी अस्वीकार गर्न राजनले समाजलाई समेत हात लिएको उनले सुनाए । समाजमा रेखा बुहारी होइनन् भनेर झूटो बोल्न लगाइएको कृष्णको दाबी छ । 'बुहारीले न्याय पाउनुपर्छ, उनका छोराछोरीले पढ्न पाउनुपर्छ,' कृष्णले भने, 'म सक्दो सहयोग गर्न तयार छु ।' कान्छा ससुराका छोरा बेनु निरौलाले पनि रेखा भाउजूलाई विभेद भएको बताए ।
रेखा आफ्नै ठूलोबुबाकी बुहारी भएको उल्लेख गर्दै उनले छोरीको पढाइमा आफू चिन्तित भएको सुनाए । उनले डीएनए जाँच गरे यथार्थ पत्ता लाग्ने बताए । 'हामीले धेरै पहल गर्यौँ,' उनले भने, 'पूरै समाज नै उल्टिएपछि कसको के लाग्छ र ?'
उनी दाइका छोरा र छोरीले पढ्न पाउनुपर्छ भन्ने धारणा राख्छन् । रेखाको अहिलेको चिन्ता पनि उनकी छोरीको पढाइ नै हो । 'जन्मदर्ता र नागरिकता भए अरू केही चाहिँदैन,' उनले कान्तिपुरसित भनिन्, 'दुःखै गरेर भए पनि छोराछोरी पढाउन पाए पुग्थ्यो ।'

No comments:

Post a Comment