काम नगर्ने अल्छीहरु राजनीति गर्छन्-जुङेदाइ

चैत्र २४ पोखरा
‘कर्कलाको पातको पानीजस्तै हो जिन्दगी त । कैले अस्ताउने हो, थाह छैन । काम गर्न सकुन्जेल जिन्दगी छ, काम गर्न छाडेपछि छैन,’ ५६औँ वसन्त पार गरेका जुंगेदाइले जिन्दगीको परिभाषा दिए । यो उनको भोगाइ र अनुभवको जिन्दगी हो । जुंगेदाइ पोखराको महेन्द्रपुलमा जुत्ता सिलाउँछन् । हर दिन घाम उदाउँछ । तर, घाम उदाएर मात्रै जुंगेदाइलाई पुग्दैन । घामसँगै च्यातिएका जुत्ता आए मात्रै जिन्दगी उज्यालो हुन्छ, जुंगेदाइको । एक छोरी, एक छोरा, श्रीमती र आफू गरी चारजनाको हातमुख जुत्ता सिलाएरै जोड्नु छ, जुंगेदाइलाई । जुंगेदाइ अर्थात् मीनबहादुर रोकाया पोखरा सिद्धार्थ चोकमा बस्छन् । काठमाडौंपारि काभ्रेका जुंगेदाइ पोखरा आएर जुत्ता सिलाउन थालेको २६ वर्ष भयो । महेन्द्रपुलस्थित घरका अधिकांश सटर औषधि पसलले भरिएका छन् । नेपाल टेलिकम ग्राहक सेवा केन्द्रको दुईतले भवन पनि त्यहीँ छ । त्यही टेलिकमको पर्खालको आडमा दिनहुँ जुत्ता सिउनेहरू जुत्ताको पर्खाइमा हुन्छन् । सधैँजसो बिहानमा लामो जुँगा मोटो जिउडाल र छिप्पिएका उमेरका उनले खुला आकाशमुनि दिनभरि काम गर्ने बन्दोबस्त मिलाउँछन्, छाता खोलेर । घाम त छाताले छेकिहाल्छ । तर, पानी पर्दा भने सामान नै पोको पारेर हिँड्नुपर्ने बाध्यता छ, उनको । 
पोखरामा छिनमै पानी पर्ने र छिनमै घाम लाग्नु नौलो होइन । धेरैले भन्छन्, पोखराको पानी साह्रै बैमानी । जुंगेदाइका लागि पनि पोखराको पानी साह्रै बैमानी छ । बेलाबेला आफ्नो जुंगा तान्न आएर सताउने प्यारा बालबालिका जस्तै चञ्चल लाग्छ, जुंगेदाइलाई पोखराको मौसम । यो मौसमप्रति उनको त्यस्तो गुनासो पनि छैन । ‘यो पानी त साह्रै बेइमानी भन्या । कति बेला पर्ने हो पत्तै हुँदैन,’ रमाइलो पारामा उनले भने, ‘बिहान घाम लाग्यो भनेर सामान लिएर आयो । दिउँसो दरर पानी पर्छ । अनि, सबै सामान पोको पार्नुपर्छ ।’ तर, पानी परेका दिन कमाइ नहुने दुःख त छँदै छ । 
श्रमको मूल्य बढेसँगै दलित समुदायले गर्ने अन्य पेसा भने खोसिएका छन् । अचेल लुगा सिलाउने, बाजा बजाउने, गहना बनाउने काम अन्य जातिले पनि गर्न थाले । तर, जुत्ता सिलाउने काम भने अरुले नगरेको उनको अनुभव छ । उनी आफ्नो काममा गर्व गर्छन् । पेसाअनुसारको जात पनि उनी मान्दैनन् । भन्छन्, ‘काम गर्ने सबै कामी ।’ उनले देशको अवस्थालाई पनि आफ्नै नजरले हेरेका छन् । भन्छन्, ‘काम नगर्नेहरु अल्छीहरु राजनीति गर्छन् । अनि, भ्रष्टाचार गर्छन् । भ्रष्टाचार गरेको पैसाले छोराछोरी विदेशमा पढाउँछन् । काम गर्न जाँगर गर्नेहरू त आफ्नो व्यवसाय गर्छन् र कमाउँछन् नि ।source# ratopati

No comments:

Post a Comment